विन्दुकान्त घिमिरे ।
भट्टराई सभापति हुँदा भट्टराईकै क्याम्पभित्र रहेर, गिरिजाप्रसाद र सुशील कोइराला सभापति हुँदा कोइराला क्याम्पमै पुगेर, देउवा सभापति हुँदा देउवा क्याम्पमै पुगेर आफूविरुद्ध सिटौलाले भयानक षड्यन्त्र गर्दा पनि शर्मा कत्ति हतास भएको देखिएन । देउवा क्याम्पमा छिरेर सिटौलाले घोक्र्याएपछि शर्मा गुहार माग्न कोइराला क्याम्पमा गए । तर, सिटौलाका सहयोगी डा. मिनेन्द्र रिजालले शर्मालाई कोइरालाको ढोकाभित्र छिर्न दिने संभावना रहेन ।
मलुकमा लोकतन्त्रको भविष्य सुरक्षित रहेको सन्देश दिँदै नेपाली कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न भएको छ । आफू पुनः निर्वाचित हुने नाममा प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाले केही तलमाथि गरेको अवस्थाबाहेक नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्रको अनुपम अभ्यास भयो । विश्वमा अभ्यासमा आएका शासन पद्धितिमध्ये लोकतन्त्रलाई सबैभन्दा समुन्नत पद्धति मानिएको छ । यति हुँदाहुँदै पनि लोकतन्त्रको खराब पक्ष भनेको गलत व्यक्तिहरूसमेत निर्वाचित हुनसक्ने खतरा हो । तर, नेपाली कांग्रेसले यसपटक अपनाएको आन्तरिक लोकतन्त्रले केही अपवादबाहेक गलत व्यक्तिहरूलाई मज्जाले किनारा लगाइदिएको छ ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू राजनीतिक सुझबुझले ओतप्रोत रहेछन् भन्ने कुरा १४औँ महाधिवेशनको मत परिणामले पुष्टि गरेको छ । नेपाली जनताले खासै नरुचाएका देउवा सभापति पदमा दोहोरिने परिस्थिति के कारणले उत्पन्न भए, महाधिवेशन प्रतिनिधि एवं कांग्रेसका केही हस्ती नेताका सामु के कस्ता वाध्यता उत्पन्न भए ? भन्ने प्रश्नको उत्तर इतिहासले अवश्य पनि दिनेछ । यसवाहेक नेपाली कांग्रेसका प्रतिनिधिहरूले मतदान गर्दा यो प्यानल, ऊ प्यानल भनेको देखिएन । कुन कुन व्यक्तिलाई जिताउँदा पार्टी र मुलुकको हित हुन्छ ? भन्ने ख्याल गर्दै नेपाली कांग्रेसका प्रतिनिधिले मतदान गरेको देखियो । केही अपवादबाहेक जित्नै पर्नेले जितेका छन्, हार्नै पर्नेले हारेका छन् ।
उदाहरणका लागि उपसभापति पदमा पूर्णबहादुर खड्का जस्ता निष्कलंक र अनुभवी नेतालाई जिताउँदै विजयकुमार गच्छदारजस्ता दागी नेतालाई महाधिवेशन प्रतिनिधिहरूले पराजित गरे । जबकी दुवै जना नेता देउवा प्यानलकै थिए । सभापति पदमा देउवाले बहुमत ल्याए पनि उपसभापति पदमा डा. शेखर कोइराला प्यानलका धनराज गुरुङलाई महाधिवेशन प्रतिनिधिहरूले चुनाव जिताए । सादगी युवा नेता गुरुङ आदिवासी जनजाति समुदायको समेत हुन् । गुटउपगुट नहेरी समानुपातिक समावेशिता नेपालको अपरिहार्य आवश्यकता हो भन्ने परिपक्वता कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले देखाए ।
यता महामन्त्री पदमा उम्मेदवार बनेका ६ जना नेता सबै अब्बल थिए । डा.प्रकाशशरण महत, डा.मीनेन्द्र रिजाल, डा.राजाराम कार्कीजस्ता राजनीतिक संघर्षले खारिएका विद्वान हस्तीहरू महामन्त्री पदमा उम्मेदवार थिए । यसैगरी गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलजस्ता पार्टीको मात्रै होइन मुलुकको समेत भविष्य बोकेका युवा हस्तीहरू पनि महामन्त्री पदका लागि मैदानमा थिए । यी ६ जना अब्बलमध्ये दुई जनालाई मात्रै छान्नु सानो समस्या थिएन । तर महाधिवेशन प्रतिनिधिहरूले गगन थापा र विश्वप्रकाश शर्मालाई छाने । किन छाने त गगन र विश्वप्रकाशलाई ? भन्ने प्रश्न निकै अर्थपूर्ण छ । यो लेख यसै सन्दर्भमा केन्द्रित छ । गगन थापाको भन्दा पनि विश्वप्रकाश शर्माले राजनीतिक जीवनमा सामाना गर्नु परेको चुनौतीका विषयमा यो लेख केन्द्रित छ ।
करिबकरिब चुनाव जित्ने हैसियतमा रहेको डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकोले चर्चित युवा नेता थापाको विजयलाई अनपेक्षित मानिएको छैन । थापाको विजय कांग्रेस बाहिर ठूलो चर्चाको विषय भए पनि कांग्रेसभित्र खासै ठूलो चर्चा छैन । तर अत्यन्त सानो प्यानलबाट उम्मेदवार बनेका शर्माको विजय भने यतिबेला निकै ठूलो चर्चामा छ । शर्माको विजयले कांग्रेस भित्रको शक्ति सन्तुलनलाई नै परिवर्तन ल्याइदिएको छ ।
शर्मा अत्यन्त सानो प्यानलबाट उम्मेदवार बन्न के कारणले बाध्य भए ? उनलाई सिध्याउनै पर्ने वाध्यतामा नेता कृष्णप्रसाद सिटौलाले के कसरी पुग्नुभयो ? भन्ने प्रश्नको उत्तरले यतिबेला नेपाली कांग्रेसको पार्टी पंक्ति तरंगित भइरहेको छ । नवनिर्वाचित महामन्त्री शर्मा र मनोनीत पूर्वमहामन्त्री सिटौलाका सन्दर्भमा भन्नुपर्दा पात्र भन्दा पनि प्रवृत्तिको दोष हो । राजनीतिको खेल मैदानमा सामेल हुने मान्छे दुई खाले प्रवृत्तिका हुन्छन् । एक खाले मान्छेहरू आफ्नै प्रयत्न र मिहिनेतद्वारा माथि उठ्ने प्रवृत्तिका हुन्छन्, अर्काखाले मान्छेहरू अर्कोलाई बिगारेर आफू माथि उठ्न खोज्ने प्रवृत्तिका हुन्छन् ।
यी पृथक प्रवृत्तिका ज्वलन्त प्रतिनिधि उदाहरण हुनुहुन्छ –‘शर्मा र सिटौला ।’ ०४६ साल यताको ३२ वर्षको पुरै कालखण्ड सिटौलाले शर्मालाई समाप्त गर्न प्रयोग गरे, तर शर्माले यो कालखण्डमा अरू कसैलाई समाप्त गरेर आफ्नो उचाइ बढाउनुभन्दा आफ्नै मिहिनेतद्वारा माथि उठ्ने प्रयत्न गरिरहे । यो अवधिमा धेरैजसो समय नेपाली कांग्रेसमा सिटौला हावी भए, केही अपवादबाहेक शर्मा रक्षात्मक अवस्थामा गुज्रिरहे । तर, १४औँ महाधिवेशन निर्णायक बन्यो । सिटौला र शर्मा बीचको ३२ वर्षको यो लडाइँलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनले बिट मारिदिएको छ ।
शर्मालाई करिब तीन सय मत ल्याउने हैसियत बोकेको अत्यन्त सानो क्याम्पबाट महामन्त्रीको उम्मेदवार बन्न वाध्य पार्ने परिस्थितिको निर्माणका लागि सिटौलाले धेरै नै ठूलो मिहिनेत गरे । आफ्ना निशाना अचुक हुने कुरामा सिटौला ढुक्क थिए । किनकी अघिल्लो महाधिवेशनमा देउवालाई जिताउनका लागि सिटौलाले गगन थापाजस्ता चर्चित युवा नेतालाई समेत आफ्नै काखमा राखेर झण्डैझण्डै राजनीति नै समाप्त पारिदिएका थिए । १३औँ महाधिवेशनमा थापाको जे हालत भयो, त्यस्तै हालत यसपटक शर्माको हुने कुरामा सिटौला ढुक्क थिए, तर सिटौला आफैं मज्जाले पछारिए । शर्मालाई सिध्याउने नाममा सिटौलाले होनहार युवा नेता प्रदीप पौडेलसमेतलाई बलीको बोको बनाए । पौडेललाई जिताउनका लागि सिटौलाले देउवा क्याम्पबाट महामन्त्रीको उम्मेदवार बनाएका थिएनन्, शर्मालाई देउवा क्याम्पबाट घोक्रयाएर सडकमा पु¥याउनका लागि यो पासा फ्याँकेका थिए । सिटौलारूपी ग्रहणले नछोएको भए पौडेल सहमहामन्त्रीको उम्मेदवार बन्ने थिए र शशांक कोइरालाले भन्दा पनि बढी भोट ल्याएर जित्ने थिए । शर्मालाई समाप्त पार्ने सिटौलाको षड्यन्त्रको सानो गोटीका रूपमा प्रयोग भएर पौडेलजस्ता शालिन युवाले आफ्नो राजनीतिक भविष्यलाई १० वर्षपछि धकेले ।
आखिर पहरालाई कुहिनोले घचेटेर फोड्न सकिन्न भन्ने भनाइ चरितार्थ भयो । सिटौला कुहिनो सावित भए, विश्वप्रकाश पहरो सावित भए । झट्ट हेर्दा तीन हजार मत प्राप्त गर्ने थापाको भन्दा दुई हजार मत प्राप्त गरेका शर्माको स्थिति कमजोर हो कि जस्तो देखिन्छ । तर थापा १७ सय भोट भएको प्यानलबाट महामन्त्री पदमा उम्मेदवार बनेका थिए । यता शर्मा तीन सय भोट भएको प्यानलबाट उम्मेदवार बनेका थिए । थापाले आफ्नो प्यानलको भन्दा १३ सय मत बढी ल्याएर चुनाव जिते भने शर्माले आफ्नो प्यानलको भन्दा १७ सय भोट बढी ल्याएर चुनाव जिते ।
महाभारतको लडाइँ अन्तिमअन्तिम अवस्थामा पुग्दा शकुनीको जे दूरदशा भएको थियो, कांग्रेसरूपी महाभारतमा सिटौलाको पनि त्यही हविगत भएको छ । किनकी महाभारतमा सकुनीको भूमिका र नेपाली कांग्रेसमा सिटौलाको भूमिका उस्तैउस्तै थियो । अब नेपाली कांग्रेसको इतिहासमा शर्माभन्दा सिटौलाको नाम सधैँ सधैँका लागि तल हुनेछ । जसरी महाभारतमा अर्जुनको नामभन्दा सुकनीको नाम तल छ । अब शर्मा निर्वाचित महामन्त्रीको हैसियतमा छन् । सिटौला मनोनीत पूर्वमहामन्त्रीको हैसियतमा छन् । मनोनीत पूर्वमहामन्त्रीको हैसियतभन्दा माथि उक्लन नसक्ने गरी सिटौला पछारिएका छन् । देउवा पक्षले नै उनलाई अन्तरघातिको आरप लगाइसकेको छ । इतरपक्षले फेरी पनि सिटौलालाई बोक्ने गल्ती गर्ने छैन, किनकी यतिबेलाका इतरपक्षका नेता डा.शेखर कोइराला, विगतका इतरपक्षका नेता रामचन्द्र पौडेलजस्तो हुस्सु छैनन् ।
शर्माको भने निर्वाचित महामन्त्री पद राजनीतिक भविष्यको आरम्भ विन्दु मात्रै हो । ७३ वर्षीय मनोनीत पूर्वमहामन्त्री सिटौला र ५२ वर्षीय निर्वाचित वर्तमान महामन्त्री शर्मामध्ये कसको भविष्य उज्ज्वल होला ? भन्ने कुरा नेपाली कांग्रेसको कार्यकर्ता पंक्तिले बुझ्नेछ । अब यो कुरा मुलुकभरीका जनताले बुझिसक्दा सबैभन्दा पहिले सूर्योदय हुने झापाली जनताले बुझ्दैनन् भन्न मिल्दैन । मरेको कुकुरलाई माखाले छाडेझैँ सिटौलालाई अब आफ्नै कार्यकर्ताले छाड्नेछन् ।
सिटौला र विश्वप्रकाशको ३२ वर्षे लडाइँ
महाभारतको युद्ध सकुनीले यसै रचेका थिएनन् । आँफूलाई हेप्ने कुरु बंशलाई समाप्त पार्ने मिसन सुकनीको थियो । सकुनीको जस्तै वाध्यता सिटौलालाई किन थियो ? सिटौलाले आफ्नो सारा राजनीतिक जीवन शर्मालाई सिध्याउनका लागि किन खर्च गरे ? भन्ने प्रश्नको उत्तर थोरैलाई मात्रै थाहा छ । यसको पृष्ठभूमि ०४६ सालको जनआन्दोलनमै तय भएको हो । शर्मालाई राजनीतिबाट सिध्याउन सिटौलाले ३२ वर्षको यो अवधिमा के के गरे ? भन्ने कुरा पनि थोरैलाइ थाहा छ ।
यी दुवै नेताको गृह जिल्ला झापा हो । पञ्चायती शासनको ३० वर्षे कालखण्डमा नेपालमा जो जो युवा कांग्रेस बने उनीहरू सिके प्रसाईंका किताबहरू पढेरै बनेका हुन् । सिके प्रसाईं झापाकै हुन् । बौद्धिक तथा वैचारिक रूपमा निकै अब्बल भए पनि संगठानत्मक रूपमा कमजोर भएका कारण सिके प्रसाईंले नेपाली कांग्रेसमा खासै पद प्राप्ति गर्न सकेनन् । पद प्राप्तिको प्रयत्नतर्फ उनी लाग्दै लागेनन् । हिंसात्मक कम्युनिस्टहरूको उद्गमस्थल मानिने झापामा नेपाली कांग्रेसको संगठन पञ्चायतकालमा पनि नराम्रो थिएन । तर, ०४६ सालको जनआन्दोलनका बेला नेविसंघका झण्डाहरू जुलुसमा देखिए पनि नेपाली कांग्रेस पार्टीका झण्डाहरू जुलुसमा खासै देखिएनन् ।
त्यतिबेला झापामा नेविसंघको अध्यक्ष शर्मा थिए । नेपाली कांग्रेसको जिल्ला सभापति सिटौला थिए । तर, आन्दोलनमा नेविसंघ देखियो, कांग्रेस देखिएन । सिटौला भित्रभित्रै पञ्चायती व्यवस्थासँग मिलेको भन्दै नेपाली कांग्रेसका केन्द्रमा खैलाबैला मच्चियो । तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले जिल्ला सभापति परिवर्तनका लागि केन्द्रीय सभापति कृष्णप्रसाद भट्टराईलाई आग्रहसमेत गरे । तर भट्टराईको जवाफ थियो, ‘आन्दोलनको मध्यविन्दुमा आएर जिल्ला सभापति परिवर्तन गर्दा नकरात्मक सन्देश जान्छ, सिटौलाले खराब रोल खेले पनि नेविसंघको केटो टाठो रहेछ, उसैले अन्दोलन हाँक्छ ।’
यसरी ०४६ सालको आन्दोलनमा झापा जिल्ला अपवाद बन्यो, अरू जिल्लामा पार्टीको ब्यानरमा आन्दोलन भयो भने झापा जिल्लामा नेविसंघको ब्यानरमा आन्दोलन भयो । ०४६ सालको आन्दोलन सफल हुँदै गर्दा पूर्वी नेपालमा विस्तारै कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका अलगअलग गुट देखा पर्न लागिसकेका थिए । चतुर सिटौला भट्टराई गुटमा लागे । केन्द्रीय सभापति भट्टराई आफ्नो हातमा भएपछि सिटौलाले नेविसंघका अध्यक्ष शर्मालाई समाप्त पार्ने राजनीति सुरु गरे । ०४८ सालमा झापाको कलबलगुडीमा सम्पन्न आठौँ महाधिवेशनका क्रममा उनले कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतका नेताहरूलाई मज्जाले रिझाए ।
पार्टीको संस्थापन पक्षको आड लिएर सिटौलाले शर्मालाई मज्जाले पिसिदिए तर कोइराला पक्ष पनि कमजोर थिएन । शर्मा पनि बिस्तारै नेविसंघको केन्द्रीय राजनीतिमा प्रवेश गरे । उनी नेविसंघको महामन्त्री बन्दै गर्दा नेपाली कांग्रेसमा कोइराला क्याप निकै शक्तिशाली भइसकेको थियो । चतुर सिटौला आफ्ना दाजु डिल्ली सिटौलालाई भट्टराई क्याम्पमा स्थापित गराएर कोइराला क्याम्पमा प्रवेश गरे । विस्तारै कोइराला परिवारभित्र छिरेर शर्माविरुद्ध तानाबाना बुन्न थाले । तर शर्मालाई नेविसंघको अध्यक्ष बन्नबाट रोक्न सकेनन् ।
०५९ सालमा शेरबहादुर देउवाले नेपाली कांग्रेस फुटाउँदै गर्दा शर्मा नेविसंघको अध्यक्ष बनिसकेका थिए, भने सिटौला कोइराला क्याम्पको भित्रिया भइसकेका थिए । सिटौलाको उद्देश्य थियो, ‘पार्टीबाट शर्मालाई निकाल्ने रणनीति ।’ यसका लागि सिटौलाले अध्यक्ष शर्मा सिंगो नेविसंघ लिएर देउवाको पार्टीमा प्रवेश गर्न लागेको गलत सूचना गोविन्दराज जोशीमार्फत गिरिजाप्रसाद कोइरालाको कानमा पु¥याए । त्यतिबेलासम्म जोशीले जे भन्यो सभापति कोइरालाले त्यही पत्याउँथे । सभापति कोइरालाले तत्काल रामचन्द्र पौडेल र सुशील कोइरालालाई बोलाएर निर्देशन दिए, ‘बालकृष्ण खाणले जस्तै विश्वप्रकाशले पनि धोका दिँदै छ रे, तत्काल नेविसंघ विघटन भएको सूचना जारी गरिहाल्नु ।’ तर सुशील कोइरालाले हतार गरेनन्, उनले थप अध्ययन गर्दा जोशीले दिएको सूचना गलत सावित भयो । आफूलाई गलत सूचना दिइएको थाहा पाएपछि सभापति कोइरालाले गोविन्दराज जोशीलाई कालोसूचीमा राखे ।
यता सिटौलाका कारण आफ्ना लागि कोइरालाको ढोका बन्द भएकोमा जोशी पनि रिसाए । यो प्रकरणपछि जोशी र सिटौलाको संबन्ध बिग्रियो । सिटौलाले भने कोइराला परिवारको मन जित्दै गए । कोइराला परिवारकै आडमा विश्वप्रकाशलाई थप पेल्दै गए । पार्टीभित्र शर्माले कुनै भूमिका नै पाएनन् । कोइरालाहरूको घरमा बसेर सिटौलाले आफूलाई पेल्न थालेपछि शर्मा देउवा क्याम्पमा पुग्न वाध्य भए । देउवा प्यानलबाटै १३औँ महाधिवेशनमा विश्वप्रकाश केन्द्रीय सदस्यपदमा निर्वाचित भए । तर, शर्मालाई पेल्नकै लागि सिटौला देउवा क्याम्पमा पुगे । देउवा क्याम्पमा पनि शर्मालाई सिटौलाले भूमिकाविहीन बनाइदिए । सिटौलाले मनोनीत केन्द्रीय सदस्य गगन थापालाई विधान विपरीत प्रवक्ता नियुक्ति गर्न देउवालाई वाध्य पारे । तर, पत्र ड्राफ्ट हुँदानहुँदै बलकृष्ण खाण र डा. प्रकाशशरण महतले सभापति देउवालाई विद्रोहको चेतावनी दिएपछि गगन थापालाई विधानविपरीत प्रवक्ता बनाउने सिटौलाको प्रयत्न रोकियो ।
थापालाई प्रवक्ता बनाउने सिटौलाको प्रयत्न प्रत्युत्पादक सावित भयो । जसलाई सिध्याउनका लागि सिटौला देउवा क्याम्पमा गएका थिए, उनै शर्मा उपसभापति विमलेन्द्र निधिको प्रयासमा नेपाली कांग्रेसको प्रवक्ता बने । शर्मा पार्टीको प्रवक्ता बनेको भोलिपल्टैदेखि सिटौलाले देउवाविरुद्ध जेहाद छाडे । १४औँ महाधिवेशनमा कुनै पनि हालतमा देउवालाई पराजित गर्ने उद्घोषका साथ जुटेका सिटौलाले उपसभापति विमलेन्द्र निधिलाई उचाल्न थाले । सिटौलाले निधिलाई महत्वकांक्षा जगाएर सभापति पदको उम्मेदवार घोषणा गराएपछि सभापति देउवा साच्चै नै संकटमा परे । अब सिटौलाको साथ नपाई १४ औँ महाधिवेशन जितिन्न भन्ने टुंगोमा देउवा पुगे ।
तर देउवासामु सिटौलाले गम्भीर सर्त राखे, ‘त्यो सर्त थियो, विश्वप्रकाश शर्मालाई हटाएर प्रदीप पौडेललाई प्रवक्ता नियुक्त गर्नुपर्ने ।’ महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा प्रवक्ता परिवर्तन गर्दा गलत सन्देश जाने भन्दै देउवाका अन्य सहयोगीहरूले यो प्रयन्त रोके । शर्मालाई हटाएर पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने सर्तमा सिटौलाले देउवासँग कुरा मिलाए ।
भट्टराई सभापति हुँदा भट्टराईकै क्याम्पभित्र रहेर, गिरिजाप्रसाद र सुशील कोइराला सभापति हुँदा कोइराला क्याम्पमै पुगेर, देउवा सभापति हुँदा देउवा क्याम्पमै पुगेर आफूविरुद्ध सिटौलाले भयानक षड्यन्त्र गर्दा पनि शर्मा कत्ति हतास भएको देखिएन । देउवा क्याम्पमा छिरेर सिटौलाले घोक्र्याएपछि शर्मा गुहार माग्न कोइराला क्याम्पमा गए । तर, सिटौलाका सहयोगी डा.मिनेन्द्र रिजालले शर्मालाई कोइरालाको ढोकाभित्र छिर्न दिने संभावना रहेन । यता सिटौलाबाटै कोपभाजनमा परेका प्रकाशमान सिंहले रातो कार्पेट बिच्छ्याएर विश्वप्रकाशलाई स्वागत गरे ।
souryaonline.com बाट ।