काठमाण्ढौ, कार्तिक ४ । सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाख सम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो । घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ । यस्तै, सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई कम्तीमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र सोही परिवारका थप सदस्यको मृत्यु भएमा मृतक प्रति सदस्य थप एक लाख रुपैयाँका दरले अतिरिक्त रकम दिने निर्णय गरेको हो । बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय पनि गरेको छ ।
त्यसैगरी सरकारले बाढीपहिरोले पूर्ण क्षति पु¥याएका परिवारलाई अस्थायी घर बनाउन ५० हजार रुपैयाँ राहत दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको बैठकले घरमा पूर्ण क्षति भएको परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।
अहिलेसम्म २० वटा घरमा पूर्ण क्षति भएको र अन्य विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ । बैठकले जलवायु परिवर्तनका असरले नेपालमा बेमौसमी असर भोग्नुपरेको निष्कर्ष निकाल्दै तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि देशव्यापी रुपमा खटिने निर्णय गरेको पनि प्रमुख पोखरेलले बताउनुभयो ।
यस्तै, देशभर भएको धानको क्षतिको विवरण सङ्कलन गर्ने जिम्मेवारी कृषि मन्त्रालयलाई दिने र सोही विवरणका आधारमा राहतको व्यवस्था गरिने भएको छ । सञ्चार, राजमार्ग, खानेपानी, विद्युतको आपूर्ति तत्काल सुचालु गर्न जनशक्ति खटाउने निर्णय पनि बैठकले गरेको छ । अहिले देशभरका १५ राजमार्ग अवरुद्ध छ ।