मेचीनगर, कार्तिक २८ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मंसिर ३ गते हुने प्रदेश सभा प्रदेश अधिवेशन अधिवेशन अन्तर्गतको झापा क्षेत्र नंं १ (ख) प्रदेश सभाको सभापति पदका उम्मेद्वार बिष्णुप्रसाद रिमाल अन्य प्रतिस्पर्धीको तुलनामा सबैभन्दा कान्छा उम्मेद्वार हुनुहुन्छ ।
काँग्रेसमा युवा पुस्ताको बलियो उपस्थिति आवश्यक छ भनिरहेका बेला मेचीनगर १२ का रिमाल जस्ता युवा पुस्ताका कार्यकर्ताहरुले नेतृत्व गर्ने अवसर पाए काँग्रेसको संगठन बलियो बन्ने अवस्था आउने विश्वास गर्न सकिन्छ ।
उनै झापा क्षेत्र नं. १ ख का सभापति पदका उम्मेद्वार ३८ बर्षिय रिमालसंग अधिवेशनका सन्धर्भमा सेतोपत्रका सम्पादक ज्ञानेन्द्र निरौलाले गरेको ५ प्रश्नको उत्तर यहाँ प्रस्तुत गरिएको छ ।
१) तपाइको उम्मेद्वारी किन ?
काँग्रेसलाई सबैखाले निर्वाचन जिताउन । यस क्षेत्रको प्रतिनिधि सभा देखि प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई बिजयी गराउन मेरो उम्मेद्वारी हो । हामी जस्ता युवाहरुले संगठनलाई चलायमान बनाउन सक्छौं र आम मतदातालाई काँग्रेसमा भोट हाल्न बनाउन सक्ने भएकाले नै पनि पार्टीको प्रदेश सभा क्षेत्रको सभापति पदमा आफुलाई उभ्याएको छु ।
२) तपाइको जित्ने आधार के छ ?
मेरो मेहनत र क्षेत्रीय प्रतिनिधिहरुको विश्वास नै मेरो जितको मुख्य आधार हो । मैले बिगतदेखि नै पार्टी संगठन निर्माणका लागि गर्दै आएको मेहनत र क्षेत्रीय प्रतिनिधिहरुले म माथि गरेको विश्वासका आधारमा नै म चुनाव जित्छु भन्ने ठाउँमा पुगेको छु ।
३) तपाइलाई नै भोट किन दिने ?
युवा पस्ताको प्रतिनिधित्व गर्छु र गाउँ केन्द्रित नेतृत्व स्थापित गर्न पनि मलाई भोट दिनु पर्छ । यस बाहेक पनि मलाई किन भोट दिने भनेर केही समय अघि मैले ११ बुंदे अपिलमा सार्वजनिक गरेको छु ।
४) चुनावी तयारी कस्तो छ ?
चुनावी तयारी अत्यन्तै उत्साहजनक छ । सबै क्षेत्रीय प्रतिनिधिहरुलाई घर घरै पुगेर भेटेको छु । म्यासेज र फोन मार्फत नियमित सम्पर्कमा छु । मलाई नेतृत्वमा पुर्याउँदा नेपाली काँग्रेस चलायमान हुन्छ भन्ने कुराको विश्वास दिलाउन सकेको छु । त्यसैले चुनावी तयारी राम्रै छ भन्छु ।
५) चुनाव जित्नु हुन्छ ?
जित्छु । मंसिर ४ गते बधाइ दिन पाउनु हुन्छ ।