झापा, असोज २४ । हिन्दुहरुको महान चाड बडादशैंको खुसियाली सँगसँगै खेलप्रेमीहरु विशेषगरी क्रिकेटका पारखिहरुलाई अर्को रौनक र खुसियालीले छपक्कै छोप्ने छ । विजया दशमीको पर्सिपल्ट अर्थात असोज ३१ गते देखि सातौं संस्करणको टि ट्वान्टि विश्व कप क्रिकेट प्रतियोगिता शुरु हुदैछ । अघिल्लो वर्ष नै अष्ट्रेलियामा हुने भनिएको उक्त प्रतियोगिता कोभिड १९ को महामारीका कारणले भारतमा सारिए पनि सोहि कारणले त्यहाँ पनि सम्भव नभए पछि अब युएइ र ओमनमा संयुक्त रुपमा हुदैछ ।
दुई चरणमा सम्पन्न हुने यो विश्व स्तरिय प्रतियोगितामा १६ वटा देशहरुले सहभागिता जनाउदै छन । समूह चरणमा आइसिसिको विश्व बरियता अनुसार ८ वटा देशहरु रहेका छन भने राउन्ड १२ मा पनि ८ वटा देशहरु रहेका छन । राउन्ड १२ मा समूह चरणका उत्कृष्ट ४ देश जानेछन र तिनिहरुलाई दुई समुहमा विभाजन गरिएको छ । त्यसपछि राउन्ड १२ का दुई समुहबाट उत्कृष्ट हुने दुई दुई वटा देश सेमिफाइनल मा प्रवेश गर्ने छन ।
असोज ३१ बाट कार्तिक ५ गतेसम्म समूह चरण अन्तर्गत समूह ए का खेलहरु संयुक्त अरब इमरेट्सको आवु धाविमा हुनेछन भने समूह बि का खेलहरु ओमनको मस्कटमा हुनेछन । समूह ए मा श्रीलंका, आयरलेण्ड, नेदरल्यान्डस र नामिविया एकअर्कामा भिड्दा समुह बि मा बंगलादेश, स्कटल्याण्ड, पपुवा न्युगिनि र ओमन भिड्नेछन । त्यसपछि राउन्ड १२ को पहिलो समुहमा इङ्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, र वेष्ट इण्डिजका साथमा समूह चरणको समूह ए को विजेता र समूह बि को उपविजेता रहनेछन भने दोस्रो समुहमा भारत, पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानका साथमा समूह चरणको समूह बि को विजेता र समूह ए को उपविजेता रहनेछन ।
राउन्ड १२ का खेलहरु कार्तिक ६ देखि २२ गतेसम्म संयुक्त अरब इमरिट्सको सारजाह, दुवइ र आबुधाविमा हुनेछन । यसैगरी सेमिफाइनल का दुई खेलहरु दुवइ र आबुधाविमा कार्तिक २४ र २५ गते हुनेछन भने फाइनल खेल कार्तिक २८ गते दुवइमा हुनेछ । यी सबै खेलहरु नेपाली समयानुसार दिउँसो ३ः४५ बजे र साँझ ७ः४५ बजेबाट शुरु हुनेछन ।