काठमाण्डौ, मंसिर २६ । उषा गुरुङ, त्यो नाम हो जसलाई कुनै बेला नेकपा माओबादीले सफाया गर्ने आदेश सुनाएको थियो । माओबादीले चन्दा आतंक मच्चाएका बेला सबै चुपचाप थिए । डर र त्रासका बिच माओबादीको चन्दा आतंक बिरुद्ध बोल्ने आँट गर्ने सिमित मात्रै ब्यक्ति देखिन्थे । त्यही सिमित ब्यक्तिहरु मध्ये एक हुनुहुन्थ्यो उषा गुरुङ ।
२०५९ सालमा माओबादीले गुरुङको झापा मेचीनगर ६ स्थीत घरमै पुगेर सफाया आदेश सुनाएको थियो । ‘माओबादीहरु राति घरमै आएर सफाया गर्ने भने’ त्यो बेलाको स्मरण गर्दै गुरुङले भन्नुभयो, ‘हातहतियार सहित माओबादी कार्यकर्ताहरु मेरो घरमा पसे र सफायाको आदेश सुनाए । मेरो घर रातभर रणमैदान जस्तै भयो तर पनि मैले आँट गरेर उनीहरुलाई घरबाट बाहिर निकालें ।’ माओबादीको चन्दा आतंक बिरुद्ध बोलेकै कारण आफुलाई टार्गेट गरेको गुरुङले बताउनु भयो ।
उनै सहासी महिला नेता नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेद्वार हुनुहुन्छ । युवा पुस्ता माझ लोकप्रिय नेताका रुपमा स्थापित गुरुङ संविधान सभाको सदस्य समेत रहनु भएको छ । दुवै पटक संविधान सभाको सदस्य हुने थोरै मध्ये एक हुनुहुन्छ जुझारु नेता गुरुङ ।
संविधान सभा सदस्य हुँदा बेरुजु फच्र्यौट संसदिय समितिको सभापति भएर काम गर्नु भएकी गुरुङले उक्त समितिमार्फत बेरुजु फच्र्यौटमा महत्वपूर्ण उपलब्ध हासिल गर्नु भएको थियो । निश्कलंक रुपमा सफलता पुर्वक संसदिय समितिको जिम्मेवारी पुरा गर्नु भएकी गुरुङले आदिबासी जनजाति महिला तर्फबाट केन्द्रिय सदस्यको उम्मेद्वारी दर्ता गराउनु भएको हो ।
काँग्रेसलाई सशक्त र आम मानिसको प्रिय पार्टी बनाउन आफुले उम्मेद्वारी दिएको गुरुङ बताउनु हुन्छ । २०४८ सालदेखि झापाली राजनीतिमा सक्रिय गुरुङ नेपाल तरुण दलको पुर्व केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।
२०५०/०५१ सालतिर तरुण दल मेचीनगरको सदस्य, २०५२/०५३ मा तरुण दल झापाको सदस्य र उक्त कार्यकाल सकिएलगत्तै तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नु भएकी गुरुङ काँग्रेस भित्र मात्र नभइ आम नागरिकको प्रिय नेताका रुपमा परिचित हुनुहुन्छ ।
देभभरबाट महाधिवेशनमा आउनु भएका प्रतिनिधिहरुलाई गुरुङले आफुलाई मतदान गरेर आफुलाई बिजयी गराउन समेत अपिल गर्नु भएको छ ।