मंसिर १२ गते अपरान्ह पहिलो पटक भारतको गुजरात राज्यको राजकोट सहर पुग्ने अवसर मिल्यो । सहरमा पुग्नासाथ सडक छेउमा गाइको बथान देखियो । यसो नजिकबाट नियालेर हेर्दा त्याहा एक सय भन्दा बढी गाइहरु ब्यवस्थीत रुपमा पालिएको देखें । त्याहाँबाट केही अगाडी बढ्दै गर्दा सडककै छेउमा फेरि अर्को घरमा गाइका बथान देखे पछि भने यस बारे जानकारी लिने निधो गरें । ब्यस्त सहरका बिच बिचमा गाइ गोठ अर्थात गौशाला देखिनु मेरा लागि नौलो थियो । त्यसैले पनि यसका बारेमा जानकारी लिने इच्छा जाग्यो ।
राजकोट सहरमा मात्रै २० भन्दा बढी गौशाला रहेछन । एउटा गौशालामा १५० देखि ६०० वटासम्म दुधालु गाई पालिएको हुँदो रैछ । यति जानकारी पाए पछि केही गौशालाको ब्यवस्थापनका बारेमा जान्ने हुटहुटी जाग्यो ।
राजकोट सहर पुगेको दोस्रो दिन बिहानको हिडाइमा गौशालाका बारेमा थप कुरा बुझ्ने योजनाका साथ हाम्रो ६ सदस्यीय टोली (डम्मर कटुवाल, घनश्याम निरौला, रमेश निरौला, देबेन्द्र निरौला, मन्जु निरौला र म) निस्कियौं ।
बिहानको करीब दुइ घण्टाको हिडाइमा हामी अघिल्लो दिन देखिएको भन्दा फरक दुई गौशालामा पुग्यौं र ब्यवस्थापकिय अवस्थाका बारेमा जानकारी लियौं । राजकोट सहरका गौशालाहरुको ब्यवस्थापन दुई तरिकाबाट हुने रहेछ । पहिलो त गौशाला राजकोट सहरको सभ्यता रहेछ । त्याहाँका स्थानीयहरुले गौशालालाई आर्थिक सहयोग गर्न पाउनु गर्वको महसुश गर्दा रहेछन । त्यसैले गौशालाको आर्थिक भारको ठुलो हिस्सा आम मानिसले दिएको चन्दाबाट नै ब्यवस्थापन हुँदो रहेछ । त्यस बाहेक गौशालामा रहेका गाइले दिने दुध स्थानीय डेरी उद्योगमा जाने र त्यसबापतबाट संकलित रकम पनि गौशालामा नै जम्मा हुने रहेछ । गौशालाको ब्यवस्थापनमा त्यस बाहेक पनि आर्थिक समस्या उत्पन्न भए स्थानीय नगरपालिकाले सहयोग गर्ने ब्यवस्था रहेछ ।
गौशालामा काम गर्ने अधिकाशं ब्यक्ति ५० कटेका हुँदा रहेछन । युवा अवस्थामा अन्य केही काम गर्ने र बाहिर तिरको काम गर्न नसक्ने वा जागिरे जीवन निबृत्त भए पछि गौशालामा आएर गाइको स्याहार गर्ने काम गर्ने एक प्रकारको चलन जस्तो पनि देखियो । हामीले देखेका गौशालाहरुमो युवा अवस्थाका कामदार अत्यन्तै कम थिए ।
गौशाला सञ्चालनका लागि ट्रष्ट स्थापना गरिएको हुदों रहेछ । गाइको स्याहार सुसारमा बिषेश ध्यान दिएको पाइयो । यतिसम्म पनि कि राजकोट सहरमा गाइबस्तु वा अन्य कुनै जनावर बिरामी भएमा ब्यवस्थीत उपचार गरेर राख्नका लागि बेग्लै ब्यवस्था गरेको रहेछ ।
गौशाला भन्दा नितान्त फरक ‘महाजन पन्ज्रापुर’ नाम गरेको गाइ सहित सबै प्रकारका बिरामी पशुपंक्षी राख्ने ब्यवस्थीत संस्था पनि राजकोटमा १२५ बर्षदेखि निरन्तर क्रियाशील रहेको छ । सन १८९६ मा स्थापना भएको महाजन पन्ज्रापुरमा अहिले पनि ३ हजार ५०० भन्दा बढी पशुपंक्षी राखिएको छ । पन्ज्रापुरमा भएका कुनै पनि पशुपंशीले उत्पादन दिदैनन । यहाँ कित बिरामी पशुपंक्षी ल्याइन्छ कित दुध दिन वा उत्पादन दिन नसक्ने पशुपंक्षीलाई राखिन्छ ।
सन १८९६ मा स्थानीय अगुवा महाजन जैनले बाटोमा गाइ बिरामी भएर सिकिस्त भएको अवस्थामा देखे पछि त्यो गाई मुस्लिम समुदायले काटेर खान्छन भन्ने लागे पछि बिरामी गाईलाई मुस्लिम समुदायको हातमा पर्न दिनु हुन्न भन्ने लागेर उनै महाजन जैन सहित उनका साथिहरु चार जना मिलेर पन्ज्रापुर स्थापना गर्नु भएको महाजन पन्ज्रापुरका मेनेजर अरुण दोसीले जानकारी गराउनु भयो ।
पशु एम्बुलेन्सको ब्यवस्था ।
महाजन पन्ज्रापुरमा २४ घण्टा पशु चिकित्सकको ब्यवस्था छ । दुई चिकित्सक र सहयोगीहरु दिन रात नभनी बिरामी पशुपंक्षीको उपचारमा ब्यस्त हुन्छन । सहरमा कतै दुघट्नामा पशुपंक्षीलाई चोट लाग्यो भने पशु एम्बुलेन्सको समेत ब्यवस्था गरिएको छ ।
सोही एम्बुलेन्सले पन्ज्रापुरमा बिरामी पशुपंशी ल्याउने काम गर्छ । पन्ज्रापुरका दुइ वटा पशु एम्बुलेन्सले दैनिक जसो बिरामी पशु लिएर आउने मेनेजर दोसी बताउनु हुन्छ ।
पशु उपचार र स्याहारमा दैनिक एक लाख ६० हजार खर्च
राजकोट सहरको मध्य भागमा रहेको महाजन पन्ज्रापुरमा पशु उपचार र दाना खुवाउने लगायतमा मात्रै दैनिक एक लाख ६० हजार भारतिय रुपैया खर्च हुन्छ । करीब ४ हजार पशुपंशी भएको ठाउँमा पुग्दा कुनै फोहोर छैन । दुर्गन्ध त आउने कुरै भएन । पुर्ण ब्यवस्थीत र सफा गरी राखिएका पशुपक्षी । फोहोरलाई ब्यवस्थापन गर्न तैनाथ कर्मचारी । त्यति मात्रै होईन दैनिक दुई ट्रक भन्दा बढी गोबर निस्कने पन्ज्रापुरले त्यो गोबर स्थानीय किसानलाई बिक्रि गर्ने गरेको र त्यसको आम्दानी पनि संस्थाकै कोषमा राख्ने गरेको मेनेजर दोसीले बताउनु भयो ।
‘पन्ज्रापुर चलाउन अत्यन्तै कठिन छ’ मेनेजर दोसीले भन्नु भयो, ‘यहाँ सरकारी सहयोग छैन, चन्दाले नै ठुलो खर्च धान्नु पर्छ ।’ गौशालामा आम्दानी हुने भएकाले सञ्चालन गर्न सजिलो हुने तर पन्ज्रापुरमा पशुपंशीबाट आम्दानी नहुने भएकाले सञ्चालन खर्च धान्न गारो भएको मेनेजर दोसीले बताउनु भयो ।
जागिरे जीवनबाट सेवा निबृत्त भए पछि बिगत १० बर्षदेखि महाजन पन्ज्रापुरको मेनेजर रहनु भएका दोसीका अनुसार पशुपंशीको स्याहार, उपचार र ब्यवस्थापनमा गरी ८५ जना कर्मचारी काम गरिरहेका छन । उनीहरुको पारिश्रमिक मात्रै महिनामा ६ लाख हुने दोसीले बताउनु भयो ।
गाइलाई आमाको रुपमा हेरिने र गाइको पाल्नुलाई भगवानको सेवा गर्नु सरह ठान्ने संस्कृति बोकेका गुजरातीहरुले राजकोटका गौशाला र पन्ज्रापुरलाई सकेको आर्थिक सहयोग गर्नुलाई आफ्नो दैनिकि बनाएका छन । त्यसैले पनि यहाँका गौशालाहरु ब्यवस्थीत रुपमा सञ्चालन भएका देखिन्छन ।
गौशाला त राजकोट सहरको सभ्यता रहेछ । यो सहरको एउटा अमिट परम्परा भएको रहेछ गौशाला । गाइलाई पुजा गर्ने संस्कृति हामीसंग पनि छ तर त्यस बाहेक गाइ लगायतका पशुपंशीलाई गर्ने स्याहारमा पटक्कै ध्यान नदिने र गाईबस्तुलाई सेवा गर्ने संस्कृति हराउँदै गएको हाम्रो समाजका लागि गुजरातको राजकोट सहर प्रेरणादायी छ ।