बिर्तामोड, पुष १२ ।। नेपाली काँग्रेस झापाको नवनिर्वाचित समितिको सपथग्रहण तथा पद हस्तान्तरण सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । मङ्सिर १० गते भएको निर्वाचनबाट निर्वाचित सात पदाधिकारी सहित ७२ सदस्यीय समितिलाई सपथग्रहण पछि पद हस्तान्तरण गरिएको हो । नवनिर्वाचित सभापति देउमान थेवेलाई काँग्रेस नेता तथा पूर्वसांसद डिल्लीप्रसाद सिटौलाले सपथ गराउनु भएको थियो ।
झापा काँग्रेसका निवर्तमान सभापति उद्वब थापाले पार्टीको झण्डा हस्तान्तरण गर्दै पद हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा पार्टीको बैठक निर्णय पुस्तिका हस्तान्तरण गरिएको छ । नवनिर्वाचित सभापति थेवेले प्रतिबद्धता मन्तव्य राख्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने बताउनु भयो । वहाँले कसैलाई भेदभाव नगर्ने र सबैले शिर ठाडो बनाएर हिड्ने वातावरण निर्माण गर्ने बताउनु भयो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य महिन्द्रा कुमारी लिम्बू, नेपाली काँग्रेसका प्रदेश १ सभापति समेत रहेका थापा, पूर्वसांसद सिटौला, काँग्रेस झापा सभापतिका उम्मेदवार राम कट्टेल , काँग्रेस झापाका पूर्वसभापति सुधीरकुमार शिवाकोटी लगायतले बोलेका थिए ।
काँग्रेस जिल्ला समितिको पहिलो बैठक समेत आजै सम्पन्न भएको छ । बैठकले पुस १६ गते राष्ट्रिय मेलमिलाप तथा एकता दिवस, पुस २० गते आदिवासी नेता तुर्सा हेमरमको स्मृति दिवस मनाउने र पुस २५ गते झापाबाट निर्वाचित पार्टी महामन्त्री विश्वप्रकाश शर्मा लगायतलाई सम्मान गर्ने निर्णय गरेको छ । झापाबाट केन्द्रीय सदस्यमा लिम्बू, सरिता प्रसाईं, सुशीला ढकाल र केशवकुमार बुढाथोकी निर्वाचित भएका छन । बैठकले जिल्ला सभापतिका उम्मेद्वार रहनु भएका कट्टेललाई जिल्ला सदस्यमा मनोनीत गरेको छ । जिल्ला सभापति थेबेको प्रस्तावमा पहिलो बैठकले नै कट्टेललाई जिल्ला सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।
कार्यक्रमका वक्ताले चुनावको हारको तिक्तता बिर्सेर स्थानीय निर्वाचनमा लाग्न आग्रह गरे । उनीहरूले तीनै तहका निर्वाचनमा ध्यान केन्द्रित गर्न आग्रह गरे । उनीहरूले रुख चिन्ह लिएर आउने उम्मेदवारलाई जिताउन सक्रिय रहन आग्रह गरे । वक्ताले जित्नेले जित्नेको नेतृत्व गर्ने र हार्नेले हार्नेको नेतृत्व गर्ने तथा जित्नेले हार्नेलाई थिचोमिचो गर्न नदिने बताए । उनीहरूले कम्युनिस्टको थिचोमिचो अन्त्यका लागि लाग्ने र कार्यकर्तालाई लाग्न आग्रह गरे ।