काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको बन्दाबन्दीलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम प्रभावित भनिएकोमा यातायात व्यवसायीले विरोध गरेका छन् ।
उनीहरूले सार्वजनिक यातायात क्षेत्रलाई अति प्रभावितमा नै राख्न माग गरेका छन् । नेपाल राष्ट्र बैङ्कले भने अति प्रभावित वा मध्यम प्रभावित जे उल्लेख भए पनि सेवा सुविधा एउटै राखिएकाले फरक नपर्ने जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले गत मङ्गलबार जारी गरेको एकीकृत निर्देशनले सो कुराको सम्बोधन गरेको जनाएको छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले भन्नुभयो, “अति प्रभावित वा मध्यम प्रभावित जे भने पनि त्यसमा फरक पर्दैन, सुविधा उही हो । अति प्रभावित र मध्यम प्रभावितलाई पुनर्कर्जा, पुनर्तालिका संरचना गर्न दिने निर्देशन हिजो जारी भएको एकीकृत निर्देशनको संशोधनमा उल्लेख भइसकेको छ । ”
यातायात मजदुर सङ्गठन र नेपाल यायायात राष्ट्रिय महासङ्घले असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधान सञ्चालन गर्ने भएका छन् । व्यवसायीले हिजो यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारले रोके पनि आफूहरूले गाडी चलाउने जानकारी दिएका छन् ।
सरकारले असोज १ बाट लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने भनेको छ तर व्यवसायी भने सरकारले फेरि समय सार्नसक्ने सम्भावना रहेको भन्दै बुधबार विभागलाई जानकारी गराएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।
असोज १ बाट सुरक्षा सावधानी अपनाएर आफूहरूले गाडी चलाउने र सरकारले रोक लगाए गाडी सरकारलाई नै बुझाउने व्यवसायीको तयारी छ ।
cinkhabar बाट