मेचीनगर, पुष ११ । नेकपा एमाले निकट युवाहरुको संस्था राष्ट्रिय युवा संघ नेपालको मेचीनगर कमिटि गठनमा तिब्र बिवाद देखिएको छ । बिवादकै बिच युवा संघ मेचीनगरमा अलग अलग दुइ वटा कमिटि गठन भएका छन ।
नगर पार्टी नेतृत्व र युवा संघको नगर कार्यदलबीचमा नै बिवाद उत्पन्न भए पछि दुई वटा समानान्तर कमिटि गठन भएको राष्ट्रिय युवा संघका एक नेताले सेतोपत्रलाई जानकारी दिनु भयो । युवा संघको कार्यदलले कमिटि गठन गर्ने प्रस्तावमा दुई जना सदस्यहरु राजु धिमाल र दुर्गा धमलाले असहमति जनाए पछि नगर पार्टी नेतृत्वले हस्तक्षेप गरेर मानबहादुर तामाङको नेतृत्वमा युवा संघ मेचीनगर कमिटि गठन गरे पछि विवाद बढेको राष्ट्रिय युवा संघ मेचीनगरका निवर्तमान अध्यक्ष सरोज मेहेराले बताउनु भयो ।
‘हामीले सहमतिमा कमिटि गठन गरौं भनेका थियौं,’ मेहेराले भन्नुभयो, ‘तर कार्यदलका केही सदस्य र पार्टी नेतृत्वले युवाहरुको भावना बिपरित जबरजस्ती कमिटि गठन गरेको थाहा पाएर युवाहरुको भेलाले कृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेका हौं ।’
तामाङको अध्यक्षता गठन भएको कमिटिको उपाध्यक्षमा कृष्ण श्रेष्ठ, सचिवमा श्याम सिवाकोटी, उपसचिवमा विवेक खवास र कोषाध्यक्षमा न्यूटन कार्की चयन भएका छन ।
त्यस्तै युवाहरुको भेलाले गठन गरेको अर्को कमिटिमा अध्यक्ष कृष्ण श्रेष्ठ, उपाध्यक्ष रतन लिम्बु, सचिव तिलक श्रेष्ठ, उपसचिव सरोज खड्का र कोषाध्यक्षमा विनिता मोक्तान रहेका छन ।
तामाङको अध्यक्षता गठन भएको कमिटिको नै राष्ट्रिय युवा संघ मेचीनगरको आधिकारिक कमिटि भएको एमाले मेचीनगरका इन्चार्ज तथा युवा संघ नगर कमिटि गठनका लागि अध्यक्ष मण्डलका संयोजक देवकुमार राईले सेतोपत्रलाई बताउनु भयो ।
‘तामाङको अध्यक्षता गठन भएको कमिटि नै आधिकारिक हो,’ राईले भन्नुभयो, ‘अरु कसले काहाँ के के गर्यो त्योसंग पार्टी निति बिपरित हो ।’
पुष १६ गते राष्ट्रिय युवा संघ मेचीनगरको कमिटि घोषणा गर्ने कार्यक्रम तय भएको भए पनि त्यस अघि नै पार्टी नेतृत्वको हस्तक्षेपमा कमिटि गठन गरेर सार्वजनिक गरेका कारण युवाहरुको भेलाले तामाङ नेतृत्वको कमिटिलाई अमान्य भन्दै श्रेष्ठको नेतृत्वमा नयाँ कमिटि गठन गरेको मेहराले बताउनु भयो ।