मेचीनगर, पुष ११ । झापाको धुलाबारीस्थीत आम्दा मेची अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि मेचीनगर नगरपालिकाबाट २५ लाख रकम निकासा भएको ७ महिना बितिसक्दा पनि अक्सिजन प्लान्ट निर्माणको अत्तोपत्तो छैन ।
कोरोना भाइरसको संक्रमणबाट बिरामी परेकाहरुलाई अत्याधिक आवश्यक पर्ने अक्सिजनको दीगो व्यवस्थापनका लागि अक्सिजन प्लान्ट निर्माणका लागि मेचीनगर नगरपालिका, रोटरी क्लब अफ काकरभिट्टा, रोटरी क्लब अफ मेचीनगर, मेची उद्योग वाणिज्य संघ र आम्दा मेची अस्पतालबिच २०७७ जेठ १३ गते सम्झौता भएको थियो ।
सम्झौता अनुसार मेचीनगर नगरपालिकाको तर्फबाट २५ लाख र मेची उद्योग वाणिज्य संघले १५ लाख प्लान्ट निर्माणका लागि रकम उपलब्ध गराउने छन । त्यस्तै मेचीनगर र काकरभिट्टा रोटरी क्लबले रोटरी इन्टरनेशनलको तर्फबाट ग्लोबल ग्राण्ड मार्फत प्राप्त हुने करीब ३५ लाख रकमको ब्यवस्थापन गर्ने छन भने आम्दा अस्पतालले अक्सिजन प्लान्ट निर्माणको स्थान र प्राविधिक सहयोग उपलब्ध गराउने छ ।
बहुपक्षीय सम्झौता अनुसार नगरपालिकाले तत्कालै अर्थात २०७७ जेठ १७ गते २५ लाख रुपैया रोटरी क्लब अफ काकरभिट्टाको बैंक खातामा जम्मा गरिदिएको थियो । रोटरी क्लब अफ काकरभिट्टाले रोटरी इन्टरनेशनलबाट प्राप्त हुने ग्लोबल ग्राण्डको प्रक्रिया अगाडी बढाएको र उसैको बैंक खातामा रकम जम्मा गर्ने नगरपालिकाले निर्णय गरे अनुसार नै रकम जम्मा गरिदिएको नगरपालिकाको लेखा शाखाले जनाएको छ ।
धुलाबारीमा अक्सिजन प्लान्ट बन्ने भए पछि स्थानीयबासीहरुले समेत स्वत स्फुर्त रुपमा रकम उपलब्ध गराएका थिए । स्थानीयबासीबाट संकलित रकम करीब ३५ लाख रहेको र उक्त रकम मेची उद्योग वाणिज्य संघको खातामा जम्मा रहेको संघका अध्यक्ष ऋषिराज तिम्सिनाले सेतोपत्रलाई जानकारी दिनु भयो ।
‘अक्सिजन प्लान्ट निर्माणका लागि भएको सम्झौता अनुसारको १५ लाख रुपैया हामीले रोटरी क्लब अफ काकरभिट्टाको बैंक खातामा जम्मा गरिसकेका छौं,’ तिम्सिनाले भन्नुभयो, ‘अक्सिजन प्लान्ट राख्ने भवन निर्माण शुरु भएको छ ।’
रोटरी इन्टरनेशनलको ग्लोबल ग्राण्डबाट आउनु पर्ने रकम नआएकाले अक्सिजन प्लान्ट निर्माणमा ढिलाई भएको रोटरी क्लब अफ काकरभिट्टाका अध्यक्ष रोहित बुढाथोकीले बताउनु भयो । ‘हाम्रो तर्फबाट पठाउनु पर्ने रकम पठाइसकेका छौं,’ बुढाथोकीले भन्नुभयो, ‘त्यसमा रोटरी इन्टरनेशनलले थपेर रकम पढाउनु पर्ने हो, प्राविधिक कारणले त्यो रकम आउन ढिलाई भएको छ ।’ बुढाथोकीका अनुसार अबको १५ दिन भित्र रोटरीको ग्लोबल ग्राण्डको रकम आउने र अक्सिजन प्लान्ट निर्माणले गति लिने छ ।
अक्सिजन प्लान्ट निर्माणको सम्झौतामा मेचीनगरका नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेती, प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझाले हस्ताक्षर गर्नु भएको छ भने रोटरी क्लब अफ काकरभिट्टाका तत्कालिन अध्यक्ष नवराज खनियाँ, रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्री, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र आम्दा मेची अस्पतालका प्रमुख डा पोषण रमण त्रिपाठीले हस्ताक्षर गर्नु भएको छ । धुलाबारीमा निर्माण हुने भनिएको अक्सिजन प्लान्ट करीब ८० लाखमा सञ्चालनमा आउने बताइएको छ ।