झापा, कार्तिक ९ । नेकपा एमालेको पालिका (गाउँ/नगर) अधिवेशन आज हुँदैछ । एमालेले आज देशैभर एकै दिन पालिका अधिवेशन गर्दैछ । यस अघि कार्तिक ६ गते वडा अधिवेशन सम्पन्न गरेको एमालेले आज पालिका अधिवेशन सम्पन्न गर्ने तालिका सार्वजनिक गरेको थियो ।
पुर्वी किनारको नगर मेचीनगरमा एमालेको नगर अधिवेशन आज धुलाबारीस्थीत पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठानमा हुने एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले सेतोपत्रलाई जानकारी दिनु भयो । एमाले मेचीनगरको नेतृत्वका लागि पाँच जनाले दाबी गर्नु भएको छ । नगरका कमिटिका बर्तमान अध्यक्ष पोखरेल र सचिब कृष्ण कनालले आगामी नगर नेतृत्वको दाबी गर्नु भएको छ । त्यस्तै एमाले नेताहरु भुपाल सिवाकोटी, प्रल्हादमणी ओली र अर्जुन कार्कीले नगरको अध्यक्षमा दाबी गर्नु भएको छ ।
संक्रमणको बेला पार्टीलाई सहि दिशामा अगाडी बढाउन आफुले अध्यक्ष दोहोर्याउने मनस्थीति बनाएको बर्तमान अध्यक्ष पोखरेलले सेतोपत्रलाई बताउनु भयो । ‘अहिले हामी नयाँ सिराबाट पार्टीलाई संगठित गर्दैछौं’ काकरभिट्टा निवासी पोखरेलले भन्नुभयो,‘अब एक कार्यकाल नगर अध्यक्षको जिम्मेवारी लिएर काम गर्छु ।’
नगर कमिटिको सचिव भएर लामो समय काम गरिसके पछि नगर अध्यक्षमा दाबी स्वभाविक हुने कनालले बताउनु भयो । ‘नगर सचिब भएर ८ बर्ष काम गरिसकें’ कनालले सेतोपत्रसंग भन्नुभयो, ‘नगर अध्यक्षमा पहिलो दाबी नै मेरो हुन्छ ।’ मेचीनगर १० धुलाबारी निवासी कनालका अनुसार एउटै पदमा लामो समय काम गरेकाहरुलाई अपग्रेट गरिनु पर्छ ।
मेचीनगर ६ काकरभिट्टा निवासी पार्टीको पुर्व क्षेत्रीय कमिटि उपसचिव समेत रहनु भएका भुपाल सिवाकोटीले उम्मेद्वारहरु मध्ये नगर अध्यक्षका लागि आफु परिपक्क भएकाले नगरको नेतृत्व आफुले पाउनु पर्ने दाबी गर्नु भयो । ‘पार्टीको टोल, वडा कमिटि हुँदै क्षेत्रीय कमिटिमा समेत काम गरेको छु’ सिवाकोटीले सेतोपत्रसंग भन्नुभयो, ‘अनुभवका आधारले पनि पार्टी ब्यवस्थीत सञ्चालन गर्न सक्छु त्यसैले नगर अध्यक्षका लागि सबैभन्दा उपयुक्त छु ।’
मेचीनगर ७ जोरसिमलका एमाले नगर कमिटिका सचिवालय सदस्य प्रल्हादमणी ओलीले एमालेको मेचीनगर अध्यक्षमा सबैभन्दा बलियो दाबेदारी आफ्नै रहेको बताउनु भयो । ‘म नगर अध्यक्षको सबैभन्दा बलियो उम्मेद्वार हो’ ओलीले सेतोत्रपसंग भन्नुभयो, ‘सर्बसम्मत हुने सकेन र चुनावमा जानु पर्ने हुँदा पनि मेरो उम्मेद्वारी रहन्छ ।’
नगरको नेतृत्व गरेर पार्टीलाई चलायमान बनाउने क्षमता भएकैले आफुले नगर अध्यक्षमा दाबी गरेको मेचीनगर ४ बाहुनडाँगी निवासी अर्जुन कार्कीले बताउनु भयो । ‘नगर अध्यक्ष चलाउने क्षमता छ त्यसैले दाबी गरेको हुँ’ कार्कीले सेतोपत्रसंग भन्नुभयो, ‘अब पार्टीलाई पुरानै तरिकाबाट चलाएर संगठन निर्माण हुँदैन नयाँपन दिनु पर्छ त्यसैले नगर नेतृत्वमा मेरो दाबी हो ।’
नगर अधिवेशनलाई सम्पन्न गर्न एमाले नेता हरिचरण बानियाँको संयोजकत्वमा पालिका समन्वय समिति गठन गरेको छ । नगर अधिवेशनको कमिटि गठनलाई सहजीकरण गर्न समन्वय समितिले भुमिका खेल्ने संयोजक बानियाँले सेतोपत्रलाई जानकारी दिनु भयो । ‘मतदानबाट नगर नेतृत्वमा छनौट हुने सभ्भावना छैन’ बानियाँले भन्नुभयो, ‘आकाँक्षी र पार्टी नेतृत्वबिच छलफल गरेर सर्बसम्मत नेतृत्व छनौट हुन्छ ।’
नगरका प्रत्येक वडाबाट पार्टी सदस्य संख्याका आधारमा खुल्लाबाट १० बराबर एक जना र महिला, आदिबासी जनजाती, दलित, मधेशी, अल्पसंख्यक लगायतका क्लष्टरबाट ५ बराबर एक जना हुने गरी छनौट भएका करीब ७०० नगर प्रतिनिधिहरु सहभागि हुने एमाले मेचीनगरको अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र ७० जना नगर सदस्य गरी ७५ सदस्यीत नगर कमिटि गठन गर्नेछ । नगरकमिटिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रविन कोइरालाले मेचीनगर अधिवेशनको उदघाटन गर्नु हुने अध्यक्ष राजु पोखरेलले जानकारी दिनु भयो ।