नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ सङ्क्रमितहरुको प्लाज्मा थेरापी विधिबाट उपचारका लागि मुलुकका बिभिन्न ७ स्थानमा रगत सङ्कलन सुरु गरिएको छ । ३९ वर्षका खिमवहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा पहिलो रक्तदान गर्नुभएको छ ।
नेपाल सरकार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशन अनुसार बिभिन्न सरोकारवाला संस्थाहरुसँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटीले सेवा सुरु गरेको केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक डा। मनिता राजकर्णिकारले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी र नेपाल मेडिकल एशोसिएसनबीच रगत सङ्कलनमा सहकार्य गर्ने गरी सात बुँदे सम्झौता भएको छ । सम्झौताबमोजिम रेडक्रसले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्यागलगायत आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा प्लाज्मा बैँकको स्थापना गर्नेछ ।
कोरोना सङ्क्रमण भएर निको भएका तनहुँ घर भइ काठमाडौँ बस्दै आउनुभएका रानाभाटले अरुलाई पनि रक्तदानका लागि अनुरोध गर्दै भन्नुभयो, “मैले पहिले कहिल्यै रक्तदान गरेको थिइँन । कोरोना सङ्क्रमण निको भएपछि मेरो रगतले अरु सङ्क्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएर रक्तदान गर्न आएको हुँ ।”
चिकित्सक सङ्घले प्लाज्मा सङ्कलनका लागि कोभिड १९ सङ्क्रमण भएर निको भएका नागरिक, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विवरण सङ्कलन गरी प्लाज्मा दान गर्न दाताहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।
रेडक्रसको समन्वयनमा प्लाज्मा दान गर्ने दाताहरुको सम्मानका लागि आवश्यक तयारी गरिएको छ । स्थानीय अस्पतालसँगको सहकार्यमा नेपाल रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीमा रहेका रक्तसञ्चार सेवाले प्लाज्मा थेरापीको लागि रक्तसंकलन सुरु गरिसकेका छन् । धनुषा र पोखरामा पनि यस्तो सेवा छिटै सुरु गरिने भएको छ ।