काठमाण्डौ, मंसिर २६ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार हुने निर्वाचनका लागि ३ स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी, ११ सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।
मतदाताको संख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिनु भयो ।
महाधिवेशनस्थल राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ तथा शुभेच्छुक संघ–संस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।
त्यसैगरी, भृकुटीमन्डपको प्रांगणमा प्रदेश नम्बर–२ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।
भृकुटीमण्डपको हलमा भने प्रदेश नम्बर–१, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ ।
मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमन्डप प्रांगणमा २९३ बुथ र भृकुटीमन्डपको हलमा ५१४ बुथ राखिने भएको छ । मतदान सोमबार बिहान ८ देखि बेलुका ५ बजेसम्म हुनेछ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ केन्द्रिय सदस्यको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
सोमबार हुने मतदानमा देशभरिबाट काठमाण्डौ आएका काँग्रेसका ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्नेछन ।