झापा, भदौ ११ । नेपाली काँग्रेसका प्रभावशाली नेता कष्णप्रसाद सिटौलाले कम्युनिष्ट पार्टीका धेरै सांसदले चुनाव जित्नु नेपाली जनताका लागि ठुलो भार भएको बताउनु भयो । शुक्रबार गृह जिल्ला झापाको बाहुनडाँगीमा शहिद बिश्वनाथ घिमिरेको शालिक निर्माणको शिलान्यास कार्यक्रममा बोल्दै नेता सिटौलाले चुनावमा धेरै कम्युनिष्ट पार्टीका सांसदले जितेर सरकार बनाए पछि नेपाली जनताले दुःख पाएको र बहुमतको सरकार पनि पुरा कार्यकाल चलाउन नसकेका बताउनु भयो ।
केपी ओली सरकारले देशका आधारस्तभ्भहरु नै भत्काउने काम गरेको र सत्तामा पुगे पछि जनताप्रति बेइमानी गरेको समेत काँग्रेस नेता सिटौलाले आरोप लगाउनु भयो । काँग्रेसका पुर्वमहामन्त्री तथा पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता सिटौलाले लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि क्रान्तिमा होमिएका मानिसहरुलाई पाखा लगाएर आन्दोलनमा सहभागि नै नभएका मानिसहरु सत्ताको नजिक हुँदा परिवर्तन हुन नसकेको बताउनु भयो । वहाँले भन्नुभयो, ‘क्रान्तिमा भाग नै नलिएका मानिसको हालीमुहाली भएको छ, क्रान्तिमा भाग लिएका मानिसलाई छोडेर परिवर्तन सभ्भव हुँदैन ।’
नेता सिटौलाले काँग्रेसको १४ औ महाधिवेशन भदौ १८ देखि नै शुरु हुने बताउनु भयो । वहाँका अनुसार क्रियाशिल सदस्यताको बिवाद समाधान भइसकेकाले भदौ १८ गते हुने वडा अधिवेशन निर्धारित समयमा नै हुनेछ ।
शहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रमा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन निर्धारित कार्यतालिका अनुसार नै हुने स्पष्ट पानु भयो । ‘हाम्रा अग्रजहरुले देशका लागि रगत दिनु भयो’ कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले भन्नुभयो, ‘हामीले रगत दिनु पर्दैन देश र जनताका लागि पसिना दिए पुग्छ ।’
कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्य सरिता प्रसाईले राजनितिभन्दा माथि उठेर सबैको भलो गर्ने पार्टी नेपाली काँग्रेस मात्रै भएको पुष्टी हुँदै गएको बताउनु भयो । वहाँले भन्नुभयो, ‘जबजब मुलुकलाई अप्ठ्यारो पर्छ तबतब काँग्रेसले नै नेतृत्व लिएर अप्ठ्यारोबाट बाहिर निकाल्नु परेको छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस झापाका सभापति उद्धब थापाले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिने घोषणा गर्नु भयो । कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यले शहिद बिश्वनाथ घिमिरेको शालिक निर्माणका लागि नगरपालिकाको तर्फबाट दुई लाख रकम उपलब्ध गराउने घोषणा गर्नु भयो । कार्यक्रममा बक्ताहरुमा नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति मणिकुमार उप्रेती र शहिद घिमिरेका छोरा भगिरथ घिमिरे रहनु भएको थियो । कार्यक्रमकै बिच मेचीनगर वडा नं. ४ का वडा अध्यक्ष नविन बरालले वडा कार्यालयको तर्फबाट शालिक निर्माणका लागि एक लाख रकम सहयोग गर्ने बताउनु भयो ।
काँग्रेसका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको शालिक शिलान्यस कार्यक्रममा निर्माण समितिका उपाध्यक्ष समेत रहनु भएका वडा अध्यक्ष बरालले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम प्रतिष्ठानका सचिव निरज घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।