काठमाण्डौ, मंसिर २६ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा हिजो भएको उम्मेद्वारी दर्तामा १३४ पदका लागि ५४८ जनाले उम्मेद्वारी दर्ता गराउनु भएको छ । सभापति पदका लागि ६ जनाले उम्मेद्वारी दर्ता गराउनु भएको छ । सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ ।
त्यस्तै दुई उपसभापतिका लागि ७ जनाले उम्मेद्वार दर्ता गराएका छन । उपसभापतिमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन ।
दुई महामन्त्रीका लागि ६ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा विश्वप्रकाश शर्मा, गगन कुमार थापा, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, राजाराम कार्की र प्रदिप पौडेल रहेका छन ।
त्यस्तै ८ सहमहामन्त्रीका लागि २० जनाले उम्मेद्वारी दर्ता गर्नु भएको छ । एक महिला सहमहामन्त्रीका लागि कमला पन्त र डिना महालक्ष्मी उपाध्याय, एक दलित सहमहामन्त्रीका लागि मानबहादुर विश्वकर्मा, जीवन परियार र गंगा सुनारको उम्मेद्वारी दर्ता भएको छ ।
त्यसैगरी एक आदिवासी जनजाती सहमहामन्त्रीका लागि विकास लामा र भिष्मराज आङदम्बे, एक खस आर्य सहमहामन्त्रीका लागि देवराज चालिसे र किसोरसिंह राठोरको उम्मेद्वारी परेको छ । एक मधेशी सहमहामन्त्रीका लागि रञ्जीत कर्ण, रामकृष्ण यादब र महेन्द्र यादब, एक मुश्लिम सहमहामन्त्रीका लागि फरमुल्ला मन्सुर र शेख वकिल, एक थारु सहमहामन्त्रीका लागि सुरेन्द्रप्रसाद चौधरी, तेजुलाल चौधरी र उमाकान्त चौधरीको उम्मेद्वारी छ ।
त्यस्तै पिछडिएको क्षेत्रबाट एक सहमहामन्त्रीका लागि बद्री पाण्डे, जीवनबहादुर शाही र चेतराज बजालले उम्मेद्वारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । काँग्रेसको १२१ केन्द्रिय सदस्यका लागि ५०९ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन तालिका अनुसार आज उम्मेद्वारी फिर्ताको समय बिहान ११ बजेसम्म राखिएको छ भने भोलि बिहान ८ बजेदेखि मतदान हुनेछ ।