मेचीनगर, मंसिर १ । नेपाली काँग्रेस मेचीनगरका सर्बाधिक लोकप्रीय युवा नेताका रुपमा आफुलाई स्थापित गर्नु भएका रुपसागर अधिकारीले पार्टीले तयार गरेको नयाँ संरचनामा जिम्मेवारी लिएर काम गर्ने बताउनु भएको छ ।
झापा क्षेत्र नंं १ (क) बाट प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेद्वारी घोषणा गर्नु भएका अधिकारी पार्टीको संगठन निर्माणमा अत्यन्तै जुझारु युवा नेताका रुपमा परिचित हुनुहुन्छ ।
‘२०७२ को संविधान जारी भए पछि पार्टीको पहिलो पटक प्रदेश समिति बन्दैछ’ अधिकारीले भन्नुभयो, ‘पार्टीको नयाँ संरचनालाई घर घरमा परिचित गराउँदै थप बलियो संगठन बनाउन पनि मैले उम्मेद्वारी दिएको छु ।’
यस अघिको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको प्रचार प्रसारकै क्रममा क्यान्सर जस्तो प्राणघातक रोगको संक्रमणमा पर्नु भएका अधिकारी क्यान्सरलाई समेत जितेर काँग्रेसलाई जनस्तरमा बलियो बनाउन अहिले पनि दिनरात नभनी पार्टी संगठन बिस्तारमा क्रियाशिल हुनुहुन्छ ।
झापा मेचीनगर ७ इटाभट्टा निवासी ३९ बर्षीय अधिकारी बर्तमानमा पार्टीको क्षेत्रीय सहसचिवको जिम्मेवारीमा हुनुहुन्छ । पार्टीको तर्फबाट क्षेत्रको नेपाल बिद्यार्थी संघ हेर्ने गरी बिभाग प्रमुख समेत रहनु भएका अधिकारीले त्यस अघि नै नेपाली काँग्रेस मेचीनगरको दुई कार्यकाल कार्यसमिति सदस्य तथा नेपाल तरुण दलको नगर सहसचिवको जिम्मेवारी समेत कुसलता पुर्वक निर्वाह गरिसक्नु भएको छ ।
मंसिर ३ गते हुने प्रदेश सभा क्षेत्रीय अधिवेशनमा सहभागि भएर आफुलाई मतदान गरी नयाँ उर्जा सहित पार्टीमा काम गर्ने अवसर प्रदान गर्न युवा नेता अधिकारीले सबै क्षेत्रीय प्रतिनिधि, वडा सभापति र काँग्रेसका नेता कार्यकर्तालाई अनुरोध गर्नु भएको छ ।