झापा, मंसिर १ । नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पुर्याउनु भएका इतिहास पुरुष बिसे नगर्चीलाई वहाँकै जिल्ला गोरखाले समेत बिर्सिदैं गएको छ ।
गोरखा फाउन्डेसन झापाको पहलमा नगर्चीको इतिहासको खोज तथा अनुसन्धान गर्न केही दिन अघि मात्रै गोरखा भ्रमणमा गएको झापाली पत्रकारहरुको समुहले जन्मथलोमा नै नगर्ची ओझेलमा पारिएको तथ्य फेला पारेको हो ।
तत्कालिन गोरखाका राजा तथा नेपाल राज्य एकीकरणकर्ता पुथ्वीनारायण शाहलाई आर्थिक ब्यवस्थापनको तरिका सिकाएर हतियार किन्ने रकम संकलन गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएका नगर्चीलाई गोरखा जिल्लामा नै महत्व नदिएको देखिएको छ ।
नगर्चीको शालिक निर्माण गर्ने देखि लिएर नगर्ची पार्क बनाउने जमिन समेतमा पनि स्थानीय समुदायबिच तिब्र बिवाद भएको छ । गोरखा नगरपालिका वडा नं. ६ स्थीत नगर्चीको गाउँ पोखरीथोकमा रहेको वहाँको अर्ध कदको सालिक भएको स्थानले समेत उचीत संरक्षण पाएको छैन । नगरपालिकाले ब्यवस्थापन गरेको जग्गामा परियार समुदायले निर्माण गरेको नगर्चीको शालिकका बारेमा समेत दलित समुदायबिच नै अहिलेसम्म पनि बिवाद भएका करण शालिकको संरक्षण हुन नसकेको स्थानीयहरुले बताएका छन ।
शाह बंशीय इतिहासमा पृथ्वीनारायण शाहले हतियार किन्नका लागि आर्थिक ब्यवस्थापन गर्न नसकिरहेका बेला नगर्चीले नै एक रुपैयाँको ढ्याक दिएर गोरखा राज्यमा भएका सबैसंग यसरी नै ढ्याक संकलन गर्न राजालाई सुझाव दिएका थिए भनेर उल्लेख गरिएको छ ।
तत्कालिन समयमा १२ हजार घर धुरी रहेका गोरखाबासीले नगर्चीले भने अनुसार नै पृथ्वीनारायण शाहलाई एक रुपैयाँका ढ्याक दिएका थिए । सोही रकमले राजाले हतियार किनेर गरेको युद्धको तयारीले नुवाकोट र काठमाण्डौ उपत्यका राज्य एकीकरण गरेको इतिहासमा उल्लेख गरिएको छ । राजाको सवारीका बेला नगरा बजाउने काम गर्ने नगर्चीलाई आर्थिक ब्यवस्थापनमा सहयोग गरेकै कारण राजा पृथ्वीनारायण शाहले आर्थिक सल्लाहाकारका रुपमा राखेको समेत इतिहासकारहरु बताउँछन ।
इतिहासमा महत्वपूर्ण योगदान दिएका र नेपाल राज्य एकीकरणमा पृथ्वीनारायण शाहलाई समेत सल्लाहा दिएर एकीकरण अभियान सफल बनाएका नगर्चीका बारेमा गोरखा दरबार र गोरखा संग्रालय समेतमा एक अक्षर पनि उल्लेख नहुनुले राज्य संयन्त्रबाटै नगर्चीको गर्विलो इतिहासलाई मेटाउन खोजेको नगर्चीका सन्तान मध्येका एक तीलकुमारी परियारले आरोप लगाउनु भयो । ‘गोरखा संग्रालयमा राजाहरुको मात्रै इतिहास राखेको छ’ झापाका पत्रकारहरुसंग तीलकुमारीले भन्नुभयो, ‘दलित भएकै कारण बिसे नगर्चीको इतिहासले गोरखा संग्रालयमा ठाउँ पाएन ।’
नगर्चीको सालिक निर्माणका लागि पनि आफुले धेरै पटक नगरपालिका, मन्त्रालय र पुरातत्व विभाग धाउनु परेको तीलकुमारीले सुनाउनु भयो । ‘बिसे नगर्चीको इतिहासलाई बाहिर ल्याउन म धेरै लडें’ वहाँले भन्नुभयो, ‘सालिक बनाउने बेलामा मलाई थाहै दिइएन र हात नै नभएको सालिक बनाएर राखियो ।’ नगर्चीले पृथ्वीनारायण शाहलाई ढ्याक दिंदै गरेको सालिक बनाउनु पर्ने तीलकुमारीको माग छ ।
बिसे नगर्ची दलित भएकै कारण वहाँको इतिहास बाहिर ल्याउन नदिइएको नगर्चीका सन्तान शिवशंकर परियारले बताउनु भयो । ‘यत्रो इतिहास छ तर त्यसलाई बाहिर ल्याउन कोही पहल गर्दैन’ वहाँले भन्नुभयो, ‘अन्य समुदायको भए पृथ्वीनारायण शाहसंगसंगै नगर्चीको पनि इतिहास लेखिन्थ्यो ।’
बिसे नगर्चीको इतिहासलाई बाहिर ल्याउनकै लागि वहाँको सालिक राखिएको सालिक निर्माण समितिका अध्यक्ष खड्गमान श्रेष्ठले बताउनु भयो । ‘सालिक निर्माण गर्दा पनि निक्कै बिवाद भयो’ श्रेष्ठले भन्नुभयो, ‘तर हामीले सालिक निर्माण गरेरै छोड्यौं ।’
सालिक निर्माण पछि बिसे नगर्चीको इतिहासको चर्चा सूरु भएको सालिक निर्माण समितिका सचिव सोम अछामेले बताउनु भयो ।
नगर्चीको इतिहासलाई जीवन्त राख्न नगर्चीको सालिक र पार्क निर्माणमा नगरपालिकाले बजेट समेत छुट्याएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताउनु भयो । ‘नगर्चीको इतिहासको संरक्षण गर्न हामी प्रतिबद्ध छौं’ नगरप्रमुख पन्तले झापाली पत्रकारहरुसंग भन्नुभयो ।
‘इतिहासलाई कोट्याएर बाहिर निकाल्नेक्रममा नै नगर्चीको सालिक निर्माणमा सहयोग गरेका हौं’ गोरखा नगरपालिकाका उपप्रमुख बिनाकुमारी श्रेष्ठले भन्नुभयो ।
बिसे नगर्चीको इतिहास बाहिर ल्याउन सक्रिय रहनु भएका गोरखा फाउण्डेशन झापाका अध्यक्ष बिरबहादुर दर्नालको नेतृत्वमा कार्तिक २३ देखि २५ गतेसम्म झापाका १६ जना पत्रकारहरुले गोरखाको भ्रमण गरेका थिए ।