बिर्तामोड, पुष ७ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब कुनै पनि हालतमा राजसंस्था नफर्कने बताउनु भयो । महामन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक आज गृह जिल्ला झापा आउनु भएका शर्माले भन्नुभयो, ‘कोही कसैमा भ्रम नराख्नुस र कसैले पनि भ्रम नपाल्नुहोस राजसंस्था फर्कदैन ।’
बिचार प्रचार अभियानले आज बिर्तामोडस्थीत अग्रसेन भवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले १४ औँ महाधिवेशनमा पुस्तान्तरणको प्रक्रिया सुरु भए पनि पूर्ण नभएको बताउनु भएको छ । वहाँले व्यक्तिको प्रतिनिधित्व ठूलो कुरा नभएको भन्दै रुपान्तरित काँग्रेस निर्माणमा शर्माले जोड दिनु भएको छ ।
शर्माले भन्नुभयो, ‘ठूलो कुरा काँग्रेसको रुपान्तरण हो, मेरो कार्यकाल त्यसमै खर्चन्छु ।’ महामन्त्री शर्माले बिपीले स्थापित गरेको संस्कारअनुसार पार्टीको आन्तरिक चुनाव भएको बताउनु भयो । चुनावपछि सबै तिक्तता हटाएर अगाडि बढ्न सक्नुपर्ने वहाँले बताउनु भयो ।
काँग्रेसमा चार कुरा आवश्यक भएको बताउँदै महामन्त्री शर्माले भन्नुभयो, ‘भ्रातृसंस्थाको सही व्यवस्थापन, प्रवृत्तिमा रुपान्तरण, प्रविधिको प्रयोग र पुस्तान्तरणको प्रक्रियालाई टुङ्गोमा नर्पुयाई केही हुन्न ।’
कार्यक्रममा शर्माले आफू बधाई दिन नभई झापा र झापालीलाई आभार व्यक्त गर्न आएको बताउनु भयो । वहाँले हिजो र आजको सोचलाई एकाकार बनाएर अघि बढ्नु आवश्यकता भएको औंल्याउनु भयो ।
पार्टीको आन्तरिक प्रतिस्पर्धा सकिएको र सबै कुरा बिर्सेर काममा फर्कन आग्रहसमेत शर्माले आग्रह गर्नु भयो । आफू शालीन र संयमित भएर अघि बढ्ने उल्लेख गर्नु भएका शर्माले आवश्यक परे विद्रोह गरेर अघि बढ्न पनि पछि नपर्ने बताउनु भयो ।
‘एज’ ले होइन, एजेन्डाले पार्टीलाई रुपान्तरण गर्न सकिने तर्क गर्नु भएका वहाँले अग्रजको अनुभव, युवाको तागत र जोसलाई साथमा लिएर पार्टी रुपान्तरणमा आफूले समय खर्चने विश्वास दिलाउनु भयो ।
पार्टी र माटोप्रति सधैँ बफादार रहने उद्घोष गरेका शर्माले झापामा नेता कृष्ण सिटौलाको नेतृत्वमा पाँचवटै क्षेत्रमा चुनाव जित्ने गरी अघि बढ्ने बताउनु भयो । शर्माले सबै कुरा बिर्सिएर जिल्ला पार्टी नेतृत्वलाई अघि लगाएर हिँड्न र सहयोग गर्न कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।