मेचीनगर, भदौ १० । झापाको मेचीनगरमा रहेको पातालगंगा तथा घैलाडुब्बा मन्दिर संरक्षणमा पुरातत्व विभागले चासो देखाएको छ । मेचीनगरको वडा नं. ५ र ८ को सिमानामा पर्ने पातालगंगा तथा घैलाडुब्बा मन्दिरको पुरातत्व विभागका प्रतिनिधिहरुले बिहीवार अवलोकन गरेको छन ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पातलगंगा तथा घैलाडुब्बा मन्दिरको संरक्षणका लागि अवलोकनका गर्न पुरातत्व विभागका उपसचिव सन्दिप खनालको नेतृत्वमा आएको टोलीले आज मन्दिर परिषरको स्थलगत अवलोकन गरेको मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमालले जानकारी दिनु भयो ।
मेचीनगर नगरपालिकाको पहलमा अवलोकन गर्न आएको टोलीसंगै नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेती वडा नं. ५ र ८ का वडा अध्यक्षहरु योगन थापा, बिकेन्द्र धिमाल र कार्यपालिका सदस्य टिकाराम मगरातीलगायतको समेत उपस्थितिमा विभागले मन्दिर क्षेत्रको अवलोकन गरेको नगरप्रमुख आचार्यले बताउनु भयो ।
पुरातत्व विभागले देशभर एक सयवर्ष भन्द बढी समय भएका सबै सम्पदाको संरक्षण गर्ने अभियान सञ्चालन गरेको उपसचिब खनालले बताउनु भयो । अबलोकनका क्रममा पातलगंगा तथा घैलाडुब्बा मन्दिर पुरातत्व विभागले सञ्चालन गरेको अभियानमा समाबेश गर्ने आधारहरु देखिएको खनालले बताउनु भयो । पातलगंगा तथा घौलाडुव्वा मन्दिरलाई सय बर्ष पुरानो ऐतिहासिक सम्पदाभित्र समाबेश गर्न आफ्नो सक्दो सहयोग रहने खनालले बताउनु भयो ।
प्रमाणका आधारमा यो सम्पदा एक सय बर्ष पुरानो सूचिमा समाबेश भए पुरातात्विक शैलीमा संरचना निर्माण गर्नका पुरातत्व विभागले सहयोग गर्ने उपसचिव खनालले बताउनु भयो ।
धार्मिक पर्यटनको केन्द्रका रुपमा रहेको पातालगंगा घैलाडुब्बा मन्दिर द्वापर युगमा अर्जुनले गाइलाई पानी खुवाउन जमिनबाट पानी निकालेको स्थानका रुपमा रहेको किंवदन्ती पाइन्छ ।