आज सेप्टेम्बर १० तारिक अर्थात अन्तराष्ट्रिय आत्महत्या रोकथाम दिवस । विश्वभरि आज आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम सञ्चालन हुन्छन । संयुक्त राज्य अमेरिकाले त सेप्टेम्बर महिनालाई नै आत्महत्या रोकथाम महिनाका रुपमा मनाउने गर्दछ ।
आत्महत्याको तथ्याङ्क हेर्दा आङ सिरिङ्ग हुन्छ । तर पनि नेपालमा आजसम्म आत्महत्या रोकथामको बिषयले आम रुपमा प्राथमिकता पाउन सकेको छैन ।
अहिले विश्वमा हरेक ४० सेकेण्डमा औसत एक जना व्यक्तिले आत्महत्या गरिरहेको पाइन्छ । विश्वमा विभिन्न प्रकारका युद्ध, प्राकृतिक प्रकोप र हत्याबाट भन्दा बढी मानिसको मृत्यु आत्महत्याका कारण हुने गरेको छ ।
नेपालमा अप्राकृतिक मृत्युको एउटा कारण आत्महत्या पनि हो । हरेक आत्महत्याले सम्बन्धित परिवार र समाजमा लामो समयसम्म मानसिक रुपमा नकारात्मक असर पर्ने गरेको छ ।
कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण मानसिक समस्या झन बढ्दै गएको छ । जसका कारण आत्महत्याको आँकडामा समेत वृद्धि भएको छ । कोरोना भाइरसका कारण गरिएको लकडाउनको पछिल्लो एक सय दिनमा नेपालमा ११०५ जनाले आत्महत्या गरेको सरकारी तथ्याङ्कले देखाउँछ ।
नेपालको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष आत्महत्याका घटना बढ्दै गएको देख्न सकिन्छ । नेपालमा आर्थिक वर्ष २०७३/०७४ मा ५१२४ जनाले आत्महत्या गरेका थिए भने वर्ष २०७४/०७५ मा त्यो संख्या बढेर ५३१७ पुगेको थियो । त्यस्तै वर्ष २०७५/०७६ को अवधीमा ५७८४ जनाले आत्महत्या गरेका थिए । २०७५ चैतदेखि २०७६ साउनसम्मको अवधीमा २७१८ जनाले आत्महत्या गरेका थिए । एक बर्ष पछिको सोही अवधिमा अर्थात २०७६ चैतदेखि २०७७ साउनसम्मको लकडाउनको अवधीमा ३४१३ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ । नेपालमा अझै पनि आत्महत्या र आत्महत्याको प्रयासको सहि तथ्याङ्क उपलब्ध छैन । नेपाल प्रहरीले गरेको रिपोर्टिङका आधारमा अहिलेका तथ्याङ्कहरु समावेश गरिएका छन ।
नेपाल प्रहरीका अनुसार झुण्डीएर सबैभन्दा बढी आत्महत्या हुने गरेको छ । त्यस्तै किटनाशकको सेवन गरेर आत्महत्या गर्नेको संख्या दोस्रो नम्बरमा छ ।
नेपालमा किटनाशक घरमा राख्नु सामान्य जस्तै छ । किटनाशक बिक्रि गर्ने पसलहरुले सजिलै किटनाशक दिन्छन । किटनाशक घरमा राख्ने विषयमा कुनै ठोस कानून नेपालमा नभएका कारण पनि किटनाशकको सेवनबाट धेरैले आत्महत्या गरिरहेका छन । किटनाशक प्रयोग र घरमा राख्ने विषयमा ठोस कानून बन्ने हो भने मात्रै पनि नेपालमा आत्महत्याको संख्या कम हुने थियो । दक्षिण एसियाका देशहरु जस्तै श्रीलंकामा किटनाशक घरमा राख्नका लागि विशेष कानूनी व्यवस्था गरिएको पाईन्छ । आत्महत्या विश्वव्यापी रुपमा नै जनस्वास्थ्यको एउटा महत्वपूर्ण विषय बनेको छ । विश्वका धेरै देशका सरकारहरु यसको रोकथाममा लागेका छन ।
सन २००३ देखि विश्व स्वास्थ्य संगठन र इन्टरनेशनल एसोशिएशन फर सुसाइड प्रिभेन्सनको सहकार्यमा सेप्टेम्बर महिनालाई आत्महत्या रोकथामका लागि सचेतना महिना र सेप्टेम्बर १० तारीखलाई आत्महत्या रोकथाम दिवसको रुपमा मनाउन थालिएको हो । सेप्टेम्बर महिनाभर विश्व भरि नै आत्महत्या रोकथामका विभिन्न योजना, त्यस सम्बन्धी सुचना आदान प्रदान र आत्महत्या रोकथामका उपायका बारेमा चर्चा र छलफल हुने गरेका छन ।
शारिरीक स्वास्थ्यका बारेमा नेपाली समाजमा धेरै चर्चा र छलफल हुने गरेको छ । ठुल्ठुला अस्पतालदेखि नेपाल सरकारको ध्यान पनि शारिरीक स्वास्थ्यमा नै केन्द्रीत भएको देखिन्छ । तर मानसिक स्वास्थ्यमा आएको समस्याका कारण वर्षेनी हजारौंको संख्यामा मानिसहरुले मृत्यु वरण गरिरहँदा त्यो भन्दा कम मानिस बचाउन शारिरीक स्वास्थ्यको बारेमा मात्र चासो, चिन्ता र उपचारका बारेमा निति नियम र कानूनहरु बन्ने गरेका कारण पनि मानसिक स्वास्थ्य समस्यामा भएका मानिसहरु ओझेलमा परिरहेका छन ।
हरेक मानिसको जीवन अमुल्य छ । त्यसैले आत्महत्या रोकथामका लागि विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर आत्महत्या विरुद्ध सचेतना फैलाउने काममा सबै जुट्न पनि म आह्वान गर्दछु । हामी सबैले मिलेर काम गर्यौं भने धेरै मानिसको जीवन बचाउन सम्भव हुनेछ । स्मरण गर्नुहोस तपाई एक्लो हुनुहुन्न । मानसिक स्वास्थ्य र आत्महत्या जस्तो अप्ठ्यारो विषयमा खुलेर छलफल गर्न सक्यौं भने यसले समाजमा सहयोग नै गर्नेछ । मानसिक स्वास्थ्य विना सवल स्वास्थ्य नै हुँदैन । त्यसैले स्वास्थ्यका बारे चर्चा गर्दा अनिवार्य रुपमा मानसिक स्वास्थ्यको बारेमा पनि कुरा गर्न जरुरी हुन्छ ।
सबै आत्महत्या मानसिक स्वास्थ्य समस्याबाट गरिने होइन तर आत्महत्याको प्रमुख कारणहरु मध्ये एउटा कारण मानसिक स्वास्थ्य समस्या पनि हो । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार विश्वका ३८ वटा देशहरुले राष्ट्रिय आत्महत्या रोकथाम रणनिति नै बनाएर लागु गरेका छन । तर नेपाल त्यस भित्र पर्दैन । हाम्रो देशमा आत्महत्या रोकथामका लागि कुनै रणनिति वा कानूनी व्यवस्था छैन । जुन देशले आत्महत्या रोकथामको कानून वा रणनिति बनाएका छन ति देशहरुमा आत्महत्या रोकथाम गर्न निक्कै सहयोग पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
आत्महत्या प्रयासका घटनाको सहि तथ्याङ्क राख्ने र आवश्यक उपचार मार्फत आत्महत्या कम गराउने तर्फ प्रयास गर्न जरुरी छ । लगातार रुपमा बढ्दै गएको आत्महत्याले नेपाली समाजमा थुप्रै असर देखाउने गरेको भएता पनि त्यसको रोकथामका लागि सरकारी र जनस्तरबाट जति पहल हुनु पर्ने थियो त्यती भएको पाइन्न त्यसैले अझ धेरै गर्न बाँकी छ । आत्महत्या रोकथाम दिवसको दिन मात्रै होइन यस विषयमा वर्षैभरि चर्चा, छलफल र बहस गरिरहनु पर्दछ ।
आत्महत्या रोकथाम सम्बन्धी कुनै परामर्शका आवश्यक भए तलका नम्बरमा फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ ।
पाटन हस्पिटलको आत्महत्या रोकथाम हेल्पलाइन : ९८१३४७६१२३
टिचिङ हस्पिटल महाराजगञ्जको हटलाइन नम्बर : १६६००१२१६०० / ९८४००२१६००
मेरो रुचीको विषय मानसिक स्वास्थ्य भएकाले मैले त्यसमा नै अध्ययन गरेर नेपाल र विश्व समुदायमा मानसिक स्वास्थ्यका बारेमा केही सहयोग गर्ने प्रयास गरिरहेकी छु ।
मैले मानसिक स्वास्थ्यका लागि जनचेतना फैलाउने उद्देश्यले माइण्ड स्वास्थ्य [Mind Swastha] नामबाट एउटा युट्युब च्यानल समेत चलाइरहेकी छु । त्यस्तै [Mind Swastha] नामबाट फेसबुक र इन्सटाग्रामको माध्यमबाट पनि अभियान सञ्चालन गरिरहेकी छु ।
यो महिना मैले आत्महत्याका विषयमा विश्व र नेपालका बारेमा जानकारी दिइरहेकी छु । त्यसबाट पनि तपाईंहरुले आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यका बारे धेरै जानकारी पाउन सक्नुहुनेछ ।
तलका लिङ्कमा गएर मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका बारेमा जानकारी पाउन सकिनेछ ।
Mind Swastha instagram
Mind Swastha Facebook
Mind Swastha youtube
लेखक : क्यानाडास्थीत युनिभर्सिटी अफ टोरन्टोमा जनस्वास्थ्य बिषयमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ । साथै वहाँ सुसाइट एर्लटनेस सर्टिफाइड हुनुहुन्छ ।