काठमाण्डौ, मंसिर २५ । नेपाली काँग्रेसका नेता शंकर भण्डारीले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई बार्गेनिङ गरेर भाग खोस्ने नेताको संज्ञा दिनुभयो । ‘सिटौलाजीको काम नै बार्गेनिङ गर्ने हो, संगठन गर्नु छैन, पार्टीका लागि केही गर्नु छैन, बार्गेनिङ गर्ने भाग खोज्ने सिटौलाजीको चरित्र हो,’ नेता भण्डारीले भन्नुभयो ।
सभापति शेरबहादुर देउवा पक्षले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षसँग सम्झौता गरेपछि देउवा पक्षमा चरम असन्तुष्टि देखिएको छ । सिटौला पक्षका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेललाई समर्थन गर्ने निणर्यले आफ्नो पक्षका उम्मेदवारहरुलाई असर गर्ने भन्दै उनीहरु असन्तुष्ट भएका हुन ।
पौडेललाई समर्थन गर्नेभएपछि देउवा पक्षबाट एक जना मात्रै महामन्त्रीको उम्मेदवार बन्न पाएने भएकाले अवसरबाट बञ्चित हुने खतराका कारण असन्तुष्टि बढेको नेताहरुले नै बताएका छन । विषेश गरेर महामन्त्रीका आकांक्षीहरु बालकृष्ण खाण, प्रकाशरण महत, एनपी साउद, शंकर भण्डारीलगायतका नेताहरु रुष्ट र शशंकित भएका छन ।
नेता भण्डारीले आफुलाई अफ्ट्यारोमा साथ दिएका साथीहरुलाई पाखा लगाउने काम सभापति देउवाले गर्नुहुने छैन भन्ने अभिव्यक्तिसहित घुमाउरो तरिकाले असन्तुष्टि जनाउनु भयो ।
आज बिहान काठमाण्डौको नेपाली रेडियो नेटवर्कसंगको कुराकानीमा नेता भण्डारीले भन्नुभयो, ‘कठिन अवस्थामा र लामो समयदेखि साथ दिएका साथीहरुको अवमुल्यन सभापति देउवाजीले गर्नु हुन्छ भन्ने मलाई लाग्दैन ।’ उहाँले थप्नुभयो, ‘उहाँलाई जसरी साथीहरुले साथ दिएका छन, त्यसैगरी उहाँले पनि ती साथीहरुलाई साथ दिनुहुने छ भन्ने मलाई विश्वास छ ।’
प्रदीप पौडेलका कारण देउवा पक्षका नेताको भाग खोसिन लागेको आशय सहित उहाँले घुमाउरो तरिकाले देउवा र सिटौलाबीचको सहमतीप्रति असहमति प्रकट गर्नुभयो ।
देशलाई हिन्दु राष्ट्र बनाउनु पर्छ भन्ने मुल एजेण्डाका साथ आफुले देउवा पक्षबाट पदाधिकारीमा उम्मेदवारी दिने पनि उहाँले दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मलाई उम्मेदवार बन्न सकैले रोक्दैन, म उम्मेदवार हुन्छ, आम काँग्रेस नेता कार्यकर्ताको भावना अनुसारको एजेण्डा मसँग छ ।’‘पदिय भूमिका नपाएपनि काम गरेको छु, पद भए धेरै काम गर्छु, पद नपाए कम होला त्यत्ति हो,’ काँग्रेस नेता शंकर भण्डारीले भन्नुभयो ।