झापा, कार्तिक १६ । झापा मेचीनगर १२ धाइजनका राजन चिमरियाले आफ्नो जन्मदिनको अवसर पारेर मेचीनगरका ३७ वटा बिपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिनु भएको छ ।
रकम अभावकै कारण उपचार गर्न नसक्ने परिवारलाई स्वास्थ्य बीमा गरेर आफ्नो ४८ औं जन्मदिन मनाएको चिमरियाले सेतोपत्रलाई बताउनु भयो । ‘३० औं जन्मदिनदेखि हरेक बर्ष गरीब तथा बिपन्न परिवारको सेवा गरेर जन्मदिन मनाउने गरेको छु’ चिमरियाले भन्नुभयो, ‘आज पनि ३७ बिपन्न परिवारको स्वास्थ्य बीमाको रकम उपलब्ध गराएर जन्मदिन मनाएँ ।’
मंगलबार मेचीनगर १० स्थीत नागरडुब्बामा ह्रदय राजबंशीको घर परिषरमा आयोजित स्वास्थ्य बीमाको रकम हस्तान्तरण कार्यक्रमकाबीच चिमरियाले ३५०० का दरले ३७ परिवारका लागि एक लाख २९ हजार पाँच सय रुपैया सम्बन्धीत वडाका स्वास्थ्य बीमा अभिकर्ताहरुलाई हस्तान्तरण गर्नु भएको थियो ।
ऋतिका डेरी उद्योगका सञ्चालक तथा नेकपा माओबादी केन्द्रका नेता समेत रहुन भएका चिमरियाले आगामी दिन पनि आम नागरिकको सेवामा समर्पित भएर अन्य काम गर्ने बताउनु भयो ।
माओबादी केन्द्र मेचीनगर १० का इन्चार्ज दलबहादुर कट्टेलको सभापतित्व तथा पार्टीका केन्द्रिय सल्लाहाकार सदस्य मुकुलचन्द्र राजबंशीको प्रमुख आतिथ्यतामा भएको स्वास्थ्य बीमा रकम हस्तान्तरण कार्यक्रममा माओबादी केन्द्रका क्षेत्रिय इन्चार्ज श्यामबिर लिम्बु सौभाग्य, प्रदेश १ का सदस्य डिल्लीराम घिमिरे हिक्मत, पत्रकारहरु ज्ञानेन्द्र निरौला र पर्वत पोर्तेलले मन्तब्य राख्दै चिमरियाको कामले सरकारलाई समेत ध्यानाकर्षण गराएको बताउनु भएको थियो ।
माओबादी केन्द्रका मेचीनगर १० का अध्यक्ष कृष्ण कौशलको सञ्चालन रहेको कार्यक्रममा जिल्ला सचिवालय सदस्य प्रकाश भण्डारी, माओबादी केन्द्रका मेचीनगर संयोजक पुष्प गुरागाई, ज्ञानेन्द्र घिमिरे, राजु दाहाल, बिनोद मण्डल, हरि निरौला सहितका नेताहरुको सभागिता रहेको थियो ।