बाहुनडाँगी, कार्तिक ६ । झापाका प्रथम शहिद विश्वनाथ घिमिरेको शालिक निर्माणका लागि आज एकै दिन करीब ५ लाख रकम संकलन भएको छ । शालिक निर्माण समितिले आज शालिक निर्माणस्थल मेचीनगर ४ आयोजना गरेको छलफल कार्यक्रममा सहभागिहरुले स्वतस्फुर्त रुपमा रकम उपलब्ध गराएको शालिक निर्माण समितिका सचिब निरज घिमिरेले जानकारी दिनु भयो ।
शहिद विश्वनाथ घिमिरे शालिक निर्माण समितिका अध्यक्ष राम कट्टेलको सभापतित्व तथा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न शालिक निर्माणका लागि छलफल कार्यक्रममा प्रवक्ता शर्माले ५१ हजार नगद हस्तान्तरण गरे पछि त्यहा उपस्थित काँग्रेस नेता कार्यकर्ताहरुले स्वतस्फुर्त रुपमा रकम उपलब्ध गराएको शहिदका नाती समेत रहनु भएका सचिव घिमिरेले सेतोपत्रलाई बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ्गले ५१ हजार, तरुण दल झापाका सभापति गोपाल तामाङले ३१ हजार, मेचीनगर प्रमुख तथा काँग्रेस महासमिति सदस्य बिमल आचार्यले २५ हजार, काँग्रेस झापाका कोषाध्यक्ष केशबराज पाण्डेले २५ हजार सहित थुप्रै काँग्रेस नेता कार्यकर्ताहरुले आफुले सकेको रकम उपलब्ध गराएको र आज मात्रै ४ लाख ८० हजार रकम संकलन भएको शालिक निर्माणका लागि आर्थिक समितिका संयोजक मोहन निरौलाले बताउनु भयो ।
शालिक निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै काँग्रेस प्रवक्ता शर्माले शहिदको सहादतको सम्मानका लागि शालिक मात्रै बनाएन नपुग्ने र त्यसका लािग वहाँले देखेका सपना पुरा गर्नु पर्ने तर्फ सबैले लाग्नु पर्ने बताउनु भयो । ‘वहाँहरुले रगत दिनु भयो अब हामीले रगत दिनु पर्दैन सहि काम गर्नु पर्छ’ शर्माले भन्नुभयो ।
२०७८ भदौं ११ गते नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला र प्रवक्ता शर्माले संयुक्त रुपमा शिलान्यास गरेको शहिद विश्वनाथ घिमिरेको शालिकस्थल निर्माणका लागि नाति निरज घिमिरेले आफ्नै घर परिषर मेचीनगर ४ मा करीब ३ धुर जग्गा उपलब्ध गराउनु भएको निर्माण समितिका उपाध्यक्ष नविन बरालले जानकारी दिनु भयो । शालिक निर्माणस्थल तयारी गर्ने काम धमाधम भइरहेको छ र अहिलेसम्म आजको बाहेक करीब ७ लाख रकम संकलन भइसकेको र त्यसमध्ये करीब ६ लाख रकम खर्च समेत भइरहेको आर्थिक समितिका सदस्य रवि नेपालले जानकारी दिनु भयो ।
शहिद घिमिरेको शालिक काठमाण्डौमा निर्माण भइरहेको र अन्तिम चरणमा पुगेको समेत अध्यक्ष कट्टेलले जानकारी दिनु भयो । कट्टेलले भन्नुभयो, ‘अबको केही दिनमा नै शहिद घिमिरेको शालिक तयार हुन्छ ।’
शालिक निर्माणसंगै शहिद विश्वनाथ घिमिरे प्रतिष्ठान गठनको प्रक्रिया समेत अघि बढेको शालिक निर्माण समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिनु भयो । प्रष्ठिानका लागि शहिदका नातिहरु पंकज घिमिरे र निरज घिमिरेले एक एक कठ्ठा जग्गा समेत उपलब्ध गराइसक्नु भएको अध्यक्ष कट्टेलले बताउनु भयो । करीब ४० लाखको लागतमा प्रतिष्ठानका लागि संरचना निर्माणको तयारी भएको शालिक निर्माण समितिका सचिव निरज घिमिरेले बताउनु भयो ।
आजको छलफल कार्यक्रम निर्माण समितिका उपाध्यक्ष तथा वडा नं ४ का वडा अध्यक्ष बरालले स्वागत तथा सचिव घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।