झापा, कात्तिक ३० । ‘मैले सानो मान्छे भनेको हुँ’ काँग्रेस केन्द्रिय सदस्य केशबकुमार बुढाथोकी त्यतिखेर सत्य खोल्न बाध्य हुनुभयो जतिबेला वहाँको राजनैतिक उचाई झापामा नापिन थाल्यो । शिबसताक्षी नगरपालिकामा भएको काँग्रेसको एक कार्यक्रममा वहाँले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई सानो मान्छे भनेर टिप्पणी गर्नु भएको थियो । ‘म छ फुटको मान्छे, ऊ सानो मान्छे’ यो अभिव्यक्तिले बुढाथोकीलाई अग्लो बनाएन झुकायो । कद होचो र अग्लोको हुँदैन रहेछ । पाँच फुटको उचाई नभएका शर्मा पार्टी जिम्मेवारीका दृष्टिले निक्कै अग्ला हुनुहुन्छ । शर्मा पार्टी प्रवक्ता हुनुहुन्छ। वहाँले बोलेकोे कुरा काँग्रेसको आधिकारिक धारणा हुन्छ । बुढाथोकी केन्द्रिय सदस्य हुनुहुन्छ, वहाँले बोलेको कुरा बैठकमा चर्चा हुन्छ ।
फरक यहीँ थियो । बुढाथोकीले शर्मालाई किन सानो मान्छे भन्नुभयो, बोलेको एक साता पछि वहाँले स्पष्टिकरण दिनु पर्यो । झापा काँग्रेसमा बुढाथोकीको चर्को आलोचना भएपछि मैले बोलेकै हो भनेर वहाँले सञ्चार माध्यम गुहार्नु भयो । आफ्ना प्रिय पात्र देउमान थेवेलाई झापा काँग्रेसको सभापति बनाउन बुढाथोकी प्रयत्नरत हुनुहुन्छ । १३ औँ महाधिवेशनको बेला ०७२ फागुन १५ गते झापाली काँग्रेसले ९ बुँदे सहमति गरे । ९ बुँदाको पहिलो नम्बरमा लेखिएको छ, ‘सभापति पदका उम्मेदवार देउमान थेवेले सभापति पदमा सर्वसम्मत गराउन गरेको त्यागलाई उच्च मुल्याङ्कक गर्दै उहाँको राजनैतिक भूमिकालाई सम्बद्र्धन गर्ने ।’ यही वाक्यांशलाई नेता कृष्ण सिटौला पक्षधर र केन्द्रिय सदस्य बुढाकोकीले बङ्ग्याउनु भयो । र, सार्वजनिक रुपमा भन्नुभयो, ‘देउमानलाई सभापति बनाउने सहमति भएको छ ।’ १३औँ महाधिवेशनका बेला गरिएको यो सहमति कसैलाई सभापति बनाउने प्रकिृतिको छैन । केवल राजनैतिक योगदानलाई सम्बद्र्धन गर्ने विषयमा केन्द्रित छ ।
केन्द्रिय सदस्य बुढाथोकीले यही सहमतिलाई विश्वप्रकाशले तोडेको भन्दै सार्वजनिक अभिव्यत्ति दिएपछि वहाँको कद नापिएको हो । बुढाथोकीले मात्रै यस्तो अभिव्यक्ति दिनु भएको होइन । कात्तिक १७ गते गौरीगञ्जको गाउँ पार्टी कार्यालय उद्घाटन गर्दै काँग्रेस झापा सभापति उद्धव थापाले शर्माले सहमति तोडेको बताउनु भयो ।
थापाले सार्वजनिक रुपमा दिएको यो अभिव्यक्ति पनि ९ बुँदे सहमति भन्दा विपरित भएको झापा काँग्रेसका पुराना नेता अम्बिका रिजालको टिप्पणी छ । बुढाथोकी, थापासँगै काँग्रेस वैकल्पिक केन्द्रिय सदस्य सुधिरकुमार शिवाकोटीले ९ बुँदे सहमतिदेखि बाहेक १ बुँदे सहमति भएको र त्यसमा देउमानलाई सभापति बनाउने लेखिएको बताउने गरेका छन । तर, त्यो सहमतिपत्र हराएको भन्दै वहाँहरु पन्सिरहनु भएको छ । पछिल्लो पटक अर्का काँग्रेस वैकल्पिक केन्द्रिय सदस्य गोपालकुमार बस्नेतले सोमबार १५औँ महाधिवेशनमा राम कट्टेललाई सभापति बनाउन सकिने सार्वजनिक अभिव्क्ति दिएर होचो मान्छले, सहमति उल्लङ्घन गर्यो भन्ने कुरालाई विषयान्तर गर्न खोज्नु भएको छ ।
पटकपटक शर्मा माथि आरोप लागेपछि राम कट्टेल पक्षधरले कात्तिक २६ गते बिर्तामोडमा पत्रकार सम्मलेन गरेर ९ बुँदे सार्वजनिक गर्यो । सो सहमति सार्वजनिक भएपछि नेता सिटौलाको भित्री समर्थन रहेको थेवे पक्ष आफ्नो बचावटमा लागेको छ । सभापति थापाले प्रतिनिधि छनौटमा अन्तर पार्टीको जस्तो विवाद नगरौँ भनेर अभिव्यक्ति दिनु भएको छ । जसको अभिप्राय आपूm पक्षधरको बचावट गर्ने उपाय भएको झापा काँग्रेसका नेताको टिप्पणी छ । ‘झापामा योगदानको होइन, प्रदक्षिणाको मुल्याङ्कन हुन्छ’ शर्मा पक्षीय ती नेताले भन्नुभयो, ‘हुँदै नभएको सहमतिलाई शर्माले हस्ताक्षर गरेर उल्लङ्घन गरे भनेर आरोप लगाइयो, जसको परिणणाम अहिले थेवे पक्ष बचावटमा छ ।’ यद्यपि थेवेले यो विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन ।
थेबेले नेताहरुको समहतिका विषयमा आफूले नवोल्ने अभिव्यक्ति दिने गर्नु भएको छ । तर, वहाँका अग्रज बुढाथोकी भने थेवेलाई सभापति बनाउने सहमति भएको टिप्पणी गर्न अग्रसर हुनुहुन्छ । यसले होचो मान्छेको होइन, अग्लो मानछेको कद घटाइरहेको काँग्रेस झापाका एक युवा नेताको टिप्पणी छ । शर्माले यो विषयमा टिप्पणी गरिराख्नु नपर्ने अभिव्यक्ति दिएर आफ्नो राजनैतिक उचाई बढाएको झापा काँग्रेसका अर्का एक युवा नेताको भनाई छ । वहाँले भन्नुभयो, ‘नभएको सहमतिलाई भएको भनेर व्याख्या गरिनु र सार्वजनिक टिप्पणी गर्नु उपल्लो नेतृत्वका लागि आफ्नै कद छोट्याउने कदम हो ।’ राम कट्टेलको जनमत बढ्दै गएपछि थेवेलाई सभापति बनाउन लागि परेका नेताहरु अतालिएको काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरुले टिप्पणी गर्ने गरेका छन ।