झापाको मेचीनगर नगरपालिका नेपालकै नगरपालिकाहरु मध्ये सबैभन्दा बढी जनसंख्या र बार्षिक बजेट भएको नगरपालिका हो । साविकको संरचनामा धुलाबारी गाउँ विकास समिति र काँकरभिट्टा गाउँ विकास समितिलाई जोडर २०५३ सालमा मेचीनगर बनाउने कुरामा स्थानीयस्तरबाट नगरपालिका बनाउने आधार प्रस्तुत गर्दै गर्दा धुलाबारी क्याम्पस पनि एउटा आधारको रुपमा प्रस्तुत गरिएको थियो । त्यसताका धुलाबारीको पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठान टाउन हललाई पनि अर्को एउटा आधारका रुपमा प्रस्तुत गरिएको तत्कालिन दस्ताबेजहरुले स्पष्ट पार्छ ।
त्यस बेला धुलाबारी र काकारभिट्टा क्षेत्रमा एउटै मात्र स्नातक तह अध्ययन गराउने क्याम्पसको रुपमा रहेकाले पनि त्यो आजको मेचीनगरलाई नगरपालिकाको पहिचान दिलाउन धुलाबारी क्याम्पसले पनि महत्वपूर्ण स्थान ओगटेको थियो । तर दुर्भाग्य आज मेचीनगरले थप फराकिलो पहिचान बनाउँदै गर्दा गाउँ विकासलाई नगरपालिकाको पहिचान दिलाउने मध्येको एउटा प्रमुख संरचना धुलाबारी क्याम्पस भने आफैं पहिचान बिहिन बन्दैछ ।
धुलाबारी क्याम्पसलाई चिमोठेर र चुसेर आफ्नो उचाइ बढाएकाहरु नै आज त्यो क्याम्पसको हात खुट्टा काटेर त्यसलाई अपाङ्ख बनाउँदै मृत्युको मुखमा पुर्याउन तल्लीन देखिन्छन । धुलाबारी क्याम्पसमा अहिले पनि त्रिभुवन बिश्वविद्यालयको सम्बन्धन रहेको ब्यवस्थापन, मानविकि र शिक्षा संकायको स्नातक तह कायम नै छ । तर बिगत केही बर्ष देखि धुलाबारी क्याम्पसमा बिद्यार्थी भर्ना भने शुन्य छ । बिद्यार्थी शुन्य हुँदै गर्दा त्यस क्याम्पसको नेतृत्वमा रहेकाहरुले एकै दिन पनि बिद्यार्थी भर्ना नभएको प्रति चिन्तासम्म गरेनन । बिद्यार्थीलाई आर्कषण गर्न क्याम्पस प्रशासनले कुनै कार्य नगरेकोबाट नै स्पष्ट हुन्छ की उनीहरु नै धुलाबारी क्याम्पसको मलामी जान आतुर छन ।
अहिले धुलाबारी क्याम्पसमा बिद्यार्थी छैनन । तर गज्जबको कुरा के छ भने बिद्यार्थी बिहिन क्याम्पसको अध्यक्ष पनि छन, सञ्चालक समिति पनि छ र क्याम्पस प्रमुख सहितको प्रशासन पनि कायम छ । यत्रो संयन्त्र धुलाबारी क्याम्पसका लागि भने केही गर्दैन ।
तर त्यही धुलाबारी क्याम्पसको सञ्चालक समिति र क्याम्पस प्रशासन धुलाबारी क्याम्पसलाई मृत्यु बरण गराएर त्यहाँ मेचीनगरपालिकाले सञ्चालन गर्ने प्राविधिक क्याम्पसको झ्यालबाट छिरेर पुन त्यो प्राविधिक क्याम्पसलाई समेत पनि धराशायी बनाउन आज धुलाबारी क्याम्पसको सम्पत्ती माथी दोहन गरिरहेका छन ।
नगरपालिका आफैंले सञ्चालन गर्ने भनेर प्रष्ट ब्यवस्था भएको मेचीनगर पोलिटेक्नीक इन्स्टिच्यूटका लागि धुलाबारी क्याम्पसको ७ बिगाहा मध्ये ५ बिगाहा जग्गाको स्वामित्व नगरपलिकालाई हस्तान्तरण गर्ने र धुलाबारी क्याम्पसको भवन पनि पोलिटेक्निका लागि निशुल्क प्रयोग गर्न दिने निर्णय गर्ने क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रशासनले कहाँनेर धुलाबारी क्याम्पसलाई पुर्नजीवन दिने योजना बनायो ? यसको जवाफ आम मेचीनगरबासीले माग्न जरुरी छ । खास गरी धुलाबारी क्याम्पस अध्ययन गरेका बिद्यार्थीहरुले क्याम्पसलाई मर्नबाट जोगिन ठोस पहल गर्नु अत्यावश्यक देख्छु ।
आज धुलाबारी क्याम्पसलाई भेन्टिलेटरमा राखेर मृत्यु पर्खिरहेकाहरुलाई त्यो क्याम्पसबाट बाहिर निकालेर क्याम्पसलाई पुर्नजीवन दिन सकिएन भने त्यसको सबैभन्दा ठुलो असर त्याहाँ अध्ययन गरेका पुर्व बिद्यार्थीहरुलाई पर्ने स्पष्ट नै छ । पुर्व बिद्यार्थीहरुले भोली आफ्नो शैक्षिक प्रमाण पत्र हरायो वा नासियो भने नयाँ प्रमाण पत्र बनाउन कहाँ जाने ? यी र यस्ता प्रमाण पत्र र मार्कसिटसंग जोडिएका अनेकन बिषयले एउटा बिद्यार्थीका लागि जीवन पर्यन्त आफुले अध्ययन गरेको शैक्षिक संस्था आवश्यक पर्छ । तर आज धुलाबारी क्याम्पसका पुर्व बिद्यार्थीहरु आफ्नो क्याम्पस भेन्टिलेटरमा पुग्दासम्म गतिलो उपचारको ब्यवस्था गर्ने कुरा त होइन, छेउमा बसेर अक्सिजनको पाइप तानेर क्याम्पसलाई मृतक घोषणा गराउन तल्लीन भएकाहरुको गतिविधिलाई निस्तेज पार्न समेत पनि कुनै अग्रसरता देखाउँदैनन ।
मेचीनगरले सञ्चालन गर्ने इन्जिनियरिङ क्याम्पस मेचीनगर पोलिटेक्नि इन्स्टिच्यूट सञ्चालन गर्न आम मेचीनगरबासी लाग्नु नै पर्छ । यो क्याम्पस ब्यवस्थीत सञ्चालन हुँदा नगरका नयाँ पुस्ताले आफ्नै ठाउँबाट इन्जिनियर हुन पाउने सुनौलो अवसर प्राप्त हुन्छ । तर इन्जिनियरिङ क्याम्पसको सफलताका लागि धुलाबारी क्याम्पसको बली चढाउनु कत्तिको जायज हो ?
अर्को गज्जबको कुरा त के छ भने हिजो धुलाबारी क्याम्पसलाई बिद्यार्थीको आर्कषण गराउन नसकेर भेन्टिलेटरमा पुर्याउनेहरुलाई नै आज नगरपालिकाको इन्जिनियरिङ क्याम्पसको ब्यवस्थापनको बागडोर दिइएको छ । एउटा क्याम्पसको असफल पात्रले अब प्राविधिक क्याम्पसलाई राम्रो सञ्चालन गर्छ भन्ने आधार के हो ? किन असफल ब्यक्तिहरुको हातमा सुम्पिएर सञ्चालन शुरुवात गर्न खोजिदैंछ इन्जिनियरिङ क्याम्पस ?
त्यसैले धुलाबारी क्याम्पसलाई पुर्नजीवन दिन र इन्जिनियरिङ क्याम्पसको बलियो सञ्चालनका लागि मेचीनगरका आम नागरिक र यस क्षेत्रका राजनितिक, सामाजिक र शैक्षिक नेतृत्वले बेलैमा ठोस कदम चाल्न अत्यावश्यक छ ।