मेचीनगर, पुष १२ । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ मेचीनगरको विवाद झन बढेको छ । पार्टी नेतृत्वले जबरजस्ती युवा संघ मेचीनगर कमिटि गठन गरेको भन्दै युवाहरुले बिद्रोह गरेका छन ।
मेचीनगरका आम युवाहरुको भावना बिपरित पार्टी नेतृत्वले युवा संघको कमिटि लाद्ने प्रयास गरेको भन्दै युवाहरुको भेलाले ७ बुंदे अपिल समेत सार्वजनिक गरी मेचीनगर ८ का मेहरलाल धिमालको अध्यक्षतामा राष्ट्रिय युवा संघ मेचीनगर कमिटि घोषणा गरेका छन ।
आज विहान सम्पन्न एमाले निकट युवाहरुको भेलाले गठन गरेको युवा संघ नगर किमिटिको उपाध्यक्षमा सञ्जु तिम्सिना (भोलेबाबा), सचिबमा कृष्ण काफ्ले, उपसचिबमा नेत्र मिश्र र कोषाध्यक्षमा लक्ष्मण बानियाँ चयन हुनु भएको अध्यक्ष धिमालले सेतोपत्रलाई जानकारी दिनु भयो ।
यस अघि घोषणा गरिएको भनिएका दुई वटै कमिटि गलत भएको र बहुसंख्यक युवा आफ्नो समुहमा रहेको अध्यक्ष धिमाले बताउनु भयो । वहाँले भन्नुभयो, ‘मेचीनगरका धेरै युवा हाम्रो समूहमा छन, हामी चुनावी प्रतिस्पर्धामा आउन दुवै समूहलाई चुनौति दिन्छौं ।’
पार्टी नेतृत्वले यस्तै कार्यशैली देखाए आसन्न स्थानीय चुनावमा एमालेलाई ठूलो क्षति हुने समेत अध्यक्ष धिमालले चेतावनी दिनु भयो । संकिर्ण सोच त्यागेर मेचीनगरका सबै युवाहरुलाई एक ढिक्का बनाएर राष्ट्रिय युवा संघ मेचीनगरको एउटै कमिटि बनाउन पार्टी नेतृत्वले पहल गर्नु पर्ने नवगठित कमिटिका सचिव कृष्ण काफ्लेले बताउनु भयो ।
पार्टी नेतृत्वसहितको भेलाले मानबहादुर तामाङको अध्यक्षतामा आइतबार राष्ट्रिय युवा संघ मेचीनगरको कमिटि घोषणा गरेको थियो । त्यस लगत्तै हिजै अपरान्ह मेचीनगर ९ मा भएको युवाहरुको भेलाले तामाङ नेतृत्वको कमिटिलाई अस्वीकार गर्दै कृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटि घोषणा गरेको थियो ।
दुवै कमिटिलाई बहिस्कार गर्दै आज बिहानको युवाहरुको भेलाले धिमालको अध्यक्षतामा राष्ट्रिय युवा संघ मेचीनगरको नयाँ कमिटि घोषणा गरेर बिद्रोह गरेका हुन । यस अघि काकरभिट्टामा भएको राष्ट्रिय युवा संघ मेचीनगरको प्रथम अधिवेशनले ७५ सदस्यीय युवा संघ मेचीनगरको कमिटिका सदस्यहरु चयन गरेको भए पनि विवादका कारण पदाधिकारी भने चयन हुन सकेको थिएन ।
धिमाल नेतृत्वको युवाहरुको भेलाले सार्वजनिक गरेको अपिल ।
प्रिय कमरेडहरु,
भरखरै विधान अधिवेशन र त्यसपछि १० औं राष्ट्रिय महाधिवेशन भव्यताका साथ समापन गरेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ऐतिहासिक क्षणहरुमा प्रवेश गरिरहेको स्वर्णीम अवसरमा हामी छौं । प्रारम्भमा सबै उपस्थित कमरेडहरु र पत्रकार साथीहरुमा हार्दिक अभिवादन व्यक्त गर्न चाहान्छौं । नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने नेता कमरेड पुष्पलाल, जननेता कमरेड मदन भण्डारी, जीवराज आश्रित, मनमोहन अधिकारी लगायतका अग्रज कमरेडहरु र कम्युनिष्ट आन्दोलनमा शहिद हुन पुगेका सम्पुर्ण ज्ञात अज्ञात शहिदहरुप्रति सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छौ ।
आज हामी नेपाल कम्युनिष्ट पार्टी एमालेको युवा संगठन युवासंघ मेचिनगर नगरकमिटीको घोषणा सन्दर्भलाई लिएर उपस्थित भएका छौं । विभिन्न टुटफुट हँुदै अघि बढेको नेपाल कम्युनिष्ट पार्टीको ७२ बर्षको इतिहासमा देशका दुई ठुला कम्युनिष्ट पाटी मिलेको परिणाम स्वरुप करिब २ तिहाई जनमत सहित सरकार सन्चालन गरे पनि संगठनात्मक अराजकतालाई रोक्न नसक्दा सरकारबाट हट्नु परेको मात्र होइन पुन विभाजनको नियती भोगेपछि पुनः हामी पार्टीलाई एकढिक्का बनाउने जमर्को गरि अघि बढीरहेका छौं । १० भन्दा बढी कम्युनिष्ट पार्टी भएको मुलुकमा कम्युनिष्ट पार्टीका विच, कम्युनिष्ट विचारधाराका विच, कम्युनिष्ट सोचका बिच भावनात्मक, कार्यगत र समष्टिगत एकता गर्नु चानचुने कुरा होइन अझै चुनौतिकै विषय रहिरहेको छ ।
यस्ता चुनौतिहरु भोगिरहेका हामीमाझ नेतृत्वले लादेर घोषणा गरिएको युवासंघ मेचिनगर कमिटि र त्यसका प्रतिउत्तरमा साथीहरुबाट गठन गरिएको अर्को कमिटि दुबैले यी तलका प्रश्नहरुको उत्तर दिनु जरुरी छः
क) नव घोषीत कमिटिले मेचिनगरका सम्पूर्ण युवाहरुको भावना समेट्न सकिरहेको छ ?
ख) युवासंघ घोषणा गरिरहँदा संगठन निर्माण वा गठनको न्युनतम मान्यता पालना गरेको छ ?
ग) संयोजन समितिले सर्वसम्मतले निर्णय गरेको हो कि बलमिच्याई गरेर घोषणा गरेको हो ?
घ) माक्र्सवादी दृष्टिकोणबाट हेर्दा संगठन निर्माणको लेनिनवादी सिद्धान्त अपनाउँदा पनि ‘छलफलको स्वतन्त्रता’ भन्ने कुरालाई अंगिकार गरियो कि गरिएन ?
ङ) लेनिनका अनुसार ‘गुटबन्दीले गर्र्दा पार्टी सदस्यहरु बिचको मैत्रीपुर्ण सम्बन्धलाई कमजोर तुल्याउँछ र पार्टीका दुश्मनहरुले त्यो अवस्थाको नाजायज फाइदा उठाउन सक्छ’ भन्ने कुरालाई अंगिकार गरिएको भए किन फरक विचार राख्ने साथीहरु कमिटिमा अटाएनन ?
च) ‘विपरीतहरुको एकता र संघर्ष’ भन्ने द्धन्द्धवादको आधारभुत नियम संगठन निर्माणका बखत अवलम्बन गरियो कि गरिएन ?
छ) संगठन भित्र भएका बेमेल, विवाद, संघर्षलाई भेलामा राख्ने वातावरण बनाउने र त्यस्ता विवाद, बेमेललाई सौहार्दपुर्ण छलफलबाट निर्णयमा पुग्ने आन्तरिक जनवादको अभ्यास भयो कि भएन ?
संगठनको सर्वोच्च निकाय भेला वा सम्मेलन हो, त्यस्ता भेला वा सम्मेलनले नै विधि, पद्धती निर्माण गर्ने र नेतृत्व चयन गर्ने हुन्छ । यस्ता निर्णयहरु गर्दा संगठनको भेलाबाट सर्वसम्मत वा सो हुन नसके निर्वाचन मार्फत बहुमतिय प्रणालीबाट हुनु पर्दछ । संगठन निर्माण र नेतृत्व चयनको विषयमा ‘चुन्ने र चुनिने अधिकार’ को सकारात्मक प्रयोगले आफुले आफ्नो नेता छान्ने अधिकार र आफु स्ववयं दावेदार भई उम्मेदवारी हुन पाउने अधिकार सुनिश्चित गर्दा संगठनभित्र स्वच्छ प्रतिस्पर्धा विकास हुने र गुटबन्दी जस्तो सांगठानिक एकतालाई आँच पुर्याउने काम गर्ने सम्भावना न्युन रहने हुन्छ ।
माथि उठेका, उठाइएका जवाफ आम मेचिनगरका युवाले नपाएका, आफ्नो चुन्ने र चुनिने अधिकार गुमाएका र माथिबाट आशिर्वादको आधारमा नेतृत्व थोपरीदिने र टाउकामा हात राखिदिएर नेतृत्व सुम्पने कामले मेचिनगर युवासंघ अघि नबढ्ने भएको हुनाले युवासंघसँग आवद्ध युवासंघको स्वतन्त्र नगर कमिटि बनाउने घोषणा गर्दछौं ।