झापा, कार्तिक १८ । इतिहास पुरुष बिसे नगर्चीका नामबाट राष्ट्रियस्तरको पुरस्कार स्थापना हुने भएको छ । नेपाल एकीकरण अभियानमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहाकार बिसे नगर्चीको नामबाट सम्मान तथा पुरस्कार बितरण गरिने भएको हो ।
गोर्खा फाउण्डेशन बिर्तामोडद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा देशभरिका विभिन्न बिधामा कृयाशिल राष्ट्र र समाजलाई विशेष योगदान पुर्याउने दलित तथा गैर दलित समुदायका ब्यक्तित्वलाई यो पुरस्कारद्वार सम्मान गरिने फाउण्डेशनका संस्थापक वीरबहादुर दर्नाल (वीरु) ले जानकारी दिनु भयो । साथै प्रभासको भारतका सिक्किम, आसाम दार्जिलिङलगायतका नेपाली भाषि दलित समुदायलाईसमेत उक्त पुरस्कारदरा सम्मान गरिने दर्नालले बताउनु भयो ।
तत्कालिन गोरखा दरबारमा नगरा बजाउने दमाई जातिका नगर्चीले गोरखा नेपाल एकीकरण अभियानका क्रममा राजा पृथ्वीनारायण शाहलाई आर्थिक संकट परेका बेलामा उपयुक्त सल्लाहा दिएर हतियार किन्ने रकम जम्मा गर्न राजालाई सहयोग गर्नु भएको थियो ।
नगर्चीले आफुसङ भएको एक रुपैया समर्पण गरेर राज्यमन १२०० सय घर धूरीबाट एक एक रुपैया उठाउँदा हतियार किन्न आवश्यक रकम जम्मा हुने सल्लाह दिनु भएको थियो । सोही अनुसार गरेर राजाले गोरखा राज्य बिजय हासिल गर्न सफल भएको ईतिहासमा उल्लेख छ । नगर्चीले एक रुपैयाँ दिएर र लडाईका क्रममा फौजलाई उर्जा दिन कहिले नगरा बजाएर त कहिले संगित सुनाएरसमेत गोरखा राज्य एकिकरणमा योगदान दिनु भएको थियो भन्ने इतिहासमा उल्लेख गरिएको पाईन्छ ।
गोर्खा फाउण्डेशन मुख्य आयोजक र झापाका १५ वटै स्थानीय पालिका यस कार्यक्रमका सह आयोजक बन्न आवश्यक पहल गरिने पत्रकार सम्मेलनमा बताईएको थियो । झापाको गौरव राख्न सक्ने राष्टृय स्तरको कार्यक्रम र राष्ट्रिय ब्यक्तित्वको नामबाट कार्यक्रम गरिने भएकोले सबै क्षेत्र, संघ संस्था एवम नागरिक समाजलाई अपनत्व हुने गरि सबैको साझा कार्यक्रमको रुपमा थालनी गरिएको पत्रकार सम्मेलनमा फाउण्डेशनका महासचिव रन्जित परियारले बताउनु भयो । आगामी पौषको दोश्रो साता झापामा उक्त पुरस्कार तथा सम्मान बितरण कार्यक्रम गरिने भएकोछ ।
गोरखा जिल्लाको गितार डाडामा २०७५ सालमा उनै इतिहास पुरुष नगर्चीको सालिक समेत स्थापना गरी स्थानीय पालिकाको सहयोगमा पार्क समेत निर्माण गरिएको छ ।