झापा, कार्तिक १४ । नेपाली काँग्रेस मेचीनगर वडा नं. ९ वडा समितिले वडामा रहेका बिपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिएको छ । वडा समितिले आयोजना गरेको चार्डपर्वको शुभकामना आदानप्रदान कार्यक्रमकाबीच शनिबार मेचीनगर ९ का स्थानीय समेत रहनु भएका नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ५ जना विपन्न परिवारलाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गर्नु भएको छ ।
राजनितिभन्दा माथि उठेर सामाजिक सेवामा समेत दलहरु क्रियाशील हुनु पर्छ भन्ने मान्यताका साथ पहिलो चरणमा वडाका ५ वटा बिपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिएको काँग्रेस मेचीनगर ९ का वडा सभापति उद्धब बानियाँले बताउनु भयो । सोही कार्यक्रममार्फत काँग्रेस वडा समितिले मालद्विपमा सम्पन्न साफ प्रतियोगितामा उपबिजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम सदस्य मेचीनगर ९ निवासी पुजन उपरकोटीलाई समेत सम्मान गरेको थियो ।
राष्ट्रिय फुटबल खेलाडी पुजन उपरकोटीलाई सम्मान गर्दै नेता शर्मा ।
काँग्रेस वडा समितिले पार्टीभन्दा बाहिरका वा अन्य दलसंग आस्था राख्ने थुप्रै अग्रजहरुलाई समेत कार्यक्रममा सम्मान गरेको थियो । त्यसमा कविशिरोमणी माविका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणी पौडेल, सेवा निबृत्त हुनु भएका शिक्षकहरु, सेवा निबृत हुनु भएका प्रहरी लगायतलाई काँग्रेस मेचीनगर ९ ले सम्मान गरेको थियो ।
वडा सभापति बानियाँको सभापतित्व तथा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले अब राजनितिक दलहरुले बर्षै भरि राजनिति मात्रै गर्ने संस्कारलाई अन्त्य गरेर सामाजिक विभेदका बिरुद्ध राजनितिभन्दा माथि उठेर अभियान सञ्चालन गर्नु पर्ने बताउनु भयो । वहाँले भन्नुभयो, ‘अब दलहरुको काम बाह्रैमास राजनितिमात्रै गर्ने हुनुहुन्न, दलिय राजनितिभन्दा बाहिर सामाजिक सेवालाई प्राथमिकतामा राख्नु पर्छ ।’
कार्यक्रममा काँग्रेस झापाका उपसभापति तथा आसन्न महाधिवेशनमा सभापति पदका उम्मेद्वार राम कट्टेल, क्षेत्रिय सभापति मणिकुमार उप्रेती, महासमिति सदस्य अशोककुमार पोखरेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठान धुलाबारीमा सम्पन्न कार्यक्रमको सञ्चालन काँग्रेस वडा सचिवद्वय बिक्रम खतिवडा र डिल्ली न्यौपानेले संयुक्त रुपमा सञ्चालन गर्नु भएको थियो ।