काँकरभिट्टा, पुष ११ । सुसेली साहित्यिक प्रतिष्ठान काकरभिट्टाले शनिवार झापाका विभिन्न विधाका ६ जना महिलालाई सम्मान गरेको छ । बरिष्ठ साहित्यकार चुँडामणि रेग्मीकी धर्मपत्नी बेदकुमार रेग्मीको शुभजन्मोत्सवको अवसर पारेर काँकरभिट्टास्थीत देवकोटा पार्कमा आयोजित महिला सम्मान कार्यक्रममा बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार मेचीनगर १३ चारआली निवासी पूर्णिमा मगरलाई अर्पण गरिएको हो । पुरस्कारको राशी रु १०१०० रहेको छ । वहाँलाई यो सातौं पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष पुण्यप्रसाद खरेलले बताउनु भयो ।
बरिष्ठ साहित्यकार रेग्मीले उहाँकी धर्मपत्नीको नामबाट बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कारका लागि २०७१ सालमा प्रतिष्ठानमार्फत एक लाख एक हजारको अक्षयकोष स्थापना गर्नु भएको थियो । सोही कोषको व्याजबाट प्रत्येक बर्ष एकजना महिलालाई सम्मान गरिँदै आएको प्रतिष्ठानका अध्यक्ष खरेलले बताउनु भयो ।
रेग्मीको ८४ औं बर्षको शुभअवसरमा सामाजिक, शैक्षिक र साहित्यिक क्षेत्रमा योगदान पुर्याउने साहित्यकार कल्पना ओली, मिरा काफ्ले पोखरेल, शिक्षासेवी लिना भण्डारी, अनिता कार्की र निर्मला तिम्सिनालाई नगद पाँच हजारका दरले सम्मान गरिएको छ । सम्मानित व्यक्तिहरुको चिनारी प्रतिष्ठानका अध्यक्ष खरेलले आफैंले प्रस्तुत गर्नु भएको थियो ।
सम्मानित महिलालाई कार्यक्रमकी प्रमुख अतिथि प्रसिद्ध कवि तथा साहित्यकार भवानी क्षेत्रीले सम्मानपत्र र दोसला समेत ओढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा बरिष्ठ साहित्यकार चुडामणि रेग्मीले साहित्यमा पुर्याएको योगदानसहित उनकी धर्मपत्नी रेग्मीको बारे चर्चा गरिएको थियो ।
सोही अवसर पारेर साहित्यका विजय खरेलको ‘अल्पिल्टा स्वरहरु’ कृतिको समेत विमोचन गरिएको थियो । उहाँको कृतिको परिचर्चा चुडामुणि बशिष्ठले गर्नु भएको थियो ।
सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष पुण्यप्रसाद खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध साहित्यकार भवानी क्षेत्री, भाषाशास्त्री चूडामणि रेग्मी, मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा साहित्याकारहरु मायामितु नेउपाने, मुना राना, मिना अधिकारी, मातृका संग्रौलाले गीत प्रस्तुत गरेका थिए । उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कनक कार्कीले गर्नु भएको थियो ।