झापा, असोज १० । नेपाली काँग्रेस मेचीनगरको सभापतिमा सुवेशकुमार पनेरु (सुदय) निर्वाचित हुनु भएको छ । नेतृत्व चयनका लागि आइतबारसम्पन्न मतदानको अन्तिम मत परिणाममा पनेरुले सभापति पदका अर्का प्रत्यासी नबिन बराललाई १५ मतको अन्तरले पराजित गर्नु भएको हो ।
मेचीनगर १० धुलाबारी निवासी युवा नेता पनेरुले २४८ मत प्राप्त गर्दा बरालले २३३ मत मात्र प्राप्त गर्नु भएको मतदान अधिकृत हरिप्रसाद अधिकारीले जानकारी दिनु भयो । नगर सभापति पदमा बिजयी हुनु भएका पनेरु मेचीनगर १० का वडा अध्यक्ष समेत रहनु भएका छ भने पराजित बराल वडा नं. ४ को वडा अध्यक्ष हुनुहुन्छ ।
त्यस्तै दुई उपसभापतिका लागि भएको मतदानमा योगेन्द्र थापा मगर र धनकाजी खत्री बिजयी हुनु भएको छ । मगर मेचीनगर ५ का वडा अध्यक्ष हुनुहुन्छ भने खत्री नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।
उपसभापति पदमा भएको मतदानमा मगरले ३८० मत र खत्रीले ३४६ मत प्राप्त गरी बिजयी हुनु भएको मतदान अधिकृत अधिकारीले बताउनु भयो । उपसभापति पदका अन्य प्रत्यासी सन्दीप ओलीले १२६ र राजु अधिकारीले ५७ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै दुई सचीब पदका लागि भएको मतदानमा मनोज घिमिरे र मुकेश लिम्बु निर्वाचित हुनु भएको छ । घिमिरेले ३२७ र २६८ मत प्राप्त गर्नु गरी बिजयी हुनु भएको हो । सचीब पदका अन्य प्रत्यासी अशोक कुमार राईले १५७ र लक्ष्मीप्रसाद काफ्ले १२५ मत प्राप्त गर्नु भएको थियो ।
त्यसैगरी सहसचीब पदका लागि आइतबार नै भएको मतदानबाट टिकाराम धमला र बिजय भट्टराई निर्वाचित हुनु भएको मतदान अधिकृत अधिकारीले जानकारी दिनु भयो । धमलाले २९६ र भट्टराईले २१३ मत प्राप्त गरी बिजयी हुनु् भएको हो भने सहसचिव पदका अन्य प्रत्यासी चन्दन गौतमले १६८, नविन खतिवडाले १३५ र लोकेन्द्र थपलियाले ७१ मत प्राप्त गर्नु भएको थियो ।
काँग्रेसको मेचीनगर अधिवेशनले ७ पदाधिकारी, ७६ नगर समिति सदस्य निर्वाचित गरेको र २ जना अपाङ्ग तर्फका क्षेत्रीय प्रतिनिधिहरु चयन गरेको मतदान अधिकृत अधिकारीले बताउनु भयो ।