काकरभिट्टा, साउन २६ ।
महिलाहरुले बिशेष रुपमा मनाउने महान पर्व हरितालिका तीजको अवसर पारेर रेडियो साथी झापाले बिवाहित महिलाहरुको एकल नृत्य प्रतियोगिता सञ्चालन गरेको छ ।
कोरोना भाइरसको संक्रमण जोखिमका कारण प्रतियोगितालाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने गरी भिडियो मार्फत प्रतियोगिता आयोजना गरिएको रेडियो साथीका कार्यक्रम निर्देशक जि आर धितालले बताउनु भयो ।
प्रतियोगिता अन्तर्गत बिवाहित महिलाहरुले तीजको गीतमा एकल नृत्य प्रस्तुत गरी रेडियो साथीमा पठाउनु पर्नेछ । उक्त भिडियोलाई रेडियो साथीको फेसबुक पेज मार्फत सार्वजनिक गरिनेछ । पेजमा सबैभन्दा बढी हेरिएको तथा शेयर गरिएको र निर्णायकले गरेको निर्णयको आधारमा प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रोलाई नगद पुरस्कार ३०००।–, २०००।– र १०००।– दिने तीज बुहारी एकल नृत्य प्रतियोगिता २०७७ का संयोजक करिना पौडेलले बताउनु भयो ।
प्रतियोगितामा सहभागि हुने बिवाहित महिलाले साउन मसान्तसम्म रेडियो साथीको फेसबुक मेसेन्जर वा इमेल [email protected] मा भिडियो पठाउनु पर्ने संयोजक पौडेलले बताउनु भयो । पौडेलका अनुसार साउन २५ गतेदेखि रेडियो साथीको फेसबुक पेज मार्फत तीज नृत्य प्रतियोगिताका भिडियोहरु सार्वजनिक भइरहेको छ ।
कोरोनाको संकटका बेला समेत आफ्नो परम्परा र संस्कृतिको संरक्षणका लागि तीज बुहारी एकल नृत्य प्रतियोगिता २०७७ आयोजना गरेको रेडियो साथीका अध्यक्ष पुनम प्रधानले बताउनु भयो । अध्यक्ष प्रधानले महिलाहरुलाई भिडियो पठाएर प्रतियोगितामा सहभागि हुन पनि आग्रह गर्नु भएको छ ।
भिडियो मार्फत प्रतियोगिता हुने भएकाले बिश्वका जुनसुकै ठाउँबाट भिडियो पठाएर सहभागि हुन सक्ने संयोजक पौडेलले बताउनु भयो । भदौको पहिलो साता प्रतियोगिताको बिजयीहरु सार्वजनिक गरिने पौडेलले जानकारी दिनु भयो ।