काठमाडौं, कार्तिक १० । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति सर्ने निश्चित भएको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समिति र पदाधिकारीबीच संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा मंसिर भित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई निर्देशन दिनु भएको हो ।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले कांग्रेस पदाधिकारी बैठकमा मंसिर नकटाइ कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन भएको जानकारी दिनु भयो । श्रेष्ठले अब निर्वाचन समितिको बैठक बसेर कार्यतालिकाबारे थप छलफल गर्ने बताउनु भयो ।
‘मंसिर नकटाइ महाधिवेशनको कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन भएको छ, अब निर्वाचन समितिको बैठकमा कार्यतालिकाबारे थप छलफल हुन्छ,’श्रेष्ठले भन्नुभयो ।
बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने महाधिवेशन गर्ने नै हो भने तत्काल केन्द्रीय समिति बैठक डाक्न सभापति देउवालाई आग्रह गरेका गर्नु भयो ।
वहाँले महाधिवेशनका लागि विभिन्न समितिहरु बनाउनु पर्ने भन्दै केन्द्रीय समिति राखेर महाधिवेशनबारे थप निणर्य गर्न सभापतिलाई आग्रह गर्नु भएको हो । बैठकमा निर्वाचन समितिले भने निर्धारित मितिमा अब महाधिवेशन गर्न सकिने सम्भावना नरहेको बारे पदाधिकारीहरुलाई जानकारी गराएको थियो ।
कांग्रेसले हालसम्म ७७ जिल्ला मध्ये ६४ जिल्लामा मात्रै वडा अधिवेशन गरेको छ । बाँकी १३ जिल्लामा अझै पनि वडा अधिवेशन शुरु हुने वातावरण बनेको छैन । कांग्रेस नेताहरु भने छठपछि मात्रै बाँकी वडा अधिवेशन गर्ने मनस्थितिमा छन् । प्रदेश नम्बर २ का ८ जिल्लासहित डोल्पा, सुर्खेत, कैलाली, बाँके र रसुवामा वडा अधिवेशन भएका छैनन् । तीमध्ये रसुवा र रौतहटको क्रियाशील सदस्यतासमेत टुंगो लाग्न बाँकी छ ।
हाम्राकुराबाट ।