चारआली, पुष १५ । मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले वैज्ञानिक शिक्षाको कुरालाई नेपाली राजनितिक दलहरुले चुनावी हतियारका रुपमा मात्रै उठाउने गरेको आरोप लगाउनु भयो ।
‘वैज्ञानिक शिक्षाको बिषय दलका लागि चुनावी मुद्दा मात्रै भयो,’ अध्यक्ष खनालले भन्नुभयो, ‘नेपाली राजनितिक दलहरु आफैंले उठाएको मुद्दा बिर्सिन्छन ।’
मानवअधिकार तथा शान्ति समाज झापाको वार्षिक साधारण सभामा प्रमुख बक्ताको रुपमा सम्बोधन गर्दै अध्यक्ष खनालले नेपाली समाज गुणस्तरिय स्वास्थ्य प्राप्तीमा अझै निक्कै पछाडी रहेको समेत बताउनु भयो ।
गुणस्तरिय स्वास्थ्य सेवा केन्द्रित रहेर बोल्दै जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले नेपालीले पाउने स्वास्थ्य सेवालाई हेर्दा नेपालमा लोकतन्त्र नभएको महशुस हुने बताउनु भयो । ‘संविधानले प्राथमिक स्वास्थ्य सेवा निशुल्क उपलब्ध हुने भन्ने ग्यारेन्टी गरेको छ,’ वहाँले भन्नुभयो, ‘हामीले सामान्य स्वास्थ्य सेवा पाउन पनि पैसा नतिरि सभ्भव नै छैन ।’ संविधानले तोकेको प्रावधान समेत पनि कार्यान्वयन नभए पछि नेपाल र नेपालीका लागि लोकतन्त्र छ भनेर भन्न नमिल्ने घिमिरेले बताउनु भयो ।
त्यस्तै बैज्ञानिक शिक्षाका बिषयमा बोल्दै कविशिरोमणी मावि मेचीनगरका सहायक प्रधानअध्यापक दामोदर ढुंगेलले शिक्षामा भनिने र गरिने कुरा फरक भएको बताउनु भयो । शिक्षा क्षेत्रमा संविधान नै लागु नभएको ढुंगेलले दाबी गर्नु भयो । वहाँले भन्नुभयो, ‘कि बिद्यालयमा पैसा लिनु भएन कि संविधानमा बिद्यालयस्तरको शिक्षा निशुल्क लेख्नु भएन ।’
कार्यक्रममा मानवअिधिकार तथा शान्ति समाजका संस्थापक लिला खनाल, पुर्व केन्द्रिय सदस्य पुष्पराज पौडेल, झापाको साधारण सभाका लागि केन्द्रिय प्रतिनिधि तथा केन्द्रिय सदस्य लक्ष्मीनारायण मिश्र लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
चारआलीको त्रिदेव बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न साधारण सभाको बन्द सत्रले केन्द्रिय परिषद बैठकका लागि झापाबाट पुर्व सभापतिद्वय पुष्पराज पौडेल र ज्ञानेन्द्र निरौलालाई प्रतिनिधि तथा पुर्व सभापति टिकेन्द्र खनाल, कोषाध्यक्ष शिला खवास सदस्य शुशिला रिजाल, धनु भट्टराईलाई पर्यवेक्षकका रुपमा पठाउने निर्णय समेत गरेको छ ।
मानव अधिकार तथा शान्ति समाज झापाका सभापति लिलाप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा विद्यार्थी अविसा बरालले कविता वाचन गर्नु भएको थियो । समाजका उपसभापति सुवास रिजालले स्वागत मन्तब्य र सचिव रमेश दाहालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।