झापा, कार्तिक १० । नेकपा एमालेको मेचीनगर अधिवेशनले मेचीनगरकी कार्यपालिका सदस्य लक्ष्मी तामाङलाई धोकेबाज भनि लगाएको आरोप प्रति नेकपा एकीकृत लिखित सामाजवादीले गभ्भिर आपत्ति जनाएको छ । नेकपा एसकी सदस्य तामाङलाई एमालेले लगाएको आरोपप्रति प्रतिक्रिया दिंदै नेकपा एसका केन्द्रिय सदस्य तथा झापा सहइन्चार्ज अशेष घिमिरेले कम्युनिष्ट आन्दोलनका गद्दारहरुले लगाएको नक्कली आरोपको कुनै अर्थ नभएको बताउनु भयो ।
सेतोपत्रसंगलाई लिखित प्रतिक्रिया दिंदै केन्द्रिय सदस्य घिमिरेले भन्नुभयो, ‘ कम्युनिष्ट आन्दोलनलाई तोडफोड गरी प्राप्त उपलब्धीलाई माफिया, विचौलिया र दलाल पुंजिपतिहरूको पक्षमा दुरूपयेग गर्ने श्रमजिवि जनताप्रति घात गर्ने गद्दारीबारे चूं नबोल्ने दास मानसिकताका बाहकहरूले नेकपा एसमार्फत कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्ने लक्ष्मी तामाङजस्ता अगुवाहरूलाई अराजनीतिक अमर्यादित आरोप लगाउनु जो चोर उसको ठूलो स्वर भनेजस्तै मात्रै हो ।’
कम्युनिस्ट आन्दोलनको जनपक्षिय निष्ठा र प्रतिबद्धतालाई चुनाव चिन्ह र नाममा षडयन्त्रपूर्ण तरिकाले कैद गरेर जनविरोधि धन्दाका उस्तादहरूका नक्कली आरोपहरू स्वतः खारेजयोग्य भएकाले यसबाट नेकपा एस र न्यायप्रेमी पंक्ति किंचित विचलित नहुने घिमिरेले बताउनु भयो ।
नेकपा एमालेले कम्युनिष्ट आन्दोलन, देश, जनता, संविधान र लोकतन्त्र माथि अवाञ्छित, अनैतिक र निर्लज्ज हमला गरेर कम्युनिष्ट आन्दोलनलाई तोडफोड गरी भ्रष्ट र माफियाहरुलाई बुझाएको घिमिरेले आरोप लगाउनु भयो ।
मंगलबार धुलाबारीमा सम्पन्न नेकपा एमाले मेचीनगरको प्रथम अधिवेशनले सुर्यचिन्हबाट विजयी भएर पार्टी विभाजनको पक्षमा लागेको भन्दै नगर कार्यपालिका सदस्य तामाङलाई विश्वासघाती र धोकेबाज भनेको थियो ।