मेचीनगर, भदौ १० । कोरोना बिरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका मेचीनगरबासीका लागि भदौ ११ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ ।
भदौ ११ गते देखि भदौ १३ गतेसम्म नगरका वडाहरुमा नै भेरोसेल खोपको दोस्रो मात्रा लगाइने मेचीनगरका प्रमुख बिमल आचार्यले बताउनु भयो । नगरप्रमुख आचार्यका अनुसार वडा नं. १, ३, ५, ७, ८, ९, ११, १३ र १५ मा भदौ ११ गते सम्बन्धीत वडाका स्वास्थ्य संस्था वा नगरपालिकाले तोकेको केन्द्रमा खोप लगाइने छ ।
त्यस्तै वडा नं. २, ६, १० र १४ मा भदौ १२ गते भेरोसेल खोपको दोस्रो मात्रा लगाइने छ भने भदौ १३ गते वडा नं. ४, ६, १०, १२ र १५ मा खोप लगाइने छ । नगरपालिकाले सार्वजनिक गरेको तालिका अनुसार खोप लगाउने संख्या धेरै भएका वडा नं. ६, १० र १५ मा दुई दिन खोप लगाइने छ ।
भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य लिएर खोप केन्द्र जानु पर्ने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।