झापा, कार्तिक ८ । नेपालको कम्युनिष्ट आन्दोलन भ्रष्ट ब्यक्ति र पुँजीबादको कब्जामा पुगेको वाम बुद्धिजीवीहरुले बताएका छन । सोमबार झापाको काकरभिट्टामा आयोजित ‘नेपालमा वाम आन्दोलन ः वर्तमान र भविश्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वाम बुद्धिजीवी तथा प्राध्यापक डा खगेन्द्र प्रसाईले कम्युनिष्ट पार्टी भित्र दुःखी, पिडित र सिमान्तकृत नागरिकहरुको बारेमा छलफल नै हुन छोडेको र ठुला ब्यापारी, ठेकेदारहरुले कम्युनिष्ट पार्टीमा कब्जा जमाएकाले नै देशमा वाम आन्दोलन कमजोर भएको बताउनु भयो । वहाँले भन्नुभयो, ‘नेपालका कम्युनिष्ट पार्टी भित्र लोकतान्त्रीक प्रक्रिया नै बन्द भएको छ । त्यसैले पुँजीवाद हाबी भयो ।’
डा प्रसाइका अनुसार कम्युनिष्ट पार्टीका सबै कमिटिहरु जानी जानी छलफल र बैठक हुन नसक्ने गरी ठुलो संख्याको बनाइएको छ । ‘पार्टीका कमिटिहरु यति ठुलो संख्याको बनाइदैंछ कि तीनीहरुको बैठक नै बस्न सक्दैन’ प्रसाईले भन्नुभयो, ‘बैठक नै बस्न नसक्ने भए पछि शोषित पिडित जनताको बारेमा छलफल हुने कुरै भएन ।’
राजनितिक दलहरुको आन्तरिक लोकतन्त्र बलियो हुने बित्तिकै भ्रष्टाचार आफै अन्त्य हुने प्रा डा प्रसाईले दाबी गर्नु भयो । वहाँले भन्नुभयो, ‘वाम हुनलाई लोकतान्त्रीक हुँनै पर्छ, ब्यक्ति केन्द्रीत संगठनले वाम आन्दोलन हाक्न सक्दैन ।’
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा वाम बुद्धिजीवी राम कार्कीले नेपालका कम्युनिष्ट पार्टीहरुसंग पुँजीवादसंग लड्न कुनै बिचार वा कार्यक्रम नभएको बताउनु भयो । वहाँले भन्नुभयो, ‘कम्युनिष्ट कार्यकर्ताहरु बिचार र कार्यक्रम बिहिन छन ।’
नेकपा माओबादी केन्द्रका प्रदेश १ का इन्चार्ज तथा पुर्व मन्त्री समेत रहनु भएका कार्कीले नेपालमा गणतन्त्र भाषणमा मात्रै आएको तर जीवनमा नआएको बताउनु भयो । पार्टी भित्र गणतन्त्र आएन जसका कारण तानाशाह जन्माउने खतरा छ’ वहाँले भन्नुभयो, ‘पुँजीवाद जति फैलियो तेती नै हो अब पुँजीवादले फैलिने ठाउँ छैन ।’
कार्यक्रमको सभापतित्व समेत गर्नु भएका बरिष्ठ प्रगतिशील साहित्यकार पुण्यप्रसाद खरेलले नेपाली वाम आन्दोलन अत्यन्तै संकटमा रहेको टिप्पणी गर्नु भयो । वहाँले भन्नुभयो, ‘पदका लागि गरिने राजनितिका कारण कम्युनिष्ट आन्दोलन संकटमा पर्यो ।’
काकरभिट्टा खानेपानी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रमको बिषय प्रवेश मिलन राइले गर्नु भएको थियो । करीब दुई सय जनाको सहभागिता रहेको कार्यक्रममा सहभागिहरुले समेत वाम आन्दोलनका बारेमा जिज्ञासा राखेका थिए । सहभागिहरुको जिज्ञासालाई बक्ताहरुले उत्तर दिनु भएको थियो । फाउण्डेशन फर क्रिटिकल डिसकोर्सका आयोजना तथा रोजा लग्जबर्ग स्टीफट्युङको सहकार्यमा भएको कार्यक्रम अषेश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।