झापा, कार्तिक ९ । अफगानिस्तानले आईसीसी टी–२० विश्वकप क्रिकेटमा शानदार शुरूआत गरेको छ । हिजो अफगानस्तानले देखाको खेलका कारण क्रिकेटमा बलिया मानिएका टिमहरु तर्सिएका छन । विश्वकप उपाधी दाबी गरिरहेका देशहरुले अफगानस्तानको प्रदर्शनका कारण उसंगको भिडन्तमा समाल्हिएर खेल्ने रणनिति बनाएको क्रिकेट पण्डितहरुले बताएका छन ।
यूएईको शारजाहमा सोमबार राति सम्पन्न खेलमा स्कटल्याण्डलाई १ सय ३० रनको फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तानले आक्रामक शुरूआत गरेको हो ।
अफगानिस्तानले दिएको १९१ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड १०.२ ओभरमा अलआउट हुँदै ६० रनमा समेटियो । स्कटल्याण्डका तीन खेलाडीले मात्र दोहोरो स्कोर खडा गरेको इनिङ्समा ओपनर जर्ज मुन्सेले १८ बलमा २५ रन जोडे । क्रिस ग्रेभिसले १२ तथा कप्तान कायल कोट्जरले १० रन बनाए ।
पाँच खेलाडीले रनको खाता पनि खोल्न सकेनन् । अफगानिस्तानका मुजिब उर रहमान एक्लैले २० रन खर्चेर ५ विकेट लिए । त्यस्तै राशिद खानले २.२ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । नवनि उल–हकले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४ विकेटको नोक्सानीमा १९० रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबुल्लाह जाड्रनले ३४ बलमा ५९ रन बनाए ।
रहमानउल्लाह गुर्बाजले ३७ बलमा ४६ तथा ओपनर हज्रातउल्लाह जाजईले ३० बलमा ४४ रन बनाए । मोहम्मद शाहजादले २२ रन जोड्दा कप्तान मोहम्मद नाबीले ४ बलमा नटआउट रहँदै ११ रन बनाए । कमजोर बलिङ गरेको स्कटल्याण्डका लागि सफ्यान शरिफले २ तथा जोस डेभी र मार्क वाटले १–१ विकेट लिए ।
अफगानिस्तान जितसँगै महत्वपूर्ण २ अंक बटुल्न सफल भएको छ । समूह २ मा अफगानिस्तान शीर्ष स्थानमा रहेको छ । भारतलाई १० विकेटले हराएको पाकिस्तान २ अंकबाट दोस्रो स्थानमा रहेको छ । यो समूहबाट भारत र स्कटल्याण्ड अंकविहीन छन् । टिम न्यूजिल्याण्डले भने अझै खेलेको छैन । छैटौं टिम नामिबियाले पनि एक खेल पनि खेलेको छैन ।