पाँचथर, पुष १२ । चिया उत्पादनका लागि चिया उद्योगी र चिया कारखानामा काम गर्ने श्रमिकहरुलाई छुट्टा छुट्टै तालिम दिइएको छ । उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, होटल व्यवशायी संघ पाँचवटा संस्थाको संयुक्त आयोजनामा इलाम र पाँचथरमा दुइ वटा अलग अलग कार्यशाला सम्पन्न भएका छन ।
पाँचथरको फिदिममा सम्पन्न तीन दिने चिया प्रसोधन सम्बन्धी कार्यशालामा चिया कारखाना भित्र काम गर्ने श्रमिकहरुलाई गुणस्तरिय अर्गानिक चिया कसरी उत्पादन गर्न सकिन्छ भन्ने बिषयमा जानकारी गराइएको थियो ।
बगानबाट टिपेर कारखानासम्म ल्याइएको चियाबाट अन्तराष्ट्रियस्तरको गुणस्तरिय चिया कसरी उत्पादन गर्न सकिन्छ भन्ने बिषयमा चिया श्रमिकहरुलाई कार्यशालामा जानकारी गराइएको घरेलु तथा साना उद्योग महासंघकी महासचिव शान्ता बाँस्कोटा कोइरालाले जानकारी दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि कंचनजघा टि स्टेट पाँचथरका अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले नेपाली चियाको गुणस्तर सुधार गर्न सकिए विश्वबजारमा नेपाली चियाले सबैभन्दा बढी स्थान पाउने बताउनु भयो । अन्तराष्ट्रिय बजारलाई हेरेर नेपाली अर्गानिक चियालाई उत्पादन र प्रसोधन गर्न सके विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत चिया नै हुने बाँस्कोटाले बताउनु भयो ।
सातवटै प्रदेशबाट एक एक जना र विभिन्न संस्थागत प्रतिनिधित्व गरी जम्मा १२ जनाको सहभागिता रहेको कार्यशालामा परियोजनाका टिम लिडर चन्द्रकान्त अधिकारी, पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष दीपक नेपाल, घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष नरेन्द्र दुलाल र गैसस पाँचथरका पुर्व अध्यक्ष बालकृष्ण ओझा लगायतले मन्तव्य राखेका थिए ।
त्यसैगरी यस अघि इलाम बजारमा चिया उद्योगीहरुका लागि एक दिवसीय कार्यशाला सञ्चालन गरिएको थियो । चिया प्रसोधनमा ध्यान दिनु पर्ने कुराहरुका बारेमा कार्याशालामा जानकारी गराइएको थियो ।
१२ जना चिया उद्योगीहरुको सहभागिता रहेको कार्यशालामा गुणस्तरिय अर्गानिक चियाको महत्व र त्यसको उत्पादनका लागि प्रसोधनमा बिषेश हेरचाह गर्नु पर्ने बिषयमाथि गहिरिएर छलफल गरिएको आयोजक संस्था घरेलु तथा साना उद्योग महासंघकी महासचिव शान्ता वाँस्कोटा कोइरालाले जानकारी दिनु भयो ।
इलाममा भएको कार्याशालामा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले चियाको गुणस्तर सुधारमा उद्योगीहरुले नै बिषेश चासो राख्नु पर्ने औल्याउनु भएको थियो । विश्वबजारमा नेपाली चियाको माग उच्च रहेको भए पनि गुणस्तरिय उत्पादनमा ध्यान दिन नसक्दा नेपाली चिया सोचे जति निर्यात हुन नसकेको समेत ढकालले बताउनु भयो ।