मनिष बाँस्तोला ।
काठमाण्डौ, असोज १६ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र युवा नेता गगन थापा बीचको विगतको सुमधुर सम्बन्ध यतिबेला भत्किएको छ । १३ औं महाधिवेशनमा सिटौला खेमाबाट महामन्त्रीमा चुनाव लडेका थापा १४ औँ महाधिवेशनको संघारमा एकाएक वरिष्ठ नेता रामचन्द्र पौडेल खेमामा पुगेपछि सिटौला÷थापा गठजोड भत्किएको हो । बिहीबार नेता सिटौलाले थापालाई ‘स्वार्थी र धोखेबाज’ भनेपछि दुई नेता बीचको दरार सतहमा छताछुल्ल भएको थियोे । नेता सिटौलाले थापालाई आफूले मन्त्रीसम्म बनाएको तर सल्लाहा नै नगरी पौडेल समूहमा गएको भनेर असन्तुष्टि व्यक्त गरेपनि थापाले वाक जवाफ फर्काएका छैनन ।
१३ महाधिवेशनमा आफ्नै ससुरा अर्जुननरसिंह केशीसँग महामन्त्रीमा प्रतिस्पर्धा गरेर सिटौलालाई दर्बिलो साथ दिएका थापाले अहिले भिन्न बाटो रोजेका छन । उनले सिटौलालाई छोडेका मात्र छैनन, पौडेल समूहबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन । थापाको सो कार्यले बिच्किएका सिटौलाले बिहीबार पार्टी सभापति शेरबहादुर देउवासँगको भेटमा लामो दुखेसो गरेको सार्वजनिक भएको थियोे । थापा दुई दिनसम्म मौन रहे । कुनै पनि विषयमा तत्काल तर्क संगत जवाफ फर्काउने थापा बिना प्रतिक्रिया रहे । तर, थापाले शनिबार नेता सिटौलालाई पृथक रूपमा जवाफ फर्काएका छन । शनिबार (आज) काठमाडौँ महानगरपालिकामा पार्टी नेतृत्व चयनका लागि प्रतिस्पर्धा भइरहेको थियो ।
थापा महानगरको चुनावमा निलकाजी शाक्यको पक्षमा उभिएका छन । शाक्यलाई नेता प्रकाशमान सिंहको समर्थन छ । महानगरको चुनावमा थापा नेता सिंहसँगै रहेका छन । पार्टी सभापति देउवाको समर्थनमा महानगरको सभापतिमा उम्मेदवारी दिएका प्रगतिमान रञ्जितलाई नेता सिटौलाको साथ छ । जहाँ सिटौलाका निकटवर्ती नेता भीमसेनदास प्रधान रञ्जितलाई सघाइ रहेका छन । लामो समयदेखि टिम सहित सभापतिमा चुनाव लड्ने बताउँदै आएका नेता सिटौलाले बिहीबार मात्रै सभापति देउवालाई साथ दिने सहमति भएको सार्वजनिक भएको थियोे ।
उपयुुक्त समयमा निर्णय लिने बताएका नेता सिटौलाले सभापति देउवालाई साथ दिने निर्णय गर्नुभन्दा अघिनै थापाले उनको साथ छोडिसकेका थिए । थापाले नेता सिंहसँगै शाक्यलाई साथ दिएर नेता सिटौलालाई पृथक रूपमा नै जवाफ फर्काएपछि सिटौला/थापा बीचको सम्बन्धको वास्तविकता छर्लङ्ग भएको कांग्रेसका केन्द्रीय तहका नेताहरूको टिप्पणी छ । ‘सभापति देउवाको समर्थन पाएका रञ्जितलाई नेता सिटौलाको साथ हुनु स्वभाविक नै हो’ एक केन्द्रीय सदस्यले भने, ‘सिंहको समर्थन पाएका शाक्यको पक्षमा उभिएर थापाले नेता सिटौलालाई पृथक रूपमा जवाफ फर्काएका छन ।’ ती नेताले थापाको उपस्थितिलाई रणनीतिक जवाफ भनी अथ्र्याएका समेत छन ।
सिटौला र थापा फरक फरक उम्मेदवारको पक्षमा उभिनु र लविङमा जुट्नुले यसपटक दुई नेता बीच सहकार्य हुने सम्भावना टरेको देखाउँछ । नेता सिटौला र थापा बीचको सम्बन्ध यति छिटै टुट्नुको कारण जान्नका लागि थप समय कुर्नै पर्ने हुन्छ । त्यसका लागि नेता सिटौला र थापाको आगामी कार्यसम्पादन नै निर्णायक हुनेछ ।