बिर्तामोड, पुष १३ । इलाम नगरपालिका वडा नं.७ इलाम बजारकी ४५ बर्षीया गिता सुवेदी १४३ दिन अस्पताल बसेर आज घर फर्किनु भएको छ । कोरोनाको संक्रमण भए पछि गभ्भिर बिरामी पर्नु भएकी सुवेदीलाई बिर्तामोडस्थीत बिएण्डसी अस्पतालले सफल उपचार पछि आज घर पठाएको हो ।
कोरोना संक्रमण निको भए पनि त्यस पच्छात गितालाई कालो ढुसीको संक्रमण देखा परे पछि भने अवस्था चिन्ताजनक भएकाले लामो समय भेन्टीलेटरमा राखेर उपचार गर्नु परेको बिएण्डसी अस्पतालका कोभिड विभाग प्रमुख डा राजु श्रेष्ठले जानकारी दिनु भयो ।
२०७८ साउन २४ गते अक्सिजनको मात्रा कमि भए पछि अस्पताल पुर्याइएको गितालाई पहिलो दिनदेखि नै भेन्टिलेटरमा राखेर उपचार गर्नु परेको डा श्रेष्ठले बताउनु भयो । वहाँका अनुसार गितालाई ९९ दिन भेन्टिलेटरको सहयोगमा राखिएको थियो ।
शुरुका दिनमा गितालाई प्रतिमिनेट ६० लिटरसम्म अक्सिजन दिनु परेको श्रेष्ठले बताउनु भयो । ‘यो केश हाम्रालागि पनि चुनौति भयो,’ डा श्रेष्ठले भन्नुभयो, ‘कोरोना पछि कालो ढुसीको संक्रमण भएको बिरामी हामीले पहिलो पटक उपचार गरेका हौं ।’ अझै केही समयसम्म प्रतिमिनेट २ देखि ३ लिटरसम्म अक्सिजन गितालाई आवश्यक पर्ने र त्यसको व्यवस्थापन परिवारले घरमा नै गरेकाले अस्पतालबाट बिदा गरेको डा श्रेष्ठले बताउनु भयो ।
‘करीब १५ दिनको उपचार पछि कोरोना संक्रमण मुक्त बनाउन सकियो,’ अस्पतालका मेडिसिन विभागका प्रमुख डा लक्ष्मण ठाकुरले भन्नुभयो, ‘बिरामीको फोक्सो खुम्चिएको र पूर्ण रुपमा काम गर्न नसक्ने भएकाले अवस्था गभ्भिर थियो, हामीले जानेको सबै गर्यौं र आज बिरामी बचाउन सकियो ।’
गिताको परिवार र वहाँको श्रीमानले देखाउनु भएको धैर्यताले नै बिरामी बाँच्न सफल हुनु भएको डा ठाकुरले बताउनु भयो । ‘हाम्रो समाजमा लामो समय भेन्टिलेटरमा राखेर उपचार गराउने चलन छैन,’ डा ठाकुरले भन्नुभयो, ‘त्यसमा परिवार र खासगरी बिरामीको श्रीमानले गरेको सेवाले नै आज बिरामी घर पठाउन पाएका छौं ।’
माया मारिसकेको बिरामीलाई निको परिदिनु भएकोमा गिताका श्रीमान रामजी सुवेदी (सुमन) ले डाक्टर र नर्सको टिम सहित अस्पताल परिवारलाई धन्यबाद दिनु भयो । ‘परिवारले माया मारेको थियो,’ वहाँले भन्नुभयो ‘तर मैले धैर्य छोडिन, अन्तिम समयसम्म पनि उपचार गराउँछु भनेरै अस्पतालमै राखेका कारण श्रीमतीको जीवन बाँच्यो ।’