झापा, असोज २१ । नेकपा एमालेकी पुराना कार्यकर्ताका रुपमा परिचित झापा धुलाबारीकी सविता भण्डारी भेटवालले नेकपा एकीकृत समाजवादी पार्टी रोज्नु भएको छ । एमाले पार्टीले कम्युनिष्टको बैचारिक धार छोडेकाले आफुले नेकपा समाजवादी रोजेको भण्डारीले बताउनु भयो । ‘एमालेमा बैचारिक बहस हुन छोड्यो’ वहाँले सेतोपत्रसंग भन्नुभयो, ‘एमाले ब्यक्तिबादमा रमाउन थालेकाले त्यसबाट आम नागरिकको पक्षमा वकालत गर्न असभ्भव देखेर नयाँ राजनितिक अभियानमा लागेकी हुँ ।’
एमाले भित्र पनि अध्यक्ष केपी शर्मा ओली पक्षमा खुल्नु भएकी भण्डारीले पछिल्लो समय पार्टी भित्रका बिकृति बिसंगतिबिरुद्ध शसक्त आवाज उठाउँदै आउनु भएको थियो ।
२०४८ सालमा १७ बर्षको उमेरमा नै एमालेको पार्टी सदस्यता लिएर राजनितिमा होमिनु भएकी भण्डारीले केही समय बिदेशमा बस्दा समेत एमालेको बिदेशस्तरिय इलाका कमिटि सदस्य भएर काम गरेको बताउनु भयो । ‘म पारिवारिक कारणले सन २००३ देखि २००८ सम्म अमेरिका बसे’ं वहाँले भन्नुभयो, ‘त्यो समयमा पनि मैले एमालेको बिदेशस्तरिय इलाका कमिटि सदस्य भएर काम गरें ।’
पछिल्लो समय नेकपा एमालेको झापा–काठमाण्डौ सम्पर्क मञ्चमा रहेर सक्रिय हुनु भएकी मेचीनगर ९ धुलाबारीकी भण्डारीले मञ्चको जिल्ला कोषाध्यक्षको रुपमा समेत काम गरिसक्नु भएको छ ।
एमाले भित्र स्पष्ट बिचार राख्न सक्ने महिला नेताका रुपमा परिचित भण्डारीले २०७० र २०७४ को आम निर्वाचन तथा स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेद्वारलाई बिजयी गराउन सक्रिय भुमिका खेल्नु भएको थियो ।
कक्षा १० मा अध्ययन गर्दै गर्दा २०४६ सालको प्रजातन्त्र प्राप्तीको आन्दोलनको अग्र मोर्चामा उभिएर बिद्यार्थीहरुको अगुवाइ गर्नु भएकी भण्डारीलाई १५ वर्षकै उमेरमा तत्कालिन पञ्चायती सरकारले पक्राउ गरी थुनामा राखेको थियो । तत्कालिन अवस्थामा आन्दोलनकारीहरु विश्वप्रकाश शर्मा, रबिन कोइराला, द्रोण प्रसाद आचार्य, सरिता प्रसाई, पुष्पराज पोखरेल, बिसेश्वरा दाहाल जस्ता नेतृत्वहरुसंगै एक महिना झापा करागारमा बस्नु भएकी नेतृ भण्डारीसहित अन्यलाई बहुदल घोषणा भए पछि रिहा गरिएको थियो ।
राजनीतिसंगसंगै सामाजिक अभियान र महिला अधिकारका क्षेत्रमा समेत काम गरिरहनु भएकी नेतृ भण्डारीले महिला हिंसा बिरुद्ध शसक्त आवाज उठाउने महिला अधिकारकर्मीका रुपमा समेत आफुलाई स्थापित गर्नु भएको छ । भण्डारी के आर फाउण्डेसन झापाकी अध्यक्ष समेत हुनुहुन्छ ।