झापा, कार्तिक ४ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘अर्ली इलेक्सन’ नहुने बताउनु भएको छ । आज झापाको दमकमा पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेता शर्माले समय अगावै प्रतिनिधि सभाको निर्वाचन हुने कुरा हल्ला मात्र भएको बताउँदै त्यस्तो अवस्था नभएको बताउनु भयो ।
‘यतिबेला सरकारको नेतृत्व गरिरहेको काँग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आ आफ्नो पार्टीको महाधिवेशनको तयारीमा छन’ प्रवक्ता शर्माले भन्नुभयो, ‘महाधिवेशन पछिको केही समय पछि नै नियमित निर्वाचनको समय आउँछ त्यसैले अर्ली इलेक्सन हुने अवस्था छैन नियमित समयमा नै चुनाव हुन्छ ।’
प्रवक्ता शर्माका अनुसार आगामी बैशाख पछि स्थानीय तहको समयावधी पुरा हुने भएकाले अब तीनै तहको निर्वाचन समयावधी पुरा गरेर नै हुने बताउनु भयो । वहाँले भन्नुभयो, ‘काँग्रेस र अहिलेको सरकारको प्राथमिकता २०७८ साल खोपका लागि र २०७९ साल भोटका लागि रहेको छ ।’
प्रवक्ता शर्माले देशब्यापी रुपमा परेको बाढी पहिरोको विपद्का बेला राजनितिक दलको घेराभन्दा बाहिर बसेर पिडित जनतालाई राहत र उद्दारको काम गर्न सरकारलाई सबै दलले सहयोग गर्नु पर्ने बताउनु भयो । वहाँले भन्नुभयो, ‘संकटका बेला सरकारको आलोचना गर्ने भन्दा पनि विपदमा परेका जनताको जीवन रक्षाका लागि सरकारलाई सबै दलले सहयोग गर्नु पर्छ ।’
कोरोनाको संकट आउँदा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई राहत कोषमा पचास लाख रुपैयाँ उपलब्ध गराएको स्मरण गर्दै नेता शर्माले पछिल्लो समय बाढी पहिरोका कारण देशमा परेको संकटमा समयमा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले सात दिनमा सरकार ढाल्न सक्छौं भनेर दिएको अभिव्यक्तिलाई काँग्रेस प्रवक्ता शर्माले अस्वभाविक अभिब्यक्तिको संज्ञा दिनु भएको छ ।
शर्माले मन्त्रिपरिषदको बुधबारको निर्णय मार्फत बाढी पिडितहरुलाई राहत दिने निर्णय गरेबाट सरकार विपदको पिडामा परेका नागरिकहरु प्रति संवेदनशील रहेको बताउनु भयो ।
नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले आयोजनामा भएको पत्रकार सम्मेलन युनियनका क्षेत्रीय समिति अध्यक्ष विष्णु सुब्बाको सभापतित्व तथा कांग्रेस नेतृ एवं सांसद महेन्द्रकुमारी लिम्बु, काँग्रेस झापाका उपसभापति राम कट्टेल, सचिव प्रेम सम्बाहाम्फे, महासमिति सदस्यद्धय सुरेश सुब्बा र दिलबहादुर बुढाथोकी, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नगर सभापति प्रकाश प्रसाइँ, निवर्तमान नगर सभापति रोशन विष्ट लगायतका पार्टीका नेतृत्व सहभागी थिए । कार्यक्रम प्रेस युनियन झापाका उपसभापति गिरीराज भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।