झापा, असोज ९ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गाउँ नगर अधिवेशन आज सम्पन्न हुँदैछ । यस अघि वडा अधिवेशन सम्पन्न भएका ६४ वटा जिल्लामा आज गाउँ नगर अधिवेशन सम्पन्न हुन लागि रहेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । आज उम्मेद्वारी दर्ता हुने र सर्बसम्मत भए आजै अधिवेशन सकिन छ भने मतदानबाट नेतृत्व चयन गर्नु पर्ने भए भोलि बिहान मतदान प्रक्रिया हुने निर्वाचन समितिले जनाएको छ ।
यता झापा मेचीनगरमा नगरसमितिको सभापति सहित अन्य सबै पदाधिकारीमा चुनाव हुने भएको छ । मेचीनगरको पदाधिकारीहरुमा सहमति हुन नसके पछि मतदानबाटै नगर पदाधिकारी चयन हुने काँग्रेसका एक नेताले बताउनु भयो ।
मेचीनगरको सभापतिमा नबिन बराल र सुवेशकुमार पनेरु बीच चुनावी भिडन्त हुदैंछ भने उपसभापतिमा ५ जनाको दाबी रहेको छ । धनकाजी खत्री, योगेन थापा, कविता खड्का अर्याल, सन्दीप ओली र राजु अधिकारीले नगरको उपसभापतिमा दाबी गर्नु भएको छ ।
त्यसैगरी सचीवका लागि मनोज घिमिरे, मुकेश लिम्बु, अशोक राई र लक्ष्मी काफ्ले बीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । नगर सचीबमा ५ जना चुनावी मैदानमा हुने देखिन्छ । चन्दन गौतम, बिजय भट्टराई, टिकाराम धमला, नविन खतिवडा र लोकेन्द्र थपलियाले नगरको सहसचीबमा दाबी गरिरहेका छन ।
नगर समिति सदस्यका लागि भने प्रत्येक वडाबाट एक महिला सहित ३ गरी ४५ जना र समावेशी समानुपातिक प्रतिनिधित्वका आधारमा थप ३० जना गरी जम्मा ७५ जना नगर सदस्य हुने छन ।
मेचीनगरमा उम्मेद्वार दर्ताका लागि आज दिउँसो १२ बजेदेखि २ बजेको समय तोकिएको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण काम धुलाबारी माविमा हुने मतदान अधिकृत हरिप्रसाद अधिकारीले जानकारी दिनु भयो ।