झापा, असोज २ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन । असोज ९ गते गाउँ नगर अधिवेशन हुने कार्य तालिका काँग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ ।
झापाको पुर्वी सिमान्त नगर मेचीनगर नगरपालिकामा पनि काँग्रेस अधिवेशनको रौनक हेर्न लायक छ । बिशेष गरी नगर सभापति को हुने भन्ने सर्बत्र चासो चुलिदैं गएको छ । काँग्रेसका कार्यकर्ता मात्र होईन अन्य राजनितिक दलका नेता कार्यकर्ताहरुले पनि काँग्रेसको मेचीनगर सभापति को बन्छ भन्नेमा निक्कै चासोका साथ हेरेको आँकलन गर्न सकिन्छ ।
जनसंख्याका हिसाबले देशकै सबैभन्दा ठुलो नगरपालिका रहेको मेचीनगरमा काँग्रेसको नेतृत्व लिन यतिबेला ६ जना युवा पुस्ताका नेताहरु चुनावी मैदानमा छन । मेचीनगर ७ का सुरेन्द्र बुढाथोकी, मेचीनगर ४ का नविन बराल, मेचीनगर ५ का योगन थापा मगर, मेचीनगर ९ का धनकाजी खत्री, मेचीनगर १० का सुवेश कुमार पनेरु (सुदय) र मेचीनगर १३ का पुष्प कार्की नगर सभापतिको पद हत्याउन काँग्रेस क्षेत्रीय प्रतिनिधिहरुलाई आ आफ्नो पक्षमा पार्न चुनावी अभियानलाई तिब्र पारिरेका छन । नगर सभापतिको उम्मेद्वारी घोषणा गरेका मध्ये तीन जना बर्तमान मेचीनगर नगरपालिकाका वडा अध्यक्षहरु हुन भने तीन जना युवा पुस्ताका लोकप्रिय नेताहरु हुन । बराल मेचीनगर ४, थापा मेचीनगर ५ र पनेरु मेचीनगर १० का वडा अध्यक्ष हुन ।
तरुण दलको तत्कालिन बाहुनडागी गाउँ सभापति र काँग्रेस गाउँ समिति सभापति रहिसक्नु भएका बराल काँग्रेस मेचीनगरको बर्तमान सहसभापति हुनुहुन्छ । त्यस्तै काँग्रेसको बर्तमान जिल्ला सदस्य समेत रहनु भएका पनेरु नेपाल बिद्यार्थी संघको राजनितिबाट उदाएको युवा नेताका रुपमा चिनिनु हुन्छ । मेचीनगर ५ को वडा अध्यक्षको जिम्मेवारी बिवादरहित रुपमा सम्पादन गरिरहनु भएका युवा नेता थापा स्थानीयस्तरमा लोकप्रिय जनप्रतिनिधिका रुपमा स्थापित हुुनुहुन्छ ।
त्यस्तै खत्री ०६२/०६३ को जनआन्दोलका ज्यूदाँ शहिद हुन । तत्कालिन काँग्रेस सभापति गिरिजा प्रसाद कोइरालालाई प्रहरीले हिर्काउँदा बचाउँने क्रममा आफुलाई लागेको गम्भीर चोट समेत बोक्नु भएका खत्री नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य तथा शंकरदेव क्याम्पसका पुर्व नेबिसंघ सभापति समेत हुनुहुन्छ ।
नगर सभापतिका अर्का उम्मेद्वार कार्की मेचीनगर १३ चारआली निवासी हुनुहुन्छ । वहाँ बर्तमान काँग्रेस मेचीनगरको सहसभापति हुनुहुन्छ भने नेपाली काँग्रेसको तत्कालिन दुवागढी गाउँ सभापति समेत हुनुहुन्थ्यो ।
त्यसैगरी नगरसभापतिका अर्का दाबेदार बुढाथोकी यस अघि काँग्रेस मेचीनगरको उपसभापति हुनुहुन्थ्यो । नगरसमितिमा बसेर काम गरेका हिसाबले बुढाथोकी अन्य उम्मेद्वारको तुलनामा अनुभवी देखिनु हुन्छ । काँग्रेस मेचीनगरको एक कार्यकाल सदस्य, एक कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल उपसभापतिको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरिसक्नु भएका बुढथोकीले यस अघि सभापति पदको उम्मेद्वार भएर पनि सहमतिकै लागि बर्तमान सभापति इन्द्र बुढाथोकीलाई सभापति बनाउन त्याग समेत गर्नु भएको थियो ।
काँग्रेस मेचीनगरको नेतृत्व कर्ता कसलाई बनाउने भन्ने कुरा मात्रै होईन । यसले समग्र झापा क्षेत्र नं. १ को संगै जिल्लाकै राजनितिमा समेत प्रभाव पार्ने निश्चित नै छ । यस पटक मेचीनगर धुलाबारीका काँग्रेस नेता राम कट्टेल जिल्ला सभापति पदका उम्मेद्वार हुनुहुन्छ । जसलाई धुलाबारी निवासी समेत रहनु भएका काँग्रेस प्रवक्ता तथा महामन्त्रीका उम्मेद्वार विश्वप्रकाश शर्माको समेत समर्थन छ । त्यस्तै शर्माकै निकट मानिनु हुने धुलाबारी निवासी इन्द्र बहादुर बुढाथोकी झापा १ को क्षेत्रिय सभापति बन्ने निश्चित जस्तै देखिन्छ । त्यसैले पनि काँग्रेस मेचीनगरको सभापति सहमतिकै माध्यमबाट चयन गर्न काँग्रेस नेतृत्वलाई चर्को दबाब छ । सहमतिमा नै मेचीनगर सभापति चयन हुने अवस्था आएमा धुलाबारी क्षेत्रकै ब्यक्ति काँग्रेस मेचीनगरको सभापति हुने सभ्भावना न्यून जस्तै देखिन्छ । त्यस्तो अवस्थामा खत्री र पनेरु नगरसभापतिको दौडबाट बाहिर हुन सक्ने सभ्भावना प्रवल रहेको एक जना काँग्रेस नेताले सेतोपत्रलाई बताउनु भयो ।
भुगोल, जनसंख्या र पार्टीको आन्तरिक शक्ति संघर्षका हिसाबले धुलाबारीबाट नगर नेतृत्व बाहिर आयो भने पहिलो दाबी काकरभिट्टा क्षेत्रकै हुन्छ । या भनौ निन्दा नदी पुर्वको भुभागले नेतृत्व पाउने सम्भावना यसपालि बलियो भएको जानकारहरु बताउँछन ।
मतदानबाट नेतृत्व चयन हुने अवस्थामा बाहेक मेचीनगर काँग्रेसको नेतृत्वको अन्तिम दौडमा मेचीनगर ७ का सुरेन्द्र बुढाथोकी, मेचीनगर ५ का योगेन थापा र मेचीनगर ४ का नबिन बराल सहमतिमा नेतृत्व चयन हुने सम्भावना बोकेका उम्मेद्वार हुन । यी तीन मध्ये पनि भुगोल, सक्रियता, अन्य उम्मेद्वारभन्दा तुलनात्मक रुपमा आफ्नो कुरा स्पष्टसंग राख्न सक्ने क्षमता भएका र यस अघि पनि सहमतिका लागि नगरसभापति पद त्याग गर्नु भएका कारण बुढाथोकीलाई सर्बसम्मत नगरसभापति बनाउन नेतृत्व पंक्तिलाई चर्को दबाब हुने अवस्था देखिन्छ ।
सहमति भन्दा बाहेक मतदान बाटै नगर नेतृत्व छनौट गर्नु पर्ने अवस्था आए माथिका ६ जना युवा नेताहरु नै चुनावी मैदानमा हुनेछन र नगरका ४९९ क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्नेछन । त्यस्तो अवस्थामा भने नतिजा फरक आउने सक्ने काँग्रेस मेचीनगरका एक नेताले सेतोपत्रलाई बताउनु भयो ।