झापा, कार्तिक १ । नेकपा एकीकृत समाजबादी पार्टी झापाको सहइन्चार्जमा आमा छोरा नै चयन हुनु भएको छ । झापा मेचीनगर १० धुलाबारी निवासी आमा शारदा शर्मा घिमिरे र छोरा अशेष घिमिरे नै नेकपा एस झापाको सहइन्चार्ज चयन हुनु भएको हो ।
नेकपा एसको असोज २१ गतेको स्थायी कमिटिको बैठकले महिला नेता शारदालाई पुर्ण केन्द्रिय सदस्य तथा झापा सहइन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । सोही बैठकले युवा नेता अशेषलाई बैकल्पिक केन्द्रिय सदस्य तथा झापा सहइन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको उक्त पार्टीले जनाएको छ ।
अनेरास्वबियुका पुर्व केन्द्रिय सदस्य समेत रहनु भएका अशेषले नेकपा एसको केन्द्रिय कमिटिमा युवा बिद्यार्थीहरुलाई संख्यात्मक रुपमा उल्लेख्य जिम्मेवारी दिने उद्देश्यले आफु केन्द्रिय सदस्य भएको बताउनु भयो । ‘केन्द्रिय कमिटिमा १५ प्रतिशत युवा बिद्यार्थीलाई स्थान दिने पार्टीको निति अनुसार युवा बिद्यार्थीको तर्फबाट म केन्द्रिय सदस्य भएको हुँ ।’ वहाँले सेतोपत्रसंग कुरागर्दै भन्नुभयो, ‘जिल्लाका सिनियर महिला नेता मध्ये एक जना केन्द्रिय सदस्य बनाउँनेक्रममा आमा शारदा पर्नु भएको हो । यसमा आमा छोरा भन्ने कुरा हुँदैन दुवै जनाले आ आफ्नो राजनितिक इतिहास र योगदानका कारण जिम्मेवारी पाएका हौं ।’
बहालवाला शिक्षकलाई पार्टीको जिम्मेवारी नदिने निर्णय गरेको नेकपा एसले आफ्नै निर्णय बिरुद्ध बहालवाला शिक्षक शारदा घिमिरेलाई पार्टीको केन्द्रिय सदस्य तथा झापा सहइन्चार्जको जिम्मेवारी दिएको छ । मेचीनगर १३ चारआलीस्थीत शहिद दशरथचन्द माविका शिक्षक शारदा यही मंसिर महिनामा सेवा निबृत्त हुने पनि स्रोतले जानकारी दिएको छ ।
नेकपा एस झापाको दमकका इन्द्र बुढाथोकी चयन हुनु भएको छ । २०४८ सालमा दमक नगरपालिकाको प्रमुख रहनु भएका बुढाथोकी नेकपा एमाले झापाका पुर्व सचिव समेत हुनुहुन्छ । झापाका पुराना नेताका रुपमा परिचित बुढाथोकी एमाले नेता नरेश खरेल भन्दा अघि पार्टीको जिल्ला सचिव हुनुहुन्थ्यो ।
घिमिरे आमाछोरा सहित भद्रपुरका पुष्प पोखरेल र बिर्तामोडका लोकबन्धु कन्दङम्बा गरी ४ जनाले जिल्ला सहइन्चार्जको जिम्मेवारी पाउनु भएको छ । पुर्ण केन्द्रिय सदस्यको समेतको जिम्मेवारी पाउनु भएका नेता पोखरेल प्रतिनिधि सभाका पुर्व सांसद हुनुहुन्छ भने बैकल्पिक केन्द्रिय सदस्य चयन हुनु भएका नेता कन्दङम्बा झापाका पुराना र स्थापित कम्युनिष्ट नेताका रुपमा स्थापित हुनुहुन्छ ।