धुलाबारी, असोज १४ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेलले सामाजिक सञ्जालमार्फत प्रलोभन देखाएर महिला हिंसा हुने क्रम बढेको बताउनु भएको छ । वहाँले भन्नुभयो, ‘पछिल्लो समय महिला बेचबिखन र हिंसा बढ्नुको मुख्य कारण सामाजिक सञ्जालको दुरुपयोग भएको देखिन्छ ।’
आज झापाको धुलाबारी माविमा सम्पन्न बिद्यालयस्तरमा हुने महिला हिंसा निवारणको सम्बन्धमा शिक्षक, विद्यार्थी, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुसंगको अभिमुखिकरण कार्यक्रममा बोल्दै आयोगकी सदस्य पौडेलले विद्यालयस्तरमा महिला तथा किसोरी हिंसाको घट्ना बढेकाले त्यस तर्फ आयोगको ध्यानाकर्षण भएको बताउनु भयो । महिला हिंसाका घट्नाका उजुरी आउनेक्रम अत्याधिक बढेको र उजुरी परेका अधिकाशं घट्नामा सामाजिक सञ्जालको दुरुपयोग भएको देखिएको पौडेलले बताउनु भयो । महिला तथा वालवालिकालाई सबैखाले हिंसाबाट बचाउनका लागि महिला आयोगले देशब्यापी सचेतना मुलक अन्तरक्रिया कार्यक्रम गर्दै हिडेको समेत सदस्य पौडेलले बताउनु भयो ।
कार्यक्रममा प्रस्तुतीकरण राख्दै महिला आयोगकी उपसचिव अञ्जु ढुंगानाले यौन दुब्र्यवहारा घट्नामा ८० प्रतिशत परिवारका सदस्यहरुको संलग्नता रहेको बताउनु भयो । आयोगले ११४५ नम्बरमा २४ घण्टा गुनासो सुन्ने ब्यवस्था मिलाएको समेत ढुंगानाले जानकारी दिनु भयो । वहाँका अनुसार महिला हिंसा नियन्त्रणका लागि आयोगले ‘खबर गरौ’ं नामक मोबाइल एप समेत प्रयोगमा ल्याइसकेको छ ।
कार्यक्रममा विद्यार्थीहरुका लागि साइबर क्राइम सम्बन्धी जानकारी मुलक प्रस्तुती दिनु हुँदै इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डिएसपी सुनिल दाहालले इन्टरनेटको सहि प्रयोग गर्न नजान्दा पनि महिलाहरु यौनजन्य हिंसामा परेको बताउनु भयो । डिएसपी दाहालले भन्नुभयो, ‘साइबर क्राइम नेपालका घर घरमा पसिसकेको छ, जुनसुकै बेला जसलाई पनि समस्यामा पार्न सक्छ ।’
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर वडा नं. १० का वडा अध्यक्ष सुवेशकुमार पनेरुले वालवालिकाहरुले कसैको बिश्वास बढी गरेकै कारण हिंसामा पर्ने गरेकाले जो सुकैको बिश्वास नगर्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।
धुलाबारी माविकी शिक्षक सिला खवासले महिला हिंसा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै महिला हिंसाका विभिन्न रुप देखा पर्न थालेको उल्लेख गर्नु भयो । वहाँले सामाजिक हिंसा, आर्थिक हिंसा र यौन जन्य हिंसाका बारेमा जानकारी सहितको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
मेचीनगर क्षेत्रका विभिन्न ७ वटा बिद्यालयका बिद्यार्थी, शिक्षक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकार समेतको सहभागिता रहेको कार्यक्रममा धुलाबारी मावि सहायक प्रधानअध्यापक तेज प्रसाद चम्लागाई, ज्यामिरगढी माविका प्रधानअध्यापक शान्तिराम चम्लागाई, शिक्षक रमेशकुमार दाहाल, बिद्यालय ब्यवस्थापन समितिका सदस्य वालकृष्ण थपलिया र बिद्यार्थी दिपक खतिवडाले समेत कार्यक्रममा आफ्नो भनाई राख्नु भएको थियो ।
जिल्ला शिक्षा समन्वय इकाइ झापाका अधिकृत भोला दाहाल, धुलाबारी माविका प्रधानअध्यापक महेन्द्र विलास लुईटेल, ब्यवस्थापन समिति सदस्य रुपा खतिवडा लगायतको उपस्थिती रहेको कार्यक्रमको सभापतित्व आयोगकी सदस्य पौडेलले गर्नु भएको थियो भने आयोगकी महिला विकास अधिकृत रोशनी श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।