बिर्तामोड, पुष ७ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम झापा काँग्रेसका सभापति देउमान थेबे सहित जिल्लाका सबै पदाधिकारीहरुले बहिस्कार गरेका छन । महामन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक आज गृह जिल्ला झापा आउनु भएका शर्माको कार्यक्रम जिल्ला सभापति सहितका पदाधिकारीहरुले बहिस्कार गरेको खुल्न आएको छ ।
काँग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षिय जिल्ला सभापति थेबे, उपसभापति केशबराज पाण्डे, शेरबहादुर भट्टराई, सचिव कृष्ण हुमागाई र नबिन बिमलीलगायत कुनै पनि पदाधिकारी महामन्त्री शर्माको कार्यक्रममा सहभागि हुनु भएन ।
बिर्तामोडको अग्रसेन भवनमा महामन्त्री शर्माले आगामी चुनावमा नेता सिटौलाको नेतृत्वमा झापाका ५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसले चुनाव जित्ने उदघोष गरिरहँदा तिनै सिटौला पक्षीय जिल्ला पदाधिकारी सहितका नेताहरु भने शर्माको कार्यक्रम बहिस्कार गरिरहेका थिए ।
महामन्त्रीको ब्यक्तिगत कार्यक्रम भएको र पार्टीलाई औपचारिक जानकारी नभएकाले सहभागि नभएको काँग्रेस झापाका सभापति थेबेले बताउनु भयो । थेबेले औपचारिक जानकारी छैन भनिरहँदा शर्मा पक्षीय नेता प्रेम सम्बाहाम्फेले भने जिल्ला पार्टीलाई औपचारिक रुपमा निमन्त्रणा गरेको बताउनु भयो । वहाँका अनुसार जिल्ला सभापति सहित सबै पदाधिकारीलाई कार्यक्रममा निमन्त्रणा गरिएको थियो ।
सिटौला पक्षीय नेताहरुले कार्यक्रम बहिस्कार गरे पनि महामन्त्री शर्माले सम्बोधन गरेको अग्रसेन भवनको कार्यक्रममा जिल्लाका हजारौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
विचार प्रचार अभियानले संयोजन गरेको कार्यक्रमको सभापतित्व काँग्रेस झापाका पुर्व सभापति पुर्णानन्द शर्माले गर्नु भएको थियो ।