काठमाण्डौ, मंसिर २७ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । यो पटकको महाधिवेशनमा युवा पुस्ताका महाधिवेशन प्रतिनिधिहरुको संख्या उल्लेख्य छ ।
काँग्रेसको नेतृत्व चयनमा हुने मतदानमा युवा पुस्ताका मतदाताहरुको भुमिका निर्णायक हुने देखिएको छ । महाधिवेशनका ४ हजार ७ सय ४३ मतदाताहरु मध्ये ५० बर्षदेखि कम उमेरका मतदाता प्रतिनिधिहरुको संख्या ५० प्रतिशत रहेको आँकलन गरिएको छ । यो नै काँग्रेसको नेतृत्व चयनका लागि निर्णायक हुने एक काँग्रेस नेताले बताउनु भयो ।
नेतृत्व चयनका लागि विभिन्न नेताहरुले समूह बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको भए पनि युवा प्रतिनिधिहरुले विवेक प्रयोग गर्ने र त्यसले समूहगत रुपमा चुनावी मैदानमा रहेका उम्मेद्वारहरुको प्रभाव र लोकप्रियताका हिसाबले मतदान गर्ने चितवनबाट आएका एक महाधिवेशन प्रतिनिधिले बताउनु भयो । ती प्रतिनिधिले भन्नुभयो, ‘नेताहरुले बनाएको (गुट) समूहको पछि युवा प्रतिनिधिहरु लाग्दैन, आफ्नो विवेक प्रयोग गरेर मतदान गर्छन ।’
झापाका एक महाधिवेशन प्रतिनिधिका अनुसार यो पटकको महाधिवेशनमा युवा पुस्ताका प्रतिनिधिहरुले आफ्नो भावना समेट्ने उम्मेद्वारलाई मतदान गर्नेछन ।
मंसिर २४ गते शुरु भएको महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व गर्ने महामन्त्रीका उम्मेद्वारद्वय विश्वप्रकाश शर्मा र गगन थापा आकर्षणको केन्द्रमा देखिएका छन ।
महाधिवेशनमा सभापतिका उम्मेद्वार भन्दा पनि महामन्त्रीका उम्मेद्वार शर्मा र थापाको चर्चा बढी देखिएको छ । दुई महामन्त्रीका लागि ६ जना उम्मेद्वार चुनावी मैदानमा भए पनि सबै भन्दा बढी चर्चा र आकर्षण भने शर्मा र थापा कै छ । युवा पुस्ताकै प्रदिप पौडेल सहित नेता मिनेन्द्र रिजाल, प्रकाशशरण महत र राजाराम कार्की पनि महामन्त्रीका उम्मेद्वार छन । तर उनीहरुको चर्चा शर्मा र थापाको तुलनामा कमै छ ।
दुई फरक फरक समूहबाट चुनावी मैदानमा होमिएका शर्मा र थापाले युवा र अगुवा पुस्ता दुवैको साथ पाउने देखिएको मोरङबाट आएका एक महाधिवेशन प्रतिनिधिले सुनाउनु भयो ।
नेता शेखर कोइरालाको नेतृत्वको समूहबाट थापा र रिजाल महामन्त्री उम्मेद्वार छन भने नेता प्रकाशमान सिंह नेतृत्वको समूहबाट महामन्त्रीमा शर्मा एक मात्र उम्मेद्वार हुनुहुन्छ ।