काठमाडौंका २० जना सांसदले कोरोना भाइरस कोभिड–१९ रोकथाममा सरकारको कामको अनुगमन र आउनसक्ने अवस्थाको विश्लेषण गर्न संसदीय समिति गठन गर्न माग गरेका छन् ।
कोभिड–१९ को प्रभाव र अवस्थालाई अनुगमन गरी भइपरी आउने अवस्थाको विश्लेषण गर्न छुट्टै स्वास्थ्य संसदीय समितिको गठन गर्नुपर्ने उनीहरुले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बुझाएको २५ बुँदे ज्ञापनपत्रमा उल्लेख छ । यस्तो समिति माग गर्ने सांसदमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, शशी श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, कृष्णबहादुर राई, बिन्दा पाण्डे, रामकुमारी झाँक्री, सरिता न्यौपाने, बिना श्रेष्ठ, अन्जना विशंखे, मायादेवी न्यौपाने, मुकुन्द न्यौपाने र सुजिता शाक्य छन् ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, गगन कुमार थापा, भीमसेनदास प्रधान, दिब्यमणिराज भण्डारी र राजन केसी, जनता समाववादी पार्टीका सांसद राजेन्द्रप्रसाद श्रेष्ठ र रेनुका गुरुङले पनि कोभिड–१९ विशेष संसदीय समिति गठनको मागसहितको ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सांसदहरुका अनुसार कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सरकारलाई थप खबरदारी गर्न छुट्टै संसदीय समिति आवश्यक छ ।