झापा, भदौ ३० । नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिएसंगै माथिल्ला तहका पदमा उम्मेद्वारहरुले उम्मेद्वारी घोषणा गर्ने क्रम चलिरहेको छ ।
यसैक्रममा झापा क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जानका लागि धेरै जना आकाँक्षी रहेको देखिएको छ । क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका रुपमा २४ जना निर्वाचित हुने ब्यवस्था छ । अहिलेसम्म घोषणा गरेका उम्मेद्वारहरुको संख्या ६२ पुगेको छ ।
खुल्ला तर्फ ४ महिला सहित १४ जना निर्वाचित हुनेमा ३५ जनाले उम्मेद्वारी घोषणा गर्नु भएको छ । जसमा १० खुलाका लागि २२ जनाको दाबी छ भने ४ खुल्ला महिलाका लागि १३ जना महिला नेतृहरुले दाबी गर्नु भएको छ ।
खस आर्य तर्फ २ महिला सहित ४ जना निर्वाचित हुनेमा ८ जनाले उम्मेद्वारी घोषणा गर्नु भएको छ । त्यस्तै आदिबासी जनजाती तर्फ २ महिला सहित ४ जना निर्वाचित हुनेमा ९ जनाले उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
दलित तर्फ १ जना निर्वाचित हुनेमा ५ जनाले दाबी गर्नु भएको छ भने मधेशी, अल्पसंख्यक र लोपोन्मुख तर्फ १ जना निर्वाचित हुनेमा ५ जनाले उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
मेचीनगर नगरपालिकाका १५, बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६ र ७ गरी ४ वटा र भद्रपुर नगरपालिकाका ९ र १० वडा गरी जम्मा २१ वटा वडा रहेको झापा क्षेत्र नं. १ मा ६१९ जना क्षेत्रिय प्रतिनिधिहरु मतदाता रहेको नेपाली काँग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले जानकारी दिनु भयो ।